spot_img
सोमबार, बैशाख ८, २०८२
सोमबार, बैशाख ८, २०८२
- Advertisement -spot_imgspot_img
समाचारगतबर्ष भन्दा डेढ लाख हेक्टरमा कम धान ...

गतबर्ष भन्दा डेढ लाख हेक्टरमा कम धान रोपाइँ

२३ असार , काठमाडौँ । पोहोरको तुलनामा असार २१ सम्म डेढ लाख हेक्टरमा कम रोपाइँ भएको छ । बढी रोपाइँ हुने मधेश, गण्डकी र लुम्बिनीमा मनसुन ढिलाइ हुँदा रोपाइँमा कमी आएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । बर्खे धान रोपाइँ हुने क्षेत्रफल १३ लाख ५७ हजार ८ सय १६ हेक्टर हो । यसमध्ये ३ लाख ६२ हजार ६ सय २५ हेक्टर अर्थात् २६.७१ प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको मन्त्रालयले बताएको छ ।

०७९ असार २१ सम्ममा ५ लाख ४३ हजार ६ सय ६९ हेक्टर अर्थात् ४०.०४ प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको थियो । ‘यस हिसाबले गत वर्षको यसै अवधिको तुलनामा करिब १३ प्रतिशत हाराहारीमा कम रोपाइँ भएको देखिन्छ,’ मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सन्जेलले भने, ‘विशेषगरी मधेश, गण्डकी, लुम्बिनीमा मनसुन सुरु हुन ढिलो भयो, यही कारणले रोपाइँ कम देखियो ।’ प्रतिशतका हिसाबमा सबैभन्दा बढी सुदूरपश्चिममा रोपाइँ भएको छ । यस प्रदेशमा १ लाख ७१ हजार ४ सय ७६ हेक्टरमा धान रोपाइँ हुन्छ ।

- Advertisement -

त्यसमध्ये ४८.९७ प्रतिशत अर्थात् ८३ हजार ९ सय ७२ हेक्टरमा रोपाइँ भएको छ । गत वर्ष यही अवधिमा भने ७२.७० प्रतिशत रोपाइँ भइसकेको थियो । दोस्रोमा कर्णालीमा ४५ प्रतिशत अर्थात् १७ हजार ४ सय ३५ हेक्टरमा रोपाइँ भएको छ । गतवर्ष यही अवधिमा ५६.३१ प्रतिशत रोपाइँ भएको थियो । कर्णालीमा ३८ हजार ७ सय २७ हेक्टरमा रोपाइँ हुन्छ । कोशीमा २ लाख ७५ हजार १ सय ३३ हेक्टरमा रोपाइँ हुन्छ । असार २१ सम्ममा ३६.६७ प्रतिशत अर्थात् १ लाख ८ सय ९१ हेक्टरमा रोपाइँ भएको छ । यही अवधिमा पोहोर कोशीमा भने ३१.९६ प्रतिशत मात्रै रोपाइँ भएको थियो ।

वाग्मतीमा १ लाख १३ हजार ८३ हेक्टरमा धान रोपाइँ हुन्छ । हालसम्म ३०.७८ प्रतिशत अर्थात् ३४ हजार ८ सय ७ हेक्टरमा रोपाइँ भएको छ । गत वर्ष यही अवधिमा ४३ प्रतिशत रोपाइँ भएको थियो । लुम्बिनीमा ३ लाख ३ सय ९२ हेक्टर रोपाइँ हुनेमध्ये २४.४३ प्रतिशत अर्थात् ७३ हजार ३ सय ८६ हेक्टरमा रोपाइँ भएको मन्त्रालयको तथ्यांक छ । गत वर्ष यही अवधिमा लुम्बिनीको रोपाइँ आधाले घटेको छ । गत वर्ष लुम्बिनीमा ५३ प्रतिशत रोपाइँ भएको थियो ।

- Advertisement -

गण्डकीमा १ लाख ४ हजार ६ सय २२ हेक्टरमा रोपाइँ हुन्छ । त्यसमध्ये १७.५५ प्रतिशतमा रोपाइँ भएको छ । सबैभन्दा बढी मधेशमा ३ लाख ५४ हजार ३ सय ८३ हेक्टरमा रोपाइँ हुन्छ । यस प्रदेशमा ९.५३ प्रतिशत मात्रै रोपाइँ भएको छ । गत वर्ष यही अवधिमा भने ३० प्रतिशत रोपाइँ भएको थियो । मनसुन सुरु हुने क्रमसँगै रोपाइँको क्षेत्रफल पनि बढ्दै गएको मन्त्रालयले जनाएको छ । यही हिसाबले रोपाइँ भए विगतका वर्षमा झैं लगभग शतप्रतिशत रोपाइँ हुने गरेको सन्जेलले जनाए ।

रोपाइँ नहुनुको प्रमुख कारण भने सिँचाइ समस्या हो । मुलुकको रोपाइँ मनसुनमा आधारित हुँदा रोपाइँको क्षेत्रफलमा कमी देखिएको हो । महामारीका रूपमा फैलिएको लम्पी स्किन संक्रमणले पनि धान रोपाइँमा प्रत्यक्ष प्रभाव पारेको छ ।

लम्पीबाट मुलुकमा ७ लाख ९ हजार २ सय ३ पशु संक्रमित भएको पशुसेवा विभागको तथ्यांक छ । त्यसमध्ये २५ हजार ७ सय ८२ पशु मरेका छन् । २ लाख २९ हजार ६ सय २ पशु सक्रिय संक्रमित छन् । यसरी लाखौंको संख्यामा पशु संक्रमित हुँदा रोपाइँमा पनि प्रत्यक्ष प्रभाव परेको जानकार बताउँछन् । रोगकै कारण पहाडी भेग (प्रविधि नपुगेको ठाउँ) मा खेतबारी जोत्न सकिएको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर

spot_img
spot_img

ताजा समाचार