वैशाख १५ ,काठमाडौँ — अर्थतन्त्र गम्भीर संकटको संघारमा रहेकाले सम्भावित जोखिम न्यूनीकरण गर्न राज्यका सबै निकायबीच प्रभावकारी समन्वय अत्यावश्यक रहेको राष्ट्र बैंकका पूर्वगभर्नरहरूले औंल्याएका छन् । अहिलेको अवस्थामा राजनीतिक विचार, व्यक्तिगत स्वार्थ र द्वन्द्वबाट माथि उठेर अर्थतन्त्र सुधारका लागि लाग्नुपर्नेमा उनीहरूको जोड छ ।
मुलुकको एक वर्षको बजेटभन्दा बढी व्यापार घाटा हुने अवस्थामा अर्थतन्त्र पुग्नु डरलाग्दो संकेत भएको उनले बताए । ‘चालु आर्थिक वर्षमा व्यापार घाटा १६ सय खर्बभन्दा बढी पुग्ने देखिन्छ । शोधनान्तर घाटा र चालु खाता घाटाको अवस्था पनि विगतभन्दा धेरै डरलाग्दो छ,’ रावलले भने, ‘यस्तो अवस्थामा कुन सूचक हेरेर सन्तोष मान्ने ? मैले त आश लाग्ने ठाउँ कतै देखेको छैन ।’ यस्तो अवस्थामा एकअर्कालाई दोषारोपण गर्नुका साटो सबै जना आआफ्नो ठाउँबाट समस्या समाधानमा लाग्नुपर्ने उनको भनाइ छ ।
‘आज मैले २० वर्षअघिकै घटना सम्झिरहेको छु । अदालतकै कारण त्यतिबेला मैले न्याय पाएको थिएँ,’ कार्यक्रममा पूर्वगभर्नर रावलले सरकारले गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेको घटनाप्रति लक्ष्य गर्दै भने, ‘अहिलेका गभर्नर अधिकारी पनि अदालतकै कारण काममा फर्किन पाउनुभएको छ ।’ अब थप जोस–जाँगरका साथ निष्पक्ष ढंगले मुलुक र अर्थतन्त्रका लागि काम गर्न गभर्नर अधिकारीलाई उनले सुझाए ।
‘विश्वभर महामारीका रूपमा फैलिएको कोभिड खोपको उपलब्धताका कारण महामारीको असर क्रमशः कम हुँदै गएको अनुभव गरेका छौं । कोभिडको असर कम भएसँगै आर्थिक गतिविधिहरूमा सुधार आएको छ । उद्योग तथा होटलहरूको अकुपेन्सीमा सुधार आएको अवस्था छ,’ अधिकारीले भने, ‘कोभिड महामारीका कारण चालु आर्थिक वर्षको सुरुवाती महिनामा आर्थिक गतिविधि शिथिल रहे । अर्थतन्त्र पुनरुत्थानका क्रममा बैंक तथा वित्तीय संस्थाबाट आर्थिक वर्ष २०७८/७९ को सुरुवातमा अधिक कर्जा प्रवाह भएको र उक्त कर्जाको अधिकांश कर्जा आयात भुक्तानीमा गएका कारण चालु आर्थिक वर्षको सुरुवातदेखि नै शोधनान्तर स्थिति घाटामा रहन गयो ।’ यस्तो घाटा क्रमशः बढ्दै गएकाले विदेशी विनिमय सञ्चिति घटेर ७ महिनाभन्दा कम समयका लागि वस्तु तथा सेवा आयात धान्न सक्ने स्थितिमा पुगेको हुँदा बाह्य क्षेत्र अहिले दबाबमा रहेको उनको भनाइ छ । ‘पछिल्लो समय विदेशी मुद्रा सञ्चिति स्थिर छ । आगामी दिनमा थप काम गर्न राष्ट्र बैक प्रतिबद्ध छ,’ उनले भने, ‘विदेशी मुद्रा सञ्चिति थप घट्न नदिन सरकारले मंगलबार मात्र केही वस्तुको आयातमा बन्देज लगाएको छ । यस्तै अरू नीतिगत व्यवस्थाका लागि पनि राष्ट्र बैंकले सरकारलाई सुझाव दिएको छ ।’
डिजिटल मुद्रा चलाउने सम्बन्धमा अध्ययन भइरहेको राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले बताए । ‘कागजको नोट प्रचलनमा ल्याउन स्थापित राष्ट्र बैंकको यात्रा अब डिजिटल मुद्रातर्फ अघि बढेको छ,’ उनले भने, ‘अब भौतिक मुद्रालाई विस्थापित गरी डिजिटल कारोबारलाई अघि बढाउने तयारीमा राष्ट्र बैंक छ ।’ बाह्य क्षेत्रका कारण अर्थतन्त्र दबाबमा रहेकाले राष्ट्र बैंकले कहिले कसिलो त कहिले लचिलो नीति लिनुपरेको उनको भनाइ छ । पछिल्लो समय कोरोना संक्रमणको दर कम हुँदै गएकाले अब आर्थिक क्षेत्र चलायमान हुने विश्वास उनले व्यक्त गरे ।
हाल राष्ट्र बैंकमा कांग्रेस, एमाले र माओवादी निकटका कर्मचारी युनियन सक्रिय छन् । सरकारले राष्ट्र बैंकका गभर्नर अधिकारीलाई निलम्बन गरेको घटनालाई सबै युनियनका अध्यक्षहरूले नराम्रो भने पनि एमाले निकट युनियन (राष्ट्र बैंक कर्मचारी संघ) बाहेकले खुलेर विरोध गर्न सकेनन् । तर एमाले निकट राष्ट्र बैंक कर्मचारी संघका अध्यक्ष रुद्रप्रसाद तिमिल्सिनाले गभर्नर अधिकारीलाई निलम्बन गर्ने सरकारको निर्णयको खुलेर विरोध गरेका थिए । सरकारको यो कदमले राष्ट्र बैंकको स्वायत्ततामाथि नै प्रहार भएको उनको तर्क थियो ।
- गभर्नर अधिकारीमाथि सरकारको कारबाही सम्बन्धी विषय अदालतमा गइसकेकाले ठीक–बेठिक भनेर तर्क गर्नुको अर्थ नरहेको कांग्रेसनिकट वित्तीय संस्था कर्मचारी संघका अध्यक्ष राजीव रेग्मीले बताए । ‘अहिले यस विषयमा बहस गर्नु हाम्रो क्षमता र कार्याधिकारभन्दा बाहिरको विषय हो,’ उनले भने, ‘यस्ता विषयमा वास्तविकता नबुझी जिम्मेवार कर्मचारी युनियनले हतारमा बोल्नु राम्रो होइन ।’ माओवादी निकट कर्मचारी युनियन राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष रमेशराज बल्छौडेले गभर्नरको विषयलाई लिएर राष्ट्र बैंकमा कर्मचारीहरूबीच मतभेद सिर्जना भएको, उच्च निकायबाट देखिने गरी नै विभेद सुरु भएको लगायत आरोप लगाए । वार्षिकोत्सवका अवसरमा राष्ट्र बैंकले पूर्वगभर्नर रावललाई सम्मानसमेत गरेको थियो ।