Home समाचार सिंहदरबार र नेपालको नक्सा जलाउने घटना सार्वभौमसत्ता माथिको प्रहार : पूर्वप्रधानमन्त्री केपी...

सिंहदरबार र नेपालको नक्सा जलाउने घटना सार्वभौमसत्ता माथिको प्रहार : पूर्वप्रधानमन्त्री केपी शर्मा ओली

0

२०८२ असोज ३,काठमाडौं :- संविधान दिवसको अवसरमा पूर्वप्रधानमन्त्रीले शुक्रबार देशवासीलाई सम्बोधन गर्दै नेपालको संविधान र राष्ट्रिय सार्वभौमसत्तामाथि गम्भीर खतरा उत्पन्न भएको चेतावनी दिएका छन्। उनले हालै सम्पन्न संविधान दिवसलाई ७० वर्षको लामो संघर्षपछि जनताले आफैं बनाएको संविधानको ऐतिहासिक उपलब्धि भन्दै यसको रक्षा सबै नेपालीको कर्तव्य भएको उल्लेख गरे।

सम्बोधनको सुरुवातमा उनले २०७२ सालमा जारी संविधानलाई नेपाली जनताले आफैंका लागि लेखेको भविष्यको रेखा बताउँदै त्यस निर्माणका चुनौतीहरू सम्झाए। “नाकाबन्दीको कठोर परीक्षामाझ पनि हामीले संविधान जारी गरेर राष्ट्रको सार्वभौमसत्ता सुरक्षित राखेका थियौं,” उनले स्मरण गरे।

पूर्वप्रधानमन्त्रीले संविधान जारीपछि नेपाललाई भूजडित बनाउने लक्ष्यअनुसार उत्तर-दक्षिण यातायात संरचना निर्माण, उत्तरी छिमेकीसँग पारवहन सम्झौता, अर्थतन्त्रको मजबुती जस्ता कार्य अघि बढाइएको बताए।

तर हालै जेन–जीको शान्तिपूर्ण भनिएको प्रदर्शनमा घुसपैठ गरी हिंसा फैलाइएको भन्दै उनले गहिरो दुःख व्यक्त गरे। “सरकारले प्रदर्शनकारीमाथि गोली हान्ने आदेश दिएको थिएन। प्रहरीसँग नभएका स्वचालित हतियार प्रयोग भएको छानबिन हुनुपर्छ,” उनले भने। घटनामा ज्यान गुमाएका युवाप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरे।

उनले सिंहदरबार, नेपालको नक्सा, न्यायालय, व्यापारिक प्रतिष्ठान तथा राजनीतिक दलका कार्यालयहरूमा आगजनी र तोडफोड हुनु राष्ट्रिय सार्वभौमसत्तामाथिको प्रत्यक्ष प्रहार भएको दाबी गरे। “प्रधानमन्त्रीबाट मेरो राजीनामापछि सिंहदरबार र देशको निशानी जलाइयो। यो केवल सरकारविरुद्धको आक्रोश मात्र होइन, नेपालको अस्तित्वमाथिको हमला हो,” उनका शब्द थिए।

इतिहासको सन्दर्भ दिँदै उनले युवाहरुलाई काजी भीम मल्लको उदाहरण सम्झाउँदै “यथार्थभन्दा बाहिर गएर असन्तोष फैलाउँदा पछुताउनु बाहेक केही रहँदैन” भने।

पूर्वप्रधानमन्त्रीले सबै पुस्ताका नेपालीलाई संविधान र सार्वभौमसत्ताको रक्षा गर्न एकजुट हुन अपिल गर्दै सम्बोधन समापन गरे। “सार्वभौमसत्ता हाम्रो अस्तित्व हो, संविधान हाम्रो स्वतन्त्रताको कवच हो। हाम्रो एकताले मात्र देशलाई वर्तमान संकटबाट जोगाउन सक्छ,” उनले जोड दिए।

NO COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Exit mobile version