दश नगरपालिका र पाँच गाउँपालिका रहेको महोत्तरीमा विभिन्न राजनीतिक दलबाट निर्वाचित भएका प्रमुख तथा अध्यक्षले पुनः स्थानीय तहको निर्वाचनमा भाग लिने तयारी गरिरहेको बताइएको छ। सरकारले आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन मिति घोषणा गरेको हो ।
स्थानीय तहको निर्वाचन–२०७४ मा लोसपाबाट जलेश्वर नगरपालिकाका प्रमुखमा रामशङ्कर मिश्र, मटिहानी नगरपालिकाका प्रमुखमा हरिप्रसाद मण्डल, मनरासिस्वा नगरपालिकाका प्रमुखमा सञ्जयकुमार सिंह, भङ्गहा नगरपालिकाका प्रमुखमा सञ्जीवकुमार साह, एकरडा गाउँपालिकाका अध्यक्षमा रामछविला साह र महोत्तरी गाउँपालिकाका अध्यक्षमा सुनिलकुमार राय निर्वाचित भएका थिए । आसन्न स्थानीय तहको निर्वाचनमा पनि उनीहरुलाई पार्टीले पुनः उम्मेदवार बनाउने तयारी गरेको लोसपा महोत्तरीले जनाएको छ ।
उनीहरु पनि आसन्न स्थानीय तहको निर्वाचनमा सो पार्टीका तर्फबाट पुनः प्रमुख पदमा उम्मेदवारी दिने तयारी गरेको बताइएको छ । यसैगरी स्थानीय तहको निर्वाचन–२०७४ मा नेकपा माओवादी केन्द्रबाट सम्सी गाउँपालिकाका अध्यक्षमा निर्वाचित शेष फारुख अहिले नेकपा एमालेमा प्रवेश गरेको छ । आसन्न स्थानीय तहको निर्वाचनमा उनले एमालेबाट अध्यक्ष पदमा उम्मेदवारी दिइने लगभग निश्चित भएको बताइएको छ ।
यसैगरी स्थानीय तहको निर्वाचन–२०७४ मा नेपाली कांग्रेसबाट जिल्लाको बलवा, लोहारपट्टी र औरही नगरपालिकाका प्रमुखमा क्रमशः विनोदकुमार यादव, शैलेन्द्र यादव र सुनिलकुमार यादव निर्वाचित भएको थियो ।
आसन्न निर्वाचनमा उनीहरु पुनः सोही पार्टीबाट सोही पदमा उम्मेदवारी दिने तयारी भइरहेको चर्चा छ । त्यस्तै गत निर्वाचनमा जसपा नेपालबाट सोनमा गाउँपालिकाका अध्यक्षमा निर्वाचित राजकुमार यादव र नेकपा एमालेबाट पिपरा गाउँपालिकाका अध्यक्ष पदमा निर्वाचित विक्रम चौधरीले पनि आसन्न स्थानीय तहको निर्वाचनमा सोही पदमा उम्मेदवारी दिइने बताइएको छ ।
पिपरा गा.पा.मा २०७४ मा लोसपा नेपालकै विनोदकुमार चौधरी निर्वाचित भएकोमा उनको कार्यकाल नसकिँदै मृत्यु भएपछि २०७६ भएको उपनिर्वाचनमा तत्कालीन (नेकपा माओवादी केन्द्र र नेकपा एमाले) मिलेर बनेको नेकपा एकीकृतबाट विक्रम चौधरी निर्वाचित भएका थिए । उनी अहिले नेकपा एमालेबाट उम्मेदवार बन्ने चर्चा छ ।
आसन्न स्थानीय तहको निर्वाचनका लागि महोत्तरी जिल्लामा तीन लाख ३६ हजार ९५ मतदाता, २५८ मतदानस्थल र ४९७ मतदान केन्द्र कायम भएको छ । सबैभन्दा बढी बर्दिबास नगरपालिकामा २८ मतदानस्थल, ५८ मतदान केन्द्र र ४४ हजार ४६० मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
त्यस्तै सबैभन्दा कम जिल्लाको महोत्तरी गाउँपालिकामा १२ मतदानस्थल, २२ मतदान केन्द्र र १७ हजार ४३६ मतदाता रहेको जिल्ला निर्वाचन अधिकारी सुवोधकुमार महतोले जानकारी दिए ।