गाउँघरमा असुरक्षित गर्भपतनका कारण स्वास्थ्यमा पर्ने समस्याबारे जानकारीमूलक कार्यक्रम हुन थालेपछि डोटीकी सीता विष्ट (नाम परिवर्तन) दङ्ग परेकी छिन् ।
असुरक्षित गर्भपतनका कारण कैयौँ स्वास्थ्य समस्या झेलेकी उनी अब गाउँघरमा नै चेतनामूलक कार्यक्रम सञ्चालन भइरहेकाले छोरी बुहारीले आफूले जस्तो सास्ती भोग्नु पर्दैन की भन्नेमा आशावादी समेत छिन् । तर, भरोसा र विश्वास भने छैन । किनकी उनले समाजिक परिवेश र महिलाको अवस्था राम्ररी बुझेकी छिन्।
सीता त एक प्रतिनिधि पात्र मात्रै हुन्, जसले असुरक्षित गर्भपतन गर्न बाध्य हुनु पर्यो । असुरक्षित गर्भपतनको पीडा सीता आफूले भोगिन् र उनलाई अझै पनि डर छ कि आफू जस्ता धेरै महिलाले फेरि यस्तै बाध्यता पार गर्नु त पर्ने हैन !
सुदूरपश्चिमका धेरै पुरुषहरु कमाउनका लागि भारत जान्छन् । निश्चित समय भारत बसेर उनीहरु घर फर्किन्छन् । यही क्रममा अनिच्छित गर्भ बस्ने गरेको छ । धेरैजसोलाई थाहै नपाइ गर्भ बस्ने गरेको पाइएको डोटीको केआइसिंह गाउँपालिका-२ टिखतर स्वास्थ्यचौकीका अनमी जानुकुमारी माझीले बताउनुभयो।
उहाँ भन्नुहुन्छ, ‘स्वास्थ्य संस्थामा पुग्ने धेरै महिलाले आफू गर्भवती भएको नै थाहा नभएको पाइएको छ ।’ यसमध्ये केहीले असुरक्षित गर्भपतन गराउने गरेका छन् । श्रीमान धेरैजसो कामका लागि भारतमै बस्ने र कहिलेकाहीँ घर आउने गरेकाले पनि सुदूरपश्चिमका धेरैजसो महिलाले यस्ता गुनासो गर्ने गरेका डोटीको केआईसिंह गाउँपालिका वडा नम्बर २ टिखतर स्वास्थ्यचौकीका अनमी जानुकुमारी माझीले बताउनुभयो । सुदूरपश्चिममा मात्रै होइन देशका अन्य क्षेत्रका महिलाले असुरक्षित गर्भपतनका लागि दबाब झेल्ने गरेका छन् ।
लाञ्छनाको डरले असुरक्षित गर्भपतन
सरकारले मान्यता दिएका सूचीकृत स्वास्थ्य संस्थाबाट स्वास्थ्यकर्मीमार्फत सुरक्षित रुपमा गर्भपतन गराउन सकिन्छ ।
सुरक्षित रुपमा गर्भपतन गराउनका लागि ७७ वटा जिल्लामा भएका अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र र सूचीकृत निजी क्लिनिकमासमेत सुरक्षित गर्भपतन सेवा लिन सकिन्छ । नेपालमा सन् २०१६ देखि नै सरकारी स्वास्थ्य संस्थामा गर्भपतन सम्बन्धी सेवा निःशुल्क छ । तर, निःशुल्क सेवा हुँदाहुँदै पनि समाज र घर परिवारको डरले अझै पनि धेरै युवती र महिलाले असुरक्षित रुपमा गर्भपतन गर्न बाध्य छन् ।
कतिपयले महँगो शुल्क तिरेर असुरक्षित गर्भपतन गराउँछन् भने कतिले जोखिम मोलेर झारफुक र जडीबुटीको झोल खाएर गर्भपतन गराउने गरेका छन् । समाजको डरका कारणसमेत कतिपयका श्रीमानले पनि असुरक्षित गर्भपतन गराउन दबाब दिने गरेका छन् ।
सुरक्षित गर्भपतन सुदृढीकरण परियोजना डोटीकी कार्यक्रम अधिकृत समिता घिमिरेका अनुसार श्रीमान र परिवारकै दबाबमा परेर महिलाले असुरक्षित गर्भपतन गराउने प्रवृत्ति अझै पनि छ ।
उहाँकाअनुसार असुरक्षित गर्भपतन गर्न महिलाले ठूला–ठूला भारी बोक्ने गरेका छन् भने विभिन्न जडीबुटी कुटेर खाने, तीखो लठ्ठी वा फलामका रड योनीबाट छिराउने तथा निजी मेडिकलमा गएर गर्भपतन गराउने औषधि ल्याएर जथाभाबी खाने गरेका पाइएको छ । यसले महिलामा शारीरिकसँगै मानसिक स्वास्थ्य समस्या समेत देखिन थालेको घिमिरेले बताउनुभयो ।
यस्तै, परिवार नियोजनको अस्थायी साधनमा महिलाको पहुँच नपुग्नु र पुरुषले प्रयोग गर्ने नमान्नु जस्ता कारणले पनि असुरिक्षत गर्भपतन बढ्दै गएको हुन सक्ने जनस्वास्थ्यविद् डाक्टर अरुणा उप्रेती बताउनुहुन्छ । सहरी क्षेत्रमा बस्ने महिला अस्थायी साधनको पहुँचमा भए पनि ग्रामीण क्षेत्रमा अस्थायी साधनको प्रयोगबाट महिला टाढै छन् ।
स्वास्थ्य संस्थाबाट अस्थायी साधन प्रयोग गर्दा छर छिमेकीले थाहा पाउने र खिसिटिउरी गर्ने डरले पुरुषले परिवार नियोजनका अस्थायी साधन प्रयोग गर्न मान्दैनन् । उहाँकाअनुसार श्रीमानले आफूले पनि अस्थायी साधन प्रयोग नगर्ने र श्रीमतीलाई पनि गर्न नदिने जस्ता गुनासा महिलाले सुनाउने गरेका छन् ।
सरकारी सेवा सर्वसुलभ हुन सकेन
सरकारी सेवा सुर्वसुलभ हुन नसक्नु पनि असुरक्षित गर्भपतन गरिनुुको अर्को कारण हो । सन् २००२ देखि नै नेपालमा सुरक्षित गर्भपतनलाई मान्यता दिइएको छ । तर, गर्भपतन सेवाले कानुनी मान्यता पाएको लामो समय बितिसक्दा पनि यो सेवा सबैको पहुँचमा पुग्न सकेको छैन । यसबारे जानकार नहुनु र जानकार भए पनि सम्बन्धित निकायले ध्यान नदिनु जस्ता कारणले असुरक्षित गर्भपतन रोकिन सकेको छैन ।
महिलाको प्रजनन स्वास्थ्यबारे अध्ययन गर्दै आएको संस्था कृपाको सन् २०१४ को अध्ययनले नेपालमा वार्षिक झण्डै ३ लाख २३ हजार गर्भपतन हुने गरेको देखाएको छ । जसमध्ये मात्र ४२ प्रतिशतले कानुनी मान्यता प्राप्त स्वास्थ्य संस्थाहरुमा सेवा लिने गरेका छन् । सरकारले मान्यता दिएको स्वास्थ्य संस्थाभन्दा बाहिर ५८ प्रतिशत गर्भपतन हुनुले पनि सरकारी संस्थामा सजिलो सेवा नपाउनु जस्ता कारण देखाउँछ ।
महिला तथा दम्पतिलाई अहिले पनि नेपालमा कुन–कुन अवस्थामा गर्भपतन गर्न पाइन्छ, अनि कति पैसामा कहाँ गर्न पाइन्छ भन्ने कुरा नै थाहा नभएको डाक्टर अरुणा उप्रेती बताउनुहुन्छ ।
यस्तै, अनिच्छित गर्भ बसेपछि घरका अन्य सदस्यले थाहा नपाउन भनेर पनि निजी अस्पतालमा असुरक्षित गर्भपतनका लागि जानेहरुको सङ्ख्या धेरै रहेको उहाँको भनाइ छ ।
यस्तो अवस्थामा गर्न सकिन्छ सुरक्षित गर्भपतन
* इच्छा विपरीत बसेको गर्भ १२ हप्तासम्म महिलाले सुरक्षित तरिकाले गर्भपतन गराउन सक्छन् ।
* गर्भवतीको ज्यानमा खतरा वा शारीरिक वा मानसिक स्वास्थ्य खराब हुन सक्ने भनी इजाजतपत्र प्राप्त चिकित्सकको राय बमोजिम उनको मत्र्जुरीमा २८ हप्तासम्मको गर्भपतन गर्न सकिन्छ।
* जबरजस्ती करणी वा हाडनाता करणीबाट रहन गएको गर्भ गर्भवतीको मत्र्जुरीले २८ हप्तासम्मको गर्भपतन गर्न सकिन्छ ।
* रोग प्रतिरोधक क्षमता उन्मुक्ति गर्ने जीवाणु (एच.आइ.भी.) वा त्यस्तै प्रकृतिको अन्य निको नहुने रोग लागेको महिलाको मत्र्जुरीमा २८ हप्तासम्मको गर्भ ।
* भ्रूणमा कमी कमजोरी भएको कारणले गर्भमै नष्ट हुन सक्ने वा जन्मे र पनि बाँच्न नसक्ने गरी गर्भको भ्रूणमा खराबी रहेको, वंशानुगत (जेनेटिक) खराबी वा अन्य कुनै कारणले भ्रूणमा अशक्तता हुने अवस्था रहेको भनेर उपचारमा संलग्न स्वास्थ्यकर्मीको सिफारिसमा गर्भवतीको मत्र्जुरीमा २८ हप्तासम्मको गर्भ ।
सुरक्षित गर्भपतन गराउँदा जान्नै पर्ने कुरा
* अनिच्छित गर्भपतन गराउनुपूर्व दम्पत्ति एवम् महिलाले यो सेवा दिने संस्था र सेवा प्रदायकका बारेमा जानकारी राख्नु पर्छ ।
* नेपालमा अहिलेसम्म ७७ वटा जिल्लामै भएका अस्पताल तथा प्राथमिक स्वास्थ्य केन्द्रहरुमा सुरक्षित गर्भपतन सेवा पाइन्छ ।
* औषधिद्वारा गरिने गर्भपतन सेवा ५१ वटा जिल्लाका केही स्वास्थ्य संस्थामा र १३ हप्ताभन्दा माथिको गर्भपतन सेवा २९ वटा अस्पपतालहरुमा पाइन्छ ।
* सरकारले मान्यता दिएका स्वास्थ्य संस्थामा यो सेवा निःशुल्क छ ।
* गर्भपतनको सेवा दिने संस्थामा सुरक्षित गर्भपतन सेवा लेखिएको लोगो अनिवार्य राखेको हुनुपर्नेछ ।
* सेवा प्रदायक र स्वास्थ्य संस्थाको सूचीकृत प्रमाण पत्र हुनु पर्छ ।
यसरी गर्न सकिन्छ सुरक्षित गर्भपतन
१. औषधिको प्रयोग : मिजोप्रोस्टोल, मिफिप्रिस्टोन औषधिको प्रयोगबाट १० हप्तासम्मको गर्भलाई सुरक्षित रुपमा गर्भपतन गर्न सकिन्छ । तर, यी औषधिको प्रयोग भने सहि तरिकाले गर्नुपर्छ।
मिफिप्रिस्टोन औषधिको पहिलो चक्की जिब्रोको तल आधा घण्टासम्म राख्नु पर्दछ । यसपछि मिजोप्रोस्टोलको चक्की योनिमा राख्नुपर्छ । मिजोप्रोस्टोलको ४ चक्की पहिलो चक्की खाएको २४ घण्टामा योनिमा राख्नु पर्दछ ।
यो चक्की खान पनि मिल्छ तर योनिमा राख्दा छिटो काम गर्छ । चक्की खाएको सामान्यतया ३ घण्टापछि काम गर्न सुरु गर्छ । तर यो औषधि खाँदा पनि केहीलाई स्वास्थ्य जटिलता भने देखिने भएकाले सचेत भने हुनुपर्दछ । यो औषधि डाक्टरको प्रेसक्रिप्सन बिना खानु हुँदैन । डाक्टर र स्वास्थ्यकर्मीको सल्लाहमा औषधिको सही प्रयोग गर्दा ९८ प्रतिशत सुरक्षित र प्रभावकारी हुन्छ ।
विश्व स्वास्थ्य सङ्गठनकाअनुसार २ प्रतिशतमा यो औषधिको जटिलता देखिन सक्छ । दुई वटा प्याड एक घण्टासम्म भिजेमा र अत्याधिक दुखाइ भए समस्यालाई जटिल रुपमा लिनुपर्छ । यस्तै, लगातार बान्ता भइरहे र एक सय भन्दा माथि उच्च ज्वरो आएमा तुरुन्त अस्पताल जानु पर्छ । अनि यो औषधि प्रयोग गरेको दुई हप्तासम्म फलोअपमा बस्नुपर्छ ।
२. औजारको प्रयोग गरेर गरिने सुरक्षित गर्भपतन
महिलाको मत्र्जुरी र इच्छामा १२ हप्तासम्मको गर्भलाई औजारको प्रयोगमार्फत पनि सुरक्षित रुपमा गर्भपतन गराउन सकिन्छ । यो विधिमार्फत गरिने गर्भपतन ९९ प्रतिशत प्रभावकारी मानिएको छ ।
यो विधिमार्फत गर्भपतन गराउँदा पनि केहीलाई साइड इफेक्ट देखिन सक्ने भएकाले डाक्टर र स्वास्थ्यकर्मीको निगरानीमा बस्नु पर्दछ । रक्तस्राव भइरहे वा झाडापखाला जस्ता अन्य समस्या देखिए उपचारमा जानु पर्दछ ।
यसैबीच, सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्यको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको ऐनले सुरक्षित गर्भपतन सम्बन्धी विभिन्न व्यवस्था गरेको छ । जबरजस्ती र हाडनाता करणी भएमा २८ हप्तासम्म गर्भपतन गराउन सकिन्छ । गर्भपतन नगराएमा महिलाको ज्यानमा खतरा पुग्न सक्छ वा उनको शारीरिक वा मानसिक स्वास्थ्य खराब हुन सक्छ वा अपाङ्गता भएका बच्चा जन्मन्छ भनी इजाजत प्राप्त चिकित्सकको राय भइ महिलाको मञ्जुरी बमोजिम २८ हप्ताको गर्भपतन गराउन सकिन्छ ।
त्यसैगरी रोग प्रतिरोधात्मक क्षमता उन्मुक्ति गर्ने जिवाणु ( एचआईभी ) वा त्यस्तै प्रकृतिको अन्य निको नहुने रोग लागेको महिलाको मञ्जुरीमा, भ्रूणमा कमीकमजोरी भएको कारणले गर्भमै नष्ट हुन सक्ने वा जन्मेर पनि बाँच्न नसक्ने गरी गर्भको खराबी रहेको, वंणाशुगत ( जेनेटिक ) खराबी वा अन्य कुनै कारणले भ्रूणमा अशक्तता हुने अवस्था भएमा पनि २८ हप्ताको गर्भपतन गराउन सकिन्छ ।
सुरक्षित गर्भतनमा डराउनु पर्दैन, यसमा पूर्ण गोपनीयता अपनाइन्छ
सरकारले आफ्नो मातहातका संस्था र निजी दुवैलाई सुरक्षित गर्भपतनको लागि मान्यता दिएको छ । सूचीकृत स्वास्थ्य संस्थामा सूचीकृत चिकित्सक वा स्वास्थ्यकर्मीले सुरक्षित गर्भपतन गराउने व्यवस्था हुन्छ ।
सुरक्षित गर्भपतन गराउनेहरुको नाम र पहचान गोप्य राखिन्छ । तर, यसबारे धेरैलाई जानकारी नहुँदा असुरक्षित गर्भपतन गराउनेहरु बढ्दै छन् । सेवाग्राहीको नामथर सबै उल्लेख नगरिने हुँदा गर्भपतनका लागि सूचीकृत संस्थाहरु सुरक्षित र भरपर्दो हुन्छन् । त्यसैले सुरक्षित गर्भपतनका लागि आत्तिनु पर्दैन र डराउन जरुरी पनि छैन । लुकेर असुरक्षित गर्भपतन गराउँदा ज्यानै जाने जोखिम धेरै हुन्छ ।
त्यसैले आफ्नो ज्यानलाई जोखिममा पर्न नदिन आफैँ सचेत हौँ, ज्यानै जाने असुरक्षित गर्भपतनलाई रोकौँ ।