२०८२ असोज १० बर्दिया :- बर्दिया जिल्ला मधुवन नगरपालिका वडा नं. ७ स्थित बोडरमा बस्ने मुक्त कमैयाहरूलाई लक्षित गरी ईगल फाउन्डेसनको आयोजना तथा Frank Eiendom AS Norway र Eagle Creative AS Norway को आर्थिक सहयोगमा तीन दिने कुखुरापालन तालिम सम्पन्न भएको छ।
कार्यक्रमको उद्घाटन वडा नं. ७ का वडा अध्यक्ष राजेन्द्र हमालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। उद्घाटन समारोह श्री आस्था ईङ्लिश एकेडेमी, प्रगति बजार, मधुवनको सभाहलमा आयोजना गरिएको हो। कार्यक्रममा बोल्दै वडा अध्यक्ष हमालले सहभागी महिलालाई तालिमबाट प्राप्त ज्ञानलाई व्यावहारिक रूपमा प्रयोग गर्न आग्रह गर्दै विकट क्षेत्रमा मुक्त कमैयालाई लक्षित गरी तालिम सञ्चालन गरेकोमा ईगल फाउन्डेसनप्रति आभार व्यक्त गरे।
फाउन्डेसनका निर्देशक साजन कपालीले हाल फाउन्डेसनले मुक्त कमैयाका ४० जना बालबालिकालाई निःशुल्क श्री आस्था ईङ्लिश एकेडेमीमा शिक्षा दिइरहेको जानकारी गराए। तालिममा मधुवन नगरपालिकाका पशु विकास अधिकृत गणेश बहादुर बोहरा प्रमुख प्रशिक्षकका रूपमा संलग्न थिए भने व्यवस्थापन तर्फ गोरख नेपालीले सहयोग गरेका थिए।
तीन दिनसम्म सञ्चालन भएको तालिममा ४० जना महिलाले सहभागिता जनाए। समापन सत्रमा सहभागीलाई प्रमाणपत्र वितरण गरिएको थियो। सो अवसरमा ईगल फाउन्डेसनका उपाध्यक्ष जय प्रकाश अधिकारीले मुक्त कमैयाको चुनौतीपूर्ण जीवन परिस्थितिबारे उल्लेख गर्दै सरकारले जग्गा उपलब्ध गराए पनि भारत सीमासम्म फैलिएको जंगल नजिक बसोबास गर्नुपर्दा बाघ, हात्ती, बाँदर लगायतका जनावरको त्रास रहेको बताए। उनले विद्युत् भोल्टेजको समस्या र पानी अभाव अझै समाधान हुन नसकेको उल्लेख गर्दै फाउन्डेसनले १७ वटा डिप बोरिङ मार्फत सिंचाइको प्रयास गरे पनि स्थायी समाधानका लागि सरकारी सहयोग आवश्यक रहेको धारणा राखे।
उनका अनुसार ईगल फाउन्डेसनले निकट भविष्यमा मुक्त कमैयाको आर्थिक उन्नतिका लागि थप कार्यक्रम ल्याउने योजना बनाइरहेको छ।
सहभागी महिलाहरूले तालिमबाट प्राप्त ज्ञानले गाउँमै व्यावसायिक कुखुरापालन गर्न सकिने विश्वास व्यक्त गरे। सहभागी जगतारन थारूले भनिन्, “यो तालिमले हामीलाई आत्मनिर्भर बन्ने बाटो देखाएको छ। अब हामी आफ्नै घरआँगनमै कुखुरापालन गरेर आम्दानी बढाउनेछौं।”