spot_img
आइतबार, बैशाख ७, २०८२
आइतबार, बैशाख ७, २०८२
- Advertisement -spot_imgspot_img
समाचारनयाँ नागरिकता ऐनअनुसार मुलुकभर झन्डै ११ हजार नयाँ नागरिकता...

नयाँ नागरिकता ऐनअनुसार मुलुकभर झन्डै ११ हजार नयाँ नागरिकता वितरण ,धनुषाबाट पाँच सय ७६ वितरण

जन्मका आधारमा नागरिकता लिनेहरूका सन्तान चार लाखको हाराहारी र बाबुको पहिचान नखुलेको आमाबाट जन्मेका सन्तान करिब एक लाख रहेको अनुमान

२४ असार , काठमाडौं । नयाँ नागरिकता ऐनअनुसार मुलुकभर झन्डै ११ हजार नयाँ नागरिकता वितरण भएका छन् । राष्ट्रपतिबाट प्रमाणीकरण भएको नागरिकता विधेयक लागू गर्न मिल्ने गरी ७ असारमा सर्वोच्च अदालतले बाटो खुला गरेपछि नयाँ कानुनअनुसार देशभर नागरिकता वितरण सुरु भएको थियो ।

- Advertisement -

गृह मन्त्रालयको तथ्यांकअनुसार नयाँ ऐन लागू भएपछि मुलुकभर १० हजार नौ सय ११ जनाले नेपाली नागरिकता लिएका छन् । नयाँ कानुनअनुसार विशेष गरी जन्मका आधारमा नेपाली नागरिकता लिएकाका सन्तान र बाबुको पहिचान नखुलेका नेपाली आमाबाट जन्मेका सन्तानलाई नेपाली नागरिकता वितरण सुरु गरिएको थियो ।

गृह मन्त्रालयस्थित नागरिकता शाखाका उपसचिव कृष्ण कटुवालले नागरिकतासम्बन्धी ऐन लागू भएपछि मुलुकभर झन्डै ११ हजारले नयाँ नागरिकता प्राप्त गरेको बताए । ‘नागरिकतासम्बन्धी विधेयक राष्ट्रपतिबाट प्रमाणित भयो । त्यसलगत्तै राजपत्रमा प्रकाशित भयो । महिना दिनको रेकर्ड हेर्दा मुलुकभर झन्डै ११ हजारले नयाँ नागरिकता प्राप्त गरेका छन् । यो संख्या दैनिक वृद्धि भइरहेको छ,’ उनले भने ।

- Advertisement -

गत १७ जेठमा राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेका थिए । विधेयक राजपत्रमा प्रकाशित भएलगत्तै नागरिकता वितरण सुरु भएको थियो । तर, सर्वोच्चमा रिट परेपछि सुरुमा अदालतले यसलाई लागू नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको थियो । तर, सर्वोच्चले ७ असारमा नयाँ ऐन कार्यान्वयनका लागि बाटो खुला गरेपछि बल्ल नागरिकता वितरणले गति लिएको थियो ।

गृहको तथ्यांकअनुसार नयाँ ऐनअनुसार सबैभन्दा धेरै मधेसका जिल्लामा नयाँ नागरिकता वितरण भएका छन् । गृहका उपसचिव कटुवालका अनुसार नयाँ ऐनअनुसार मुलुकभर २९ जिल्लाबाट नागरिकता वितरण भएको र जसमध्ये धेरैजसो तराई–मधेसका जिल्ला छन् ।

नयाँ ऐनअनुसार नागरिकता वितरण गरिएका २९ जिल्लामध्ये नयाँ नागरिकता लिने सबैभन्दा धेरै मोरङबाट छन् । यस अवधिमा मोरङबाट मात्रै एक हजार आठ सय ८४ जनाले नागरिकता लिएका छन् । त्यसपछि सबैभन्दा धेरै नागरिकता बर्दियाबाट वितरण भएका छन् । तथ्यांकअनुसार बर्दियामा एक हजार पाँच सय ६७ जनालाई नागरिकता वितरण गरिएको छ ।

त्यस्तै, यस अवधिमा सर्लाहीबाट एक हजार ७४, रुपन्देहीबाट नौ सय ६६, झापाबाट पाँच सय २५, सुनसरीबाट चार सय २७, सिराहाबाट ६ सय ६, धनुषाबाट पाँच सय ७६, महोत्तरीबाट ६ सय ७३, रौतहटबाट दुई सय ३६, बाराबाट एक सय ६५, पर्साबाट ६ सय ५०, चितवनबाट एक सय २९ र नवलपरासी (पश्चिम)बाट पाँच सय ४३ लाई नागरिकता वितरण गरिएको छ ।

- Advertisement -

नेपालको संविधान २०७२ मा जन्मसिद्ध नेपाली नागरिकका सन्तान, बाबुको पहिचान नखुलेका नेपाली आमाबाट जन्मेका सन्तानले वंशजका आधारमा नगरिकता लिन सक्ने व्यवस्था गरिएको छ । तर, विविध विवादका कारण कानुन बन्न नसक्दा उनीहरूले नागरिकता पाउन सकेका थिए ।

गृहका अनुसार मुलुकभर जन्मका आधारमा नागरिकता लिएकाहरूको संख्या करिब एक लाख ९० हजार छ । उनीहरूबाट जन्मेका कुनै पनि सन्तानले नेपाली नागरिकता लिन सकेका थिएन । उनीहरूका सन्तान चार लाखको हाराहारीमा रहेको गृहको आँकडा छ । जसकारण राज्यबाट प्रदत्त न्यूनतम अधिकार उपभोग गर्नबाट उनीहरू वञ्चित थिए ।

त्यस्तै, बाबुको पहिचान नखुलेको आमाबाट जन्मेका सन्तानले पनि नागरिकता प्राप्त गर्न सकेका थिएनन् । उनीहरूसमेतको संख्या जोड्दा मुलुकभर पाँच लाखभन्दा धेरै नागरिकताविहीन हुने अवस्थामा पुगेको सरकारी आँकडा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर

spot_img
spot_img

ताजा समाचार