Home समाचार युवा उद्यमीलाई प्रवर्द्धन गर्नेगरी बजेट रहेको -अर्थमन्त्री महत

युवा उद्यमीलाई प्रवर्द्धन गर्नेगरी बजेट रहेको -अर्थमन्त्री महत

0

९ असार, काठमाडौँ । अर्थमन्त्री प्रकाशशरण महतले युवा उद्यमीहरूलाई प्रवर्द्धन गर्नेगरी अहिलेको बजेटमा विभिन्न व्यवस्था गरिएको बताएका छन् ।

उनले डिजिटल उद्यमको क्षेत्रमा संलग्न युवाहरूलाई विभिन्न सहुलियत दिएर देश छोड्नु नपर्ने वातावरण बनाउन आफूहरूले पहल गरिररहेको भनाइ राखे ।

काठमाडौंमा शनिबार आयोजित नेपाल डिजिटल कन्क्लेभलाई सम्बोधन गर्दै महतले अबको भविष्य डिजिटल र ग्रीन अर्थतन्त्र भएको कुरामा आफूहरू सचेत रहेको उल्लेख गरे । उपलब्ध डिजिटल प्रविधिलाई कसरी धेरैभन्दा धेरै जनतासम्म सर्वसुलभ गराउने र देशभित्र र बाहिर रहेका सूचना प्रविधीकर्मीहरूमार्फत कसरी नेपाललाई डिजिटल उत्पादनहरूको हब बनाउने भन्ने दुईवटा प्राथमिकताहरू अहिले सरकारकोरहेको उनले बताए ।

आफू फुलब्राइट छात्रवृत्तिमा पढ्न जाँदा अमेरिकाले कसरी आफ्नो देशमा नवप्रवर्तन र डिजिटल पूर्वाधारहरू विकास गर्दै थियो भन्ने अनुभव सुनाउँदै मन्त्री महतले कुनै पनि देशले सबै क्षेत्रमा उत्तिकै प्रगति गर्न नसक्ने र नेपालले डिजिटल तथा ग्रीन अर्थतन्त्रमा जोड दिएर व्यापार घाटा कम गर्ने काम गर्नुपर्ने विचार व्यक्त गरे ।

‘हामी चाहन्छौं, नेपालमा जुन डिजिटल उद्यमशीलतामार्फत निर्यातसमेत गर्न सक्नेगरी भरपूर सम्भावना छ, त्यसलाई औपचारिकीकरण गरेर तथा करमा सहुलियत लगायतका प्रोत्साहन दिएर अघि बढाउन पहल गर्ने हाम्रो योजना रहेको छ,’ महतको भनाइ थियो, ‘नेपालमै बसेर सफ्टवेयर लगायतका डिजिटल सेवा निर्यात गर्नेहरूलाई आवश्यक परेमा विदेशसम्म समेत सेवा र संरचना विस्तारका लागि हामीले आवश्यक व्यवस्था गर्दै लगेका छौं । काम गर्नकै लागि यहाँ अप्ठेरो भएर देश छोडेर हिँड्न नपरोस् भन्ने गरी आवश्यक स्पेस खुला गर्नेगरी हामीले काम अगाडि बढाएका छौं ।’

मन्त्री महतले नेपालमा प्रचूर सम्भावना रहेका पर्यटन र कृषि क्षेत्रमा व्यवसाय गर्नेहरूले पनि डिजिटल प्रविधिको भरपूर उपयोगमार्फत बजार र ग्राहकसम्म पहुँच विस्तार गर्नसक्ने संभावनामा पनि विशेष जोड दिएका थिए । उनले डिजिटल अर्थतन्त्रमा रहेका संभावनालाई वास्तविकतामा परिणत गर्दै लान सके व्यापार घाटा कम गर्न र रोजगारी सिर्जना गर्नमात्र नभई राजस्व र घरेलु उत्पादनको आधार पनि बढाउन सकिने विचार व्यक्त गरेका थिए ।

‘हामीसँग भएका संभावनालाई व्यवहारिकरूपले अघि बढाउन सके हाम्रो अर्थतन्त्र अहिलेको जस्तो अवस्थामा रहिरहनु पर्दैन,’ महतले अगाडि भने, ‘राजनीतिक अस्थिरता तथा अन्य सीमितताले गर्दा हामीले जे हासिल गरिसक्नु पर्ने थियो, त्यो गर्न नसकेको सत्य हो । सामाजिक सञ्जाल र अन्य सामाजिक जमघटमा हुने निराशाका स्वरहरूलाई कम गरेर नेपालभित्रै केही गर्न सकिन्छ भन्ने आशा जगाउने गरी काम गर्नुपर्ने बेला आएको छ ।’

महतले नेपालीहरूले संसारभर पुगेर आफ्नो कुशलताको परिचय दिइसकेकोले त्यही क्षमता आफ्नै देशमा प्रदर्शन गर्न हिच्किचाउनु नपर्ने पनि आग्रह गरेका थिए ।

NO COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Exit mobile version