२०८१ बैशाख २५ जनकपुरधाम : सामाजिक सञ्जालको दुरुपयोग गरी अनलाइनमार्फत ठगी गर्दै आएका सात जना धनुषा प्रहरीले पक्राउ गरेका छन्।
उनीहरूले फेक एकाउन्ट र पेजमार्फत सस्तोमा मोबाइल, मोटरसाइकल लगायतका सामान उपलब्ध गराउने भन्दै दुई करोड ६३ लाख रुपैयाँभन्दा बढी रकम ठगी गरेका थिए।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक नरहरि रेग्मीका अनुसार पक्राउ पर्नेहरूमा धनुषाधाम नगरपालिका–१ का २३ वर्षीय सुरज साह, सर्लाही बरहथवा–७ का २२ वर्षीय नितेशकुमार साह, गौशाला नगरपालिका–१ का २२ वर्षीय रोशन साह, २१ वर्षीय सुधीर कुमार महतो, १९ वर्षीय अमित साह, क्षीरेश्वरनाथ नगरपालिका–२ का २२ वर्षीय श्यामसुन्दर महरा र २० वर्षीय रामकुमार महरा रहेका छन्।
पक्राउ परेकाहरूले फेसबुकमा २१ वटा फेक एकाउन्ट तथा पेजमार्फत सस्तोमा सामान बिक्रीको प्रचार गर्दै पीडितबाट अग्रिम भुक्तानी असुल्ने र त्यसपछि सम्पर्कविहीन हुने गरेका थिए। प्रहरीले उनीहरूको साथबाट १० थान मोबाइल बरामद गरेको छ। ती मोबाइलहरू प्रयोग गरेर उनीहरूले १८७ वटा विभिन्न बैंक तथा वालेट खाता सञ्चालन गरेको अनुसन्धानमा खुलेको छ।
‘उनीहरूले सामाजिक सञ्जालको माध्यमबाट सामानको लोभ देखाई रकम लिँदै सम्पर्क काट्ने गरेका थिए’, प्रहरी उपरीक्षक रेग्मीले बताए। ‘अनुसन्धानका क्रममा थप संलग्न व्यक्तिहरूको पहिचान भइरहेको छ।’
हाल उनीहरूमाथि ठगीसम्बन्धी कसुरमा जिल्ला अदालत धनुषाबाट म्याद थप गरी अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
प्रहरीले अनलाइन कारोबार गर्दा सतर्क रहन आम नागरिकलाई आग्रहसमेत गरेको छ।