राकेश साह
असार ६ गते , जनकपुरधाम ।
राष्ट्रिय समाचार समितिको अध्यक्षमा धर्मेन्द्र झा नियुक्त भएका छन् ।
नवनियुक्त अध्यक्ष झा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष हुन् । यसअघिका अध्यक्ष हरिहर अधिकारी ’श्यामल’ ले चारवर्षे कार्यकाल पूरा गरेसँगै उक्त पद खालि थियो । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई अध्यक्षमा नियुक्त गरेको हो ।
वरिष्ठ पत्रकार झा विगत तीन दशकदेखि सक्रिय पत्रकारितामा क्रियाशील छन् । २०४४ सालमा जनकपुरबाट प्रकाशित हुने जन–आकाङ्क्षा र विदेह साप्ताहिकमार्फत औपचारिक पत्रकारिता थालेका झा हिमालय टाइम्स दैनिकको कार्यकारी सम्पादक, अन्नपूर्ण पोस्ट दैनिकको समाचार सम्पादक तथा डेपुटी–एडिटरसहित हिमालय टेलिभिजन, नव विचार साप्ताहिक, नयाँ पाइला अनलाइन, विकास टाइम्स, अप्पन मिथिला, नेपाल प्रज्ञा प्रतिष्ठानको मैथिली प्रकाशन आङनको सम्पादकीय नेतृत्व गरिसकेका छन् ।
फ्रिडम फोरमका महासचिव झा २०६५–०६८ मा नेपाल पत्रकार महासङ्घको केन्द्रीय अध्यक्ष थिए । पत्रकारिता, सूचनाको हक, सङ्घीयता, संवादलगायत विषयका प्रशिक्षक झाका पत्रकारिता तथा साहित्यिक विषयमा अनेक कृति प्रकाशित छन् ।