१ साउन , रोल्पा। रोल्पामा जंगली च्याउ खाँदा मृत्यु हुनेको संख्या तीन पुगेको छ । गत मंगलबार जंगलमा पाइने विषालु च्याउ खाएर बिरामी भएका पूर्वी रोल्पाको लुंग्री–५ बुझिङ गाउँका एकै परिवारका तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मंगलबार लुंग्रीको बुझिङ कालोपहरका दुर्गे गुरुङका श्रीमती ३३ वर्षीया भीमा गुरुङ, छोराहरू ११ वर्षीय सुशील र ६ वर्षीय प्रेमले जंगली च्याउ घरमा लिएर तरकारी खाएका थिए । च्याउ खाएर बिरामी भएपछि अर्को दिन उनीहरूलाई स्थानीय स्वास्थ्य संस्थामा प्राथमिक उपचार गरेर थप उपचारका लागि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा पुर्याएइको थियो ।
सबै जनाको उपचार भइरहेकामा बिहीबार सानो छोरा प्रेमको, शनिबार ठूलो छोरा सुशीलको र आइतबार आमा भीमा गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ । च्याउ खाएर गम्भीर बिरामी भएका उनीहरूलाई उपचारका लागि बुटवल लगे पनि बचाउन नसकिएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख डीएसपी श्याम सारु मगरले बताए ।
यसैगरी च्याउ खाएरै बिरामी भएका लुंग्रीकै अन्य ११ जनाको उपचार भइरहेको प्रहरीले जनाएको छ । च्याउ खाएरै मंगलबार नै बिरामी भएका सबैलाई प्राथमिक स्वास्थ्य उपचारपछि घरमा पठाइएको छ । च्याउ खाएर बिरामी भएका बुझिङ गाउँका ५ जनामा टाउको दुःख्ने, उल्टी हुने समस्या देखिएपछि आइतबार बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा पठाइएको लुंग्री गाउँपालिकाका अध्यक्ष भरत थापाले बताए । ‘उनीहरूको अवस्था सामान्य भए पनि असर कायमै भएकाले बुटवल पठाइएको हो । त्यहाँ थप उपचारको व्यवस्था मिलाइएको छ,’ उनले भने । उनले च्याउ खाने चलन भएकाले बर्सेनि बिरामी हुने समस्या यथावत रहेको बताए ।