Home समाचार जनकपुरमा शहिद दुर्गानन्द झाको सालिकमा दुर्व्यवहार गर्ने व्यक्ति पक्राउ

जनकपुरमा शहिद दुर्गानन्द झाको सालिकमा दुर्व्यवहार गर्ने व्यक्ति पक्राउ

0

२०८२ जेष्ठ ३०,जनकपुरधाम:-

शहिद दुर्गानन्द झाको सालिकमाथि चप्पल प्रहार गरी अपमान गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउपर्ने व्यक्ति धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका -२३, लादोनिवासी ४४ वर्षीय रतन महतो रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

प्रहरीका अनुसार जेठ २८ गते साँझ रतन महतोले जनकपुर-२३ मा रहेको शहिद झाको सालिकमा चप्पल प्रहार गरेका थिए। सालिकमा भएको अपमानको विषयमा प्रहरीलाई विशेष सूचना प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको विशेष अनुसन्धान टोलीले घटनाको अनुसन्धान थालेको थियो।

घटनापछि फरार रहेका रतन महतोलाई प्रहरीको टोलीले जेठ २९ गते बिहान ९:०० बजे आफ्नै गाउँको आसपास घुमफिर गरिरहेको अवस्थामा पक्राउ गरेको हो। उनलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा ल्याई थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता डिएसपी वरुण सिंहले जानकारी दिए।

शहिदको सम्मानमा निर्मित सालिकमाथि भएको यस्तो दुर्व्यवहारप्रति सर्वसाधारण र स्थानीय तहमा तीव्र आक्रोश छाएको छ। घटनाको गम्भीरताका आधारमा आवश्यक कानुनी प्रक्रिया अघि बढाइने प्रहरीको भनाइ छ।

डिएसपी सिंहले पत्रकार सम्मेलनमार्फत वर्षौंअघि देश र जनताको लागि बलिदान दिएका शहिदहरुको अपमान सह्य नहुने र दोषीमाथि कानुनी कठोरता अपनाइने स्पष्ट पारे।

शहिद दुर्गानन्द झा नेपाली इतिहासका पहिलो राजनीतिक शहिदमध्येका एक हुन् । जसको सम्झनामा जनकपुरधाममा सालिक स्थापना गरिएको हो।

NO COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Exit mobile version