४ असार , काठमाडौं । गत शुक्रबारदेखि विश्वव्यापी रूपमा प्रदर्शनमा आएको दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’ नेपालका ठूला सहरका सिनेमा घरहरूबाट उतारिएको छ।

काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह ‘बालेन’ले ‘सीता भारतकी छोरी हुन्’ भन्ने वाक्य सच्याए मात्रै प्रदर्शन गर्न दिने अडान लिएपछि सुरु भएको बहसका बाबजुद पनि सेन्सर बोर्डले ३१ गते बिहीबार साँझ आठ बजेपछि चलाउने अनुमति दिएको थियो।

- Advertisement -

तर, आदिपुरुषका पटकथा लेखक मनोज शुक्ला ‘मुंतशिर’ले आजतकलाई दिएको विवादित अन्तर्वार्ताका कारण बालेनले लिएको अडान थप बलियो हुन पुग्यो। मंताशिरले नेपाल सन् १९०३ अगाडि भारतकै अंश भएको बताएपछि थप विवादित चर्किएकाे हो।

आजतकसँगको कुराकानीमा मुंतशिरले भनेका छन्, ‘सीता भारतकी छोरी हुन् भन्ने कुरा गर्दा नेपाल भारतको हिस्सा थियो। सन् १९०३ वा ४ को कुरा हो, त्यसबेला नेपाल भारतबाट अलग भएको हो। भारत नै थियो नेपाल। यो हिसाबले त सीता भारतकै छोरी थिइन्। नेपालले किन विरोध गरिरहेको छ ? नेपालीको चिन्ता मैले यसकारण बुझ्न सकेको छैन।’

‘आदिपुरुष’ फिल्मका पटकथाकार मनोजले रामायण र त्यसका पात्रलाई कति हलुकामा बुझेका रहेछन् भन्ने तर्क-वितर्क सामाजिक सञ्जालमा पढ्न पनि पाइन्छ।

- Advertisement -

शुक्रबारदेखि चलेको ‘आदिपुरुष’ सोमबार बिहानबाट भने प्रदर्शनमा रोक लगाइएको हो। काठमाडौँ महानगरका बालेनपछि पोखरा महानगरका मेयर धनराज आचार्यले पोखराका विभिन्न हलमा चिठी पठाएर हलवालाहरूलाई प्रदर्शन रोक्न सू-सूचित गरिसकेका छन्।

धरान उपमहानगरका मेयर हर्क साम्पाङले पनि उपमहानगरभित्र भारतीय चलचित्र ‘आदिपुरुष’ चल्न नदिने भएका छन्। सोमबार सामाजिक सञ्जालमार्फत् धरानका चलचित्र हलहरूलाई आदिपुरुष प्रदर्शन नगर्न निर्देशन दिएका हुन्।

काठमाडौं महानगरका प्रमुख बालेनको निर्देशनपछि हल व्यवसायीले सोमबारदेखि काठमाडौँ महानगरका १७ वटै हल बन्द गराएका छन् । मेयर साहले उक्त फिल्मको गलत संवादका कारण नेपालमाथि सांस्कृतिक अतिक्रमण भएको दाबी गरेका छन्।

‘नेपालको संविधानको धारा ५ र ५६ को उपधारा (६) ले संघ, प्रदेश र स्थानीय सरकारलाई राष्ट्रिय हितको जिम्मेवारी गर्ने संरक्षण तोकेको छ। उक्त फिल्म यथावत् प्रदर्शन भएमा नेपालको राष्ट्रियता, सांस्कृतिक एकता र राष्ट्रिय विभुतिमाथि ठाडो प्रहार भई अपूरणीय क्षति हुने देखिन्छ’, उनले लेखेका छन्।

- Advertisement -

आदिपुरुष फिल्मको नेपाल वितरण कम्पनी ब्यांकटेस फिल्म्सले सोमबारदेखि देशव्यापी प्रदर्शन रोक्ने निर्णय गरेको छ। कम्पनीका निर्देशक मनोज राठीले देशव्यापी रुपमै हलबाट फिल्म प्रदर्शन रोक्ने निर्णय भएको बताए।

‘निर्णयपछि सबैतिर फिल्मको प्रदर्शन रोकिएको छ,’ उनले भने, ‘सेन्सरबोर्डले त चलाउन दिएकै हो। चलाएको पनि हो। तर महानगरपालिकाले बन्द गरायो। डुब्न लेखेको रहेछ। म डुबेँ, मलाई डुबाए। अब कोसँग बोलूँ।’

चलचित्र संघ र हल व्यवसायीले आधिकारिक निर्णयबिना फिल्म रोक्ने कार्य गरेकोप्रति राठीको असन्तुष्टि छ। साथै, समस्या समाधानका लागि मेयर बालेनले पनि तदारुकता नदेखाएको प्रति वितरकको गुनासो छ। मेयर बालेनको निर्देशनमा नगर प्रहरी आइतबार बेलुका हलहलमा पुगेर फिल्म नचलाउन मौखिक निर्देशन दिएका थिए।

जानकी भारतकी छोरी भएको भन्ने संवादमा आपत्ति जनाउँदै मेयर बालेनले फेसबुकमार्फत् यसलाई भारतमा सच्याउन तीन दिनको समय दिएका थिए। तर नसच्याइएको भन्दै सोमबारदेखि भारतीय फिल्मलाई निषेध गर्ने निर्णय उनले गरेका हुन्।

के एक संवादकै कारण यो फिल्म रोकिन पुगेको हो? कि आदिपुरुषका लेखक मनोज मुंतशिरले आजतकलाई दिएको विवादित अन्तर्वार्ताका कारण थप फिल्म चल्न गाह्रो भएको मान्नुहुन्छ? भन्ने प्रश्नमा वितरक राठी भन्छन्, ‘यस विषयमा खासै केही नबोलौँ। अब नेपालमा जसले रोक्नु भएको छ उहाँहरूले आदिपुरुषलाई मात्रै रोक्ने हो कि अन्य फिल्मलाई पनि रोकेर देखाउनु हुन्छ, त्यो पछि हेराैँला।’


फाइल तस्बिर।

अर्का वितरक भने अलिकति व्यङ्ग्यात्मक भाषा बोल्छन्, ‘काठमाडौँमा फिल्म नचलेपनि भक्तपुर र ललितपुरका हलमा फिल्म चलिरहेको छ। दर्शक फिल्म हेर्न पुगिरहेका छन्। अब कोही राष्ट्रियताको सवालमा आवाज उठाइरहँदा त कम्तीमा दर्शकले फिल्म नहेर्दिनु नि। तर फिल्म हेर्न शुक्रबार शनिवार आइतबार हलमा पुगिदिइराखेका छन्। सोमबारबाट सायद बन्द होला।’

‘म त कस्तो राष्ट्रियताको कुरा गरिरहेका छन् केही बुझ्न सकिरहेको छैन’, वितरक गोपाल कायस्थ दर्शकप्रति गुनासो गर्छन्’, यस्तो बेला दर्शक हलमा फिल्म हेर्न नगएपछि स्वत: बन्द भइहाल्छ नि।’

सोमबारदेखि त ललितपुर र भक्तपुरमा शो रोकिएको छ। क्युएफएक्सका बिजनेस प्रबर्द्धक प्रिती गिरीले सुरक्षाका कारण ललितपुर र भक्तपुरका हलमा पनि फिल्म नलगाइएको जानकारी दिइन्।

हलहरूको छाता संगठन चलचित्र संघका उपाध्यक्ष भाष्कर ढुंगनाले दर्शकको सुरक्षाका निम्ति सोमबारदेखि आदिपुरुषको प्रदर्शन राेक्ने निर्णयमा पुगेको जानकारी दिए।

महानगर प्रहरीले हलसम्मै पुगेर फिल्म प्रदर्शनमा रोक लगाउने कोशिश गरेपछि यो निर्णय गरेको हो। ‘हिजो आइतबार नै सिभिल मलको हलमा नगर प्रहरी पुगिसक्नु भयो। हामी सोमबारबाट फिल्म देखाउँदैनौँ’, उनले भने।

आदिपुरुष फिल्मले रिलिज भएको दुई दिनमै विश्वभर २४० करोड भारुको व्यापार गरेको छ। तेस्रो दिनको तथ्यांक भने आउन सकेको छैन। उपाध्यक्ष ढुंगानाले भने, ‘विवाद नभएको भए फिल्मले आफूले साचेजस्तो व्यवसाय गर्थ्याे। फिल्मको व्यवसाय ठिकै थियो।’

‘आदिपुरुष’को निर्माता कम्पनी टी सिरिजले आइतबार एक विज्ञप्ति जारी गरी सिनेमाको संवादले सम्पूर्ण महिला जातिको मान गरेको उल्लेख गर्दै यसलाई व्यक्तिगत रुपमा नलिन काठमाडौँका मेयर बालेन शाहलाई आग्रह गरेको थियो।

रामायण दुरुपयोग गरेको भन्दै भारतमा आलोचना

‘जानकी भारतकी छोरी’ संवादको विवाद अब भारतमा पनि प्रवेश गरेको छ। उक्त फिल्मलाई नेपालमा लगाइएको प्रतिबन्धमा धेरैले समर्थन गरेका छन्। भारतीय सञ्चारमाध्यम समाचार प्रकाशित भएपछि त्यहाँका आम-सर्वसाधारणले फिल्ममा लगाइएको रोकको समर्थन गरेका छन्। तर सबै भारतीय फिल्मलाई प्रतिबन्ध लगाउने निर्णय भने उचित नभएको उनीहरूको भनाइ छ।

धेरैले रामायणजस्तो धार्मिक ग्रन्थको दुरुपयोग गरेको आरोप लगाएका छन्।

भारतीय सञ्चारमाध्यममा आएका अधिकांश कमेन्टमा अधिकांशले नेपालको निर्णयको समर्थन गरेका छन् भने केहीले अन्य फिल्मलाई पनि रोक लगाइएकोमा आक्रोशसमेत व्यक्त गरेका छन्।

स्विडेनस्थित उप्साला विश्वविद्यालयका प्रोफेसर भारतीय नागरिक अशोक स्वैनले नेपालको कथा फरक भएको बताउँदै त्यो बुझ्नुपर्ने टिप्पणी गरेका छन्।

ट्वीट गर्दै उनले भनेका छन्, ‘सीताको जन्म भारतमा भएको दाबी गरिएपछि काठमाडौँमा हिन्दी फिल्म प्रदर्शनमा रोक लगाइएको छ। हिन्दू सर्वोच्चतावादीहरूले नेपाल गौरवशाली स्वतन्त्र देश हो भन्ने बुझ्नुपर्छ। तपाईंहरूले मुस्लिमलाई धम्की दिनुभयो। रामभूमि भन्दै मस्जिद भत्काउनुभयो। तर नेपालको कथा फरक छ।’

छत्तीसगढका योगा अभियन्ता सन्तोष यादवले आफू नेपालको पक्षमा उभिएको बताएका छन्। सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्, ‘आदिपुरुषको एक संवादका कारण काठमाडौँमा सबै हिन्दी फिल्म ब्यान गरिएको छ। यो कारवाही बिलकुल सही छ। भारतबाट समय सयमा कहिले गौतम बुद्धको जन्म भारतमा भएको भनेर त कहिले के भनेर नेपालीको भावनामा चोट पुर्यागइएको छ। म नेपालीको पक्षमा उभिन्छु।’

‘भारतमा पनि यो हुनपर्छ, फिल्मलाई प्रतिबन्ध गर्नुपर्छ,’ पटनाका केशव सिंहले भनेका छन्।

यसैगरी, कानपुरका ओमप्रकाश मिश्रले फिल्ममाथि टिप्पणी गर्दै भनेका छन्, ‘नेपाललाई धेरै बधाई, आदिपुरुषलाई ब्यान गरेर धेरै राम्रो काम गरेकोमा ।’

कतिले उक्त निर्णय सही भएको अभिव्यक्ति दिइरहेका छन् त कतिले सबै हिन्दी फिल्मलाई एउटै डालोमा हालेर हेर्न नहुने तर्क गरेका छन्।

भारत लखनऊका मोहित जइसवाल सामाजिक सञ्जालमा लेख्छन्, ‘यी मान्छे (मनोज) लाई एउटा कुरामा मान्छु कि यिनले हिन्दु, मुस्लिम, सिख, इसाई चारै धर्मका मानिसलाई एकठाउँमा ल्याइदिए। किनकि यी सबै मिलेर यो फिल्म (आदिपुरुष) माथि थुकिरहेका छन्। कुनै फिल्मप्रति पहिलोपटक पुरै देश एक साथ भएको छ। अझ रामायणको दुरुपयोग गरेर पैसा कमाउनु अर्को पाप हो।’