spot_img
आइतबार, अशोज २७, २०८१
आइतबार, अशोज २७, २०८१
- Advertisement -spot_imgspot_img
समाचारराजनितिमधेसमा चुनावी गर्मी

मधेसमा चुनावी गर्मी

 मधेसको मौसम यति बेला न गर्मी छ न चिसो । शीर्ष नेताको निरन्तर दौडधुपले राजनीति भने तातिएको छ । चुनावको मुखमा दलहरूले पार्टी प्रवेश, प्रशिक्षण र भेलामार्फत चुनावी गतिविधि बढाएका छन् । मधेसमा कार्यकर्ता जोगाउन दलहरूलाई हम्मे परिरहेको छ ।

- Advertisement -

राजनीति दलका शीर्ष नेताहरूले नै मधेस झरेर चुनावी माहोललाई सक्रिय बनाइदिएका छन् । स्थानीय तह निर्वाचनको मिति नजिकिँदै गर्दा टिकटका लागि लबिइङ गर्ने क्रम पनि तीव्र भएको छ । एक महिनायता प्रायः सबै दलका शीर्ष नेता मधेस झरिसकेका छन् । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा वीरगन्जमा दुई कार्यक्रममा सहभागी भए । उनले कांग्रेसको आन्तरिक चुनाव सकिएकाले स्थानीय चुनावमा केन्द्रित हुन निर्देशन दिए ।

दुई साताअघि वीरगन्ज आएका एमाले अध्यक्ष केपी शर्मा ओलीले वीरगन्जमा मेयर विजय सरावगीलाई पार्टी प्रवेश गराउँदै स्थानीय चुनावलाई तंरगित बनाइदिएका थिए । एमालेकै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले चैत पहिलो साता जनकपुरमा पार्टीको जिल्ला अधिवेशन उद्घाटन गर्दै स्थानीय निर्वाचनलाई एमालेमय बनाउन आग्रह गरेका थिए ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल मंगलबार जनकपुरमा प्रदेशस्तरीय राजनीतिक प्रशिक्षण कार्यक्रममा सहभागी भए । दाहालले ‘मन्त्रिपरिषद् बिस्तार हुने र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सहभागी हुने’ भनेर चुनावका बेला मधेस कार्ड खेलिदिए । बुधबार साँझ जनकपुर आएका एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बिहीबार मधेस प्रदेशको विस्तारित बैठकलाई सम्बोधन गर्दै मधेसका मतदाताको रूझान आफ्नो दलसँग रहेको दाबी गरे ।

- Advertisement -

जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव पनि मधेसमै व्यस्त छन् । उनले आफ्नो निर्वाचन क्षेत्रसमेत रहेको सप्तरीमा बुधबार एकैसाथ चारवटा सडक सञ्जालको शिलान्यास गरे । उनले तीन दिनअघि वीरगन्ज पुगी राजेशमान सिंहलाई पार्टीमा फर्काए । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष ठाकुर पनि मधेसमै छन् । लोसपाले वीरगन्जमा बिहीबार प्रशिक्षण कार्यक्रम आयोजना गर्‍यो । ठाकुर, राजेन्द्र महतो, अनिल झा र शरदसिंह भण्डारीले सातायता मधेसमै बसेर चुनावी गतिविधि बढाइरहेका छन् । कांग्रेस नेता बिमलेन्द्र निधिले बुधबार जनकपुर आएर भने, ‘टिकटका लागि काठमाडौंसम्म नदौडिनू । मलाई भनेर हुन्न । वडाबाटै नाम सिफारिस गर्न लगाउनू ।’

अस्थिर मतदाता, चुनावका बेला जनप्रतिनिधिसँग बढ्दो असन्तुष्टि, मत खरिदबिक्री र अशिक्षित मतदातालाई जतातिर पनि तान्नसक्ने नेताहरूको खुबीका कारण चुनावका बेला मधेस उर्वर भूमि बन्छ । मधेस प्रदेशमा १८ प्रतिशत दलित र १२ प्रतिशत मुस्लिमको जनसंख्या छ । यी दुई समुदायको मत निर्वाचनमा सधैं विभाजित हुन्छ । मधेस मामिलाका जानकार विजय मिश्रले भने, ‘मधेसी मतदाता चुनावलाई पर्व–उत्सवजस्तै ठान्छन् । त्यसैले चुनावमा यो भूगोल बढी तरंगित रहन्छ ।’

मधेसमा १ सय ३६ स्थानीय तह छन् । मधेस मामिलाका जानकार मिश्रले भने, ‘मधेसमा बढी मत व्यक्तिकेन्द्रित हुन्छ । ऊ जता गयो, उसका मतदाता त्यतै हिँडिदिन्छन् । यसले चुनावका बेला राजनीतिक दौडधूप तेज हुन्छ ।’ कान्तिपुरबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर

spot_img
spot_img

ताजा समाचार