१२ चैत्र , काठमाडौँ — सन्दीप लामिछानेले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो ५० विकेट पूरा गरेका छन् । पपुवा न्यु गिनी (पीएनजी) विरुद्धको दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा चाल्र्स अमिनीलाई एलबीडब्लु आउट गर्दै उनी एकदिवसीयमा ५० विकेट लिने पहिलो नेपाली खेलाडी बनेका हुन् ।
सन्दीपले २२ खेल खेल्दै ५० विकेट पुरा गरेका हुन् । सन्दीपले एकदिवसीय अन्तर्राष्ट्रियमा दास्रो सबैभन्दा चाडो ५० विकेट लिने कीर्तिमान बनाएका हुन् । श्रीलंकाका अजन्था मेन्डिसले १९ खेलमा सबैभन्दा छिटो ५० विकेट लिएका थिए ।
त्यस्तै भारतका अजित अगारकार र मिचेल म्याकलेनाघानले २३ खेलमा तथा अस्ट्रेलियाका डेनिस लिली, पाकिस्तानका हसन अली, भारतका कुल्दिप यादवले २४ खेलमा आफ्नो पहिलो ५० एकदिवसीय अन्तर्राष्ट्रिय विकेट लिएका थिए ।
नेपालबाट एकदिवसीय अन्तर्राष्ट्रियमा उत्कृष्ट बलिङको कीर्तिमान पनि सन्दीपकै नाममा छ । उनले गत वर्ष सेप्टेम्बरमा पीएनजीविरुद्ध नै ओमानमा ११ रन खर्चेर ६ विकेट लिएका थिए ।