२०८२ असार १७ जनकपुरधाम : धनुषा जिल्लाको राष्ट्रिय माध्यमिक विद्यालय, रुपैठ बेल्ही, जनकपुरधाम उपमहानगरपालिका-२० मा SEE २०८१ मा उत्कृष्ट अंकसहित उत्तीर्ण भएका विद्यार्थीहरूको सम्मान तथा वृत्ति परामर्श कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रमका प्रमुख अतिथि प्रदेश सभा सदस्य माननीय राम सरोज यादव ज्यू रहनु भएको थियो। विशेष अतिथि वडाध्यक्ष मोती राईन ज्यू तथा विद्यालय व्यवस्थापन समिति (वि.व्य.स) का अध्यक्ष राम हुलास महतोज्यूको समेत गरिमामय उपस्थिति रहेको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक धिरेन्द्र चौधरी, प्राविधिक धारतर्फका संयोजक मो. हजरत राईन, शिक्षक दिपक झा लगायत विद्यालय परिवारका अन्य शिक्षक तथा अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा SEE 2081 मा सफल भएका विद्यार्थीहरूलाई प्रशंसा–पत्र, अवार्ड र शैक्षिक सामग्री प्रदान गर्दै सम्मान गरिएको थियो। साथै, विद्यार्थीहरूलाई विज्ञान, व्यवस्थापन, मानविकी, प्राविधिक शिक्षा लगायतका विषय छनोट सम्बन्धी वृत्ति परामर्श दिइएको थियो।
माननीय यादवले आफ्नो मन्तव्यमा भने, “आजका यी विद्यार्थीहरू भविष्यका कर्णधार हुन्। योग्य र सक्षम जनशक्ति निर्माण गर्न यस्ता कार्यक्रमहरूले ठूलो भूमिका खेल्छन्।” वडाध्यक्ष मोती राईनले विद्यार्थीलाई मेहनत, लगनशीलता र इमानदारीले मात्रै लक्ष्य प्राप्त गर्न सकिने प्रेरणा दिनुभयो।
विद्यालयका प्रधानाध्यापक धिरेन्द्र चौधरीले धन्यवाद मन्तव्य दिँदै सम्पूर्ण सहयोगी हातहरूलाई आभार व्यक्त गर्नुभएको थियो। कार्यक्रममा सहभागी अभिभावक तथा शिक्षकहरूले यस्ता कार्यक्रमले विद्यार्थीहरूको मनोबल अभिवृद्धि गर्ने विश्वास व्यक्त गरेका थिए।
कार्यक्रम अत्यन्तै उत्साहजनक वातावरणमा सम्पन्न भएको थियो।