१५ चैत्र, काठमाडौं । अमेरिका र युरोपेली संघ तरल प्राकृतिक ग्यास आपूर्ति गर्ने एक सम्झौतामा सहमत भएका छन् । यसअन्तर्गत अब रुसको ऊर्जामा युरोपको निर्भरता कम गर्न अमेरिकाले युरोपलाई एलएनजीको आपूर्ति गर्नेछ ।
फेब्रुअरीमा युक्रेनमा भएको आक्रमणपछि रुसबाट तेल र ग्यास आयातमा प्रतिबन्ध लगाएपछि उक्त सम्झौतालाई अनुमोदन गरिएको थियो ।
अमेरिकाले रुसबाट गरिने तेल, ग्यास र कोइला आयातमा पूर्ण प्रतिबन्ध लगाउने घोषणा गरेको छ । यसपछि बेलायतले यस वर्षको अन्त्यसम्ममा रुसबाट हुने तेलको आपूर्ति बन्द गर्नुपर्नेछ ।
रुसी उपप्रधानमन्त्री अलेजेण्डर नोभाकले ‘रुसको तेल नकिन्दा विश्व बजारमा घातक प्रभाव’ पर्ने बताएका छन् । स्मरणीय छ, तेल र ग्यासको मूल्य पहिले नै ह्वात्तै बढिसकेको छ । यस्तो अवस्थामा रुसी निर्यातमा प्रतिबन्ध लगाइयो भने मूल्य अझै बढ्ने छ ।
रूसले कति तेल निर्यात गर्छ ?
रसिया अमेरिका र साउदी अरेबियापछि विश्वमा कच्चा तेलको तेस्रो ठूलो उत्पादक हो । उसले दैनिक करिब ५० लाख ब्यारेल कच्चा तेल निर्यात गर्छ ।
यसको आधाभन्दा बढी तेल युरोपमा जान्छ । बेलायतको कुल तेल आवश्यकताको ८ प्रतिशत तेल रूसबाट आयात हुन्छ । रुसी तेलमा अमेरिकाको निर्भरता कम छ । २०२० मा अमेरिकाको तेलको लगभग ३ प्रतिशत रूसबाट आयातीत थियो ।
तेल अभाव कसरी पूरा हुन्छ ?
ऊर्जा नीति अनुसन्धानकर्ता बेन म्याक विलियम्सको विचारमा ग्यास भन्दा तेल आपूर्तिको विकल्प खोज्न सजिलो छ, किनकी थोरै तेल रूसबाट थोरै मात्रै तेल आउँछ भने ‘बाँकी अन्य ठाउँबाट आउँछ ।’

अर्कोतर्फ अमेरिकाले साउदी अरबलाई तेल उत्पादन बढाउन आग्रह गरिरहेको छ । तर, साउदी अरेबियाले यसअघि तेलको मूल्य घटाउनको लागि उत्पादन बढाउने अमेरिकी अनुरोधलाई अस्वीकार गरिसकेको छ ।
साउदी अरब तेल आपूर्ति गर्ने देशहरूको संगठन ओपेकमा सबैभन्दा ठूलो तेल उत्पादक हो । स्मरणीय छ, अन्तर्राष्ट्रिय स्तरमा कच्चा तेल व्यापारको लगभग ६० प्रतिशत कारोबार ओपेकले नै गर्छ । तेलको मूल्य निर्धारणमा ओपेकको भूमिका धेरै महत्त्वपूर्ण हुन्छ । हालसम्म ओपेकका कुनै पनि सदस्य देश उत्पादन बढाउने कुनै पनि आग्रह स्वीकार्न तयार भएको छैन ।
रुस ओपेकको सदस्य नभए पनि तेल उत्पादकहरुको आम्दानीमा सुधार्न सन् २०१७ देखि ‘ओपेक प्लस’ नामबाट ओपेकसँग काम गरिरहेको छ । अमेरिका भेनेजुएलामाथि लगाइएको तेल निर्यात सम्बन्धी प्रतिबन्धलाई पनि खुकुलो बनाउने मनस्थितिमा पुगेको छ । भेनेजुएला पहिले अमेरिका जाने तेलको प्रमुख निर्यातक थियो, तर अहिले चीनलाई ठूलो मात्रामा आफ्नो तेल बेचिरहेको छ ।
रुसी ग्यास पश्चिम युरोप जान बन्द भए के हुन्छ ?
पहिले नै बढेको इन्धनको मूल्य अब अझै महँगो हुनेछ । विभिन्न देशबाट युरोपियन युनियनका देशहरूमा जाने प्राकृतिक ग्यासमा रुसको हिस्सा हाल करिब ४० प्रतिशत छ ।
यदि यो स्रोत बन्द भयो भने इटाली र जर्मनी विशेष समस्यामा पर्नेछ । त्यसपछि युरोप कतार, अल्जेरिया वा नाइजेरिया जस्ता ग्यासको विद्यमान निर्यातकर्ताहरूमा फर्कन सक्छ। तर, तीव्र रूपमा उत्पादन बढाउने बाटोमा धेरै व्यवहारिक अवरोधहरू छन् ।
रुसले हाल बेलायतलाई करिब ५ प्रतिशत ग्यास आपूर्ति गर्छ । त्यस्तै, अमेरिका अहिले रूसबाट ग्यास कति पनि अर्डर गर्दैन । युक्रेन युद्धपछि, प्रतिबन्ध र अन्य समस्याहरूले युरोप, बेलायत र केही हदसम्म संयुक्त राज्य अमेरिकामा ग्यासको मूल्यमा उल्लेखनीय वृद्धि भएको छ। यद्यपि अहिले यो पुनः घटेको छ ।
के रूसी ग्यासको विकल्प छ ?
अमेरिकाले यस वर्षको अन्त्यसम्ममा थप १५ अर्ब घनमिटर तरल प्राकृतिक ग्यास (एलएनजी) युरोपमा पठाउन सहमत भएको छ ।
यसको उद्देश्य कम्तीमा २०३० सम्म हरेक वर्ष थप ५० अर्ब घनमिटर अतिरिक्त ग्यास आपूर्ति गर्नु हो । तर, ऊर्जा नीतिको अनुसन्धान गर्ने बेन म्याक विलियम्स भन्छन्, ‘रुसबाट निकासी हुने ग्यासको विकल्प खोज्न सजिलो छैन’, उनी अगाडि थप्छन्, ‘ग्यासको विकल्प खोज्न यसकारण गाह्रो छ कि हामीसँग ठूला ठूला पाइपहरू छन्, जसबाट रुसको ग्यास युरोपसम्म गइरहेको छ ।’
युरोपले ऊर्जाका अन्य स्रोतहरूको प्रयोगमा तीव्रता दिन सक्छ, तर यो तुरुन्त र सजिलै नहुन सक्छ । यस्तो अवस्थामा आगामी जाडोसँग जुध्न इटाली र जर्मनीले जस्तै कोइलाबाट चल्ने विद्युत् संयन्त्र खोल्ने योजना रहेको उनको भनाइ छ । यसले आपतकालीन अवस्थामा ठूलो काम गर्ने उनको बुझाइ छ ।
एक अर्का अनुसन्धान विश्लेषक सिमोन ट्याग्लिपिएट्रा भन्छन्, ‘नवीकरणीय ऊर्जा उत्पादन सुरु गर्न समय लाग्छ। त्यसैले छोटो समयमा यो सम्भव छैन ।’
युरोपेली संघले सन् २०३० अघि नै रुसको जीवाष्म इन्धनबाट युरोपलाई मुक्त गर्ने योजना बनाउने सुझाव दिएको छ । यसमा ग्यास आपूर्तिलाई विविधीकरण गर्ने र घरहरू तताउन र बिजुली उत्पादन गर्न ग्यासको प्रयोग रोक्ने उपायहरू समावेश छन् ।
इन्धन खर्चको के हुन्छ ?
यो युद्धका कारण उपभोक्ताले बढेको बिजुली र इन्धनको महसुल व्यहोर्नुपर्नेछ । बेलायतमा इन्धनको मूल्यमा लगाम लगाएर यसको बिललाई नियन्त्रणमा राखिएको छ ।
तर, अप्रिलमा यसको मूल्य वृद्धि हुनेछ, तब इन्धनको मूल्य ७०० पाउण्डबाट बढेर २ हजार पाउण्डसम्म पुग्नेछ। आउँदो शरद ऋतुमा मूल्यहरू फेरि बढाउँदा इन्धनको मूल्य लगभग ३ हजार पाउण्ड पुग्नेछ ।
बेलायतमा पेट्रोल र डिजेलको मूल्य पनि बढेको छ । अब सरकारले इन्धनको मूल्य घटाउने घोषणा गरेको छ किनकि चालकहरू कीर्तिमानी मूल्यसँग संघर्ष गरिरहेका छन् ।
म्याक विलियम्स भन्छन्, ‘मलाई लाग्छ कि हामी यस्तो संसारमा छौं जहाँ यदि रूसी तेल र ग्यास युरोप लैजान बन्द गरिदिने हो भने यसको प्रयोगका लागि हामीले विवेक प्रयोग गर्नैपर्छ ।’
‘अब संवादको एक अंश यो हो कि के हामी आफ्नो घरको तापक्रम एक डिग्री कम गर्न नागरिकलाई भन्न सक्छौं ?,’ म्याक विलियम्सले भने।
(‘बीबीसी वास्तविकता जाँच‘ मा जेक होर्टन, डेनियल पालुम्बो र टिम बोलरले तयार पारेको सामग्रीको भावानुवाद ।)