२०८२ बैशाख ३१ जनकपुरधाम : मधेश प्रदेशको खेलकुद क्षेत्रलाई नयाँ दिशा र ऊर्जा दिनका लागि मधेस प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य सचिव शिवजी गुप्ता बुधबार भेटघाट तथा छलफल गरेका छन।
जनकपुरधामस्थित कबर्ड हलमा विभिन्न खेलका प्रशिक्षकहरुले खेलकुद क्षेत्रका विविध समसामयिक चुनौतीबारे सचिव गुप्ताको ध्यानाकर्षण गराएका थिए। कार्यक्रममा खेलाडी तथा प्रशिक्षकका हकहित, पूर्वाधारको अवस्था, संरचनागत कमजोरी, बजेट अभाव र दीर्घकालीन रणनीतिका विषयमा गहन छलफल भएको थियो।
सदस्य सचिव शिवजी गुप्ताले प्रदेशको खेलकुद क्षेत्रको समग्र विकासलाई आफ्नो प्रमुख कार्यभारको रूपमा लिने प्रतिबद्धता जनाउँदै पारदर्शिता, समन्वय र दीर्घकालीन योजना मार्फत मधेशलाई खेलकुदको ‘हब’ बनाउने रणनीतिमा अघि बढ्ने बताए। “सबै खेल संघहरूको सुझावलाई प्राथमिकतामा राखी समावेशी र लक्ष्यअनुसारको कार्य योजना बनाइनेछ उनले बताए।
भेटघाट कार्यक्रममा प्रशिक्षकहरुले पनि खेल पूर्वाधारको कमजोरी, प्रशिक्षक तथा खेलाडीका लागि आवश्यक सुविधा तथा तालिमको अभाव, बजेटको न्यूनता र करिअर विकासमा चुनौतीबारे आवाज उठाए। वरिष्ठ कराते प्रशिक्षक जिवछ भगतले मधेशका धेरै जिल्लामा खेलाडीमा प्रतिभा रहे पनि संरचनाको कमीले उनीहरू अघि बढ्न नसकेको बताए।
मधेस प्रदेशमा रहेका खेलकुद संघका प्रतिनिधिहरूले परिषद् र संघसंस्थाबीचको सहकार्य पारदर्शी र उद्देश्यपरक बनाउनेतर्फ जोड दिए। सहभागीहरूद्वारा बजेट निर्माणदेखि कार्यान्वयनसम्म खेल संघहरूको प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने माग समेत गरिएको थियो।
कार्यक्रमपश्चात सचिव गुप्ताले जनकपुरधामस्थित कबर्ड हलमा विभिन्न खेलका प्रशिक्षक तथा कर्मचारीहरूसँग छुट्टै भेटघाट गरी मैदानको अवस्था, जनशक्ति, आवश्यक खेलकुद सामग्री तथा अन्य समस्याबारे जानकारी लिएका थिए।
यस प्रकारको सहकार्यले मधेश प्रदेशको खेलकुद क्षेत्रमा दीर्घकालीन सुधार ल्याउने विश्वास लिइएको छ।