तनहुँ – प्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान पाँच दलीय गठबन्धनलाई चुनावसम्म बचाएर लैजानुपर्ने अहिलेको आवश्यकता रहेको बताउनुभएको छ ।
नेपाली कांग्रेस तनहुँले आज
बिहीवार पार्टी कार्यालयमा आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले लोकतन्त्र बचाउनका लागि पनि गठबन्धन आवश्यक रहेको उल्लेख गर्नुभयो ।
प्रधानमन्त्री देउवाले लोकतन्त्र र प्रजातन्त्र बचाउनका लागि गठबन्धनका दलको योगदान रहेको उल्लेख गर्दै भन्नुभयो, ‘स्थानीय चुनावमा मात्र नभइ प्रतिनिधि सभा र प्रदेश सभाको चुनावसम्म नै गठबन्धनलाई लैजानुपर्छ । उहाँहरूलाई पनि उचित स्थान दिनुपर्छ ।’ प्रधानमन्त्री देउवाले आउँदो वैशाख ३० गते हुने स्थानीय तह चुनावमा पार्टीलाई जिताउन एकढिक्का भएर लाग्न आग्रह गर्नुभयो ।
तनहुँ आदिकवि भानुभक्तको जिल्ला भएकाले यसको छुट्टै महत्त्व रहेको बताउँदै उहाँले कांग्रेसका लागि पनि तनहुँ उर्वरभूमि रहेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्रको आन्दोलनमा तनहुँको भूमिका सदैव उच्च रहेको उल्लेख गर्नुभयो । उहाँले सबै चुनावमा तनहुँमा कांग्रेसले जित्नुपर्ने धारणा राख्नुभयो ।