मंसिर ५ , काठमाडौं। चालू आर्थिक वर्ष (आव) को पहिलो ३ महीनामा सञ्चालनमा रहेका विकास बैंकहरूको नाफा अघिल्लो वर्षको सोही अवधिको तुलनामा घटेको छ । धितोपत्रको दोस्रो बजार नेपाल स्टक एक्सचेन्जमा १६ विकास बैंक सूचीकृत छन् । तीमध्ये चारओटाको नाफा अघिल्लो वर्षको पहिलो त्रैमासको तुलनामा यसपालि बढेको छ ।
बैंकहरूले प्रकाशित गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार पोहोरको तुलनामा यसपालिको पहिलो त्रैमासमा नाफा बढाउनेमा कामना सेवा विकास बैंक, लुम्बिनी विकास बैंक, गरिमा विकास बैंक र कर्णाली डेभलपमेन्ट बैंक छन् । यी चारमध्ये सबैभन्दा बढी कामना सेवा विकास बैंकको नाफा गत आवको तुलनामा झन्डै १८८ प्रतिशत बढेको छ ।
कामना सेवाले गत आवको पहिलो त्रैमासमा ४ करोड १५ लाख रुपैयाँ नाफा कमाएकोमा चालू वर्ष बढेर ११ करोड ९५ लाख रुपैयाँ पुगेको छ । चालू आवमा यो बैंकको इम्पेयरमेन्ट चार्ज उल्लेख्य मात्रामा घटेकाले नाफा बढ्न टेवा पुगेको हो । गत आवको पहिलो त्रैमासमा यसको इम्पेयरमेन्ट चार्ज २५ करोड ६५ लाख रुपैयाँ रहेकोमा चालू आवको सोही अवधिमा घटेर ९ करोड ५२ लाख कायम भएको छ ।
त्यस्तै कर्णाली डेभलपमेन्ट बैंकको पहिलो त्रैमासको नाफा गत आवको तुलनामा यो वर्ष १४८ प्रतिशत, लुम्बिनी विकास बैंकको करीब १४४ प्रतिशत र गरिमा विकास बैंकको ४ प्रतिशत वृद्धि भएको छ ।
तीन बैंक नोक्सानीमा
एक्सेल डेभलपमेन्ट बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक र नारायणी डेभलपमेन्ट बैंकले चालू आवको पहिलो त्रैमासमा नोक्सानी बेहोरेका छन् । एक्सेल डेभलपमेन्ट बैंकले गत आवमा २ करोड १८ लाख रुपैयाँ नाफा कमाएकोमा चालू आवमा भने १३ करोड ९० लाख नोक्सानी बेहोरेको छ । चालू आवमा यो बैंकको निष्क्रिय कर्जा बढेपछि नोक्सानीमा गएको हो ।
गत आवमा बैंकको निष्क्रिय कर्जा ४ दशमलव ४८ प्रतिशत रहेकोमा चालू आवको पहिलो त्रैमासमा बढेर ७ दशमलव ५७ प्रतिशत पुगेको छ । सोही कारण बैंकले इम्पेयरमेन्ट चार्ज शीर्षकमा १९ करोड ८७ लाख रुपैयाँ प्रोभिजन गरेको छ । गत आवमा यो बैंकले इम्पेयरमेन्ट शीर्षकमा ३ करोड ३७ लाख रुपैयाँ प्रोभिजन थियो । त्यस्तै सप्तकोशी डेभलपमेन्ट बैंकले ११ करोड ९२ लाख र नारायणी डेभलपमेन्ट बैंक १ करोड २१ लाख रुपैयाँ नोक्सानी बेहोरेको छ ।

गत आवको पहिलो त्रैमासको तुलनामा यो वर्ष कर्पोरेट डेभलपमेन्ट बैंकको ५४ प्रतिशत, ज्योति विकास बैंकको ४९ प्रतिशत, मितेरी डेभलपमेन्ट बैंकको ३२ प्रतिशत, मुक्तिनाथ विकास बैंकको २६ प्रतिशत, महालक्ष्मी विकास बैंकको २० प्रतिशत, सांग्रिला डेभलपमेन्ट बैंकको १६ प्रतिशत, सिन्धु विकास बैंकको ११ प्रतिशत र शाइन रेसुङ्गा डेभलपमेन्ट बैैंकको ८ प्रतिशतले नाफा घटेको छ । सबैभन्दा बढी कर्पोरेट डेभलपमेन्ट बैंकको नाफा घटेको छ । यसको नाफा पोहोरको तुलनामा ५४ प्रतिशत घटेको तथ्यांक छ । कम्पनीले गत आवको पहिलो त्रैमासमा ८५ लाख ७३ हजार रुपैयाँ नाफा कमाएकोमा चालू आवको सोही अवधिमा ३९ लाख ३० हजार रुपैयाँ मात्र कमाएको छ । यो बैंकले पनि इम्पेयरमेन्ट चार्ज शीर्षकमा धेरै रकम छुट्ट्याएकाले नाफा प्रभावित भएको हो ।
चालू आवमा बैंकले यो शीर्षकमा १ करोड ६७ लाख रुपैयाँ छुट्ट्याएको छ । ग्रीन डेभलपमेन्ट बैंक लिमिटेड गत आवको पहिलो त्रैमासमा १ करोड ७८ लाख रुपैयाँ नोक्सानीमा रहेकोमा यो वर्ष सुधारिएर ७६ लाख १९ हजार रुपैयाँ नाफा कमाएको छ । चालू आवमा यो बैंकको इम्पेयरमेन्ट चार्ज घटेकाले नाफामा गएको हो । गतवर्ष बैंकको इम्पेरयमेन्ट चार्ज ३ करोड ८३ लाख रुपैयाँ रहेकोमा यो वर्ष घटेर १ करोड ५१ लाख रुपैयाँमा झरेको छ ।
विकास बैंकमध्ये सबैभन्दा बढी नाफा मुक्तिनाथ विकास बैंकले २२ करोड ८८ लाख रुपैयाँ कमाएको छ । दोस्रोमा रहेको गरिमा विकास बैंकले २० करोड १५ लाख नाफा गरेको छ । कम नाफा सिन्धु विकास बैंकको १९ लाख २९ हजार रुपैयाँ रहेको छ । पछिल्लो समय अर्थतन्त्रमा देखिएको मन्दीका कारण बैंकका ऋणीले समयमै साँवाब्याज भुक्तानी गर्न सकेका छैनन् । यसले गर्दा बैंकहरूको निष्क्रिय कर्जा बढेसँगै सोको लागि गर्नुपर्ने प्रोभिजनसमेत बढेको देखिएको छ । सोही कारण नाफा प्रभावित भएको हो ।