२०८२ वैशाख २९ जनकपुरधाम : धनुषा जिल्लाको मिथिला विहारी नगरपालिका–८, ठेरा कचुरीमा आयोजित एक बिहे भोजमा खाजापछि सयभन्दा बढी व्यक्ति बिरामी परेका छन्। खाजामा विषादी मिसिएको आशंका गरिएको छ।
जनकपुर उपमहानगरपालिका-२३ बिन्धीबाट जन्ती लिएर गएका पाहुनाहरू सहित ठेरा कचुरी निवासी नरेश महराको छोरीको विवाह भोजमा सहभागी अधिकांश मानिसहरू खाजा खाएलगत्तै बिरामी परेका हुन्। खाजामा बुनियाँ, रसबरी लगायतका परिकार राखिएको थियो।
घटनाबारे जानकारी दिँदै जिल्ला जनस्वास्थ्य कार्यालय, धनुषाका प्रमुख उमेश यादवले भने खाजामै प्वाइजन भएर बिरामी परेको हाम्रो अनुमान छ। घटनास्थल पुगेर हामीले खाजाको स्याम्पल ल्याएका छौं। ल्याबमा परीक्षण गरेर के कारणले भएको हो भन्ने पुष्टि हुन्छ।
हालसम्म ४५ जना भन्दा बढी बिरामी जनकपुरस्थित प्रादेशिक अस्पतालमा भर्ना गरिएको छ भने अन्य बिरामीहरू स्थानीय क्लिनिक र स्वास्थ्य संस्थाहरूमा उपचाररत छन्। केही बिरामी भने सामान्य उपचारपछि घर फर्किसकेका छन्।
प्रारम्भिक लक्षणमा पेट दुख्ने, बान्ता हुने, अत्यधिक कमजोरी महसुस हुने लगायतका समस्या देखिएको बताइएको छ। विवाहको खुसी माहोल एक्कासी दुःखद परिवेशमा परिणत भएपछि स्थानीयवासीहरूबीच त्रास फैलिएको छ।
जनस्वास्थ्य कार्यालयले घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।