Home समाचार आर्थिक बाह्य क्षेत्र व्यवस्थापन गर्न नसके अर्थतन्त्रमा थप चुनाैती छ : गभर्नरअधिकारी

बाह्य क्षेत्र व्यवस्थापन गर्न नसके अर्थतन्त्रमा थप चुनाैती छ : गभर्नरअधिकारी

0

  चैत २५, काठमाण्डाै – नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालको अर्थतन्त्रमा बाह्य क्षेत्र व्यवस्थापन गर्न नसके थप चुनौती रहेको बताउनुभएको छ ।

आज शुक्रवार नेपाल राष्ट्र बैंकले आयोजना गरेको ’नेशनल कन्फ्रेन्स अन इकोनमिक्स एन्ड फाइनान्स’ विषय कार्यक्रममा बोल्दै गभर्नर अधिकारले अर्थतन्त्रमा बाह्य जोखिम कायम रहेकाले आयातलाई प्रतिस्थापन गर्न नसकेमा अर्थतन्त्रमा चुनौती कायम रहने बताउनुभएको हो । उहाँले आयात बढ्दै जाने र त्यसअनुसारको विदेशी मुद्रा आर्जन घट्दै गएकाले देशको अर्थतन्त्रमा बाह्य क्षेत्रको स्थायीत्व प्रमुख चुनौतीको रूपमा देखिएको धारणा राख्नुभयाे ।

गभर्नर अधिकारीले भन्नुभयो, ‘पछिल्लो समय पेट्रोलिय पदार्थको मूल्य वृद्धिले मूल्य वृद्धिमा चाप पर्ने अवस्था रहेको छ ।आयातमा भएको उच्च वृद्धि तथा विदेशी मुद्रा अप्रवाह स्रोतको सीमितताले गर्दा बाह्य क्षेत्रमा दबाब सृजना भएको छ । देशमा कोरोना प्रभाव कम भएसँगै भएको कर्जा विस्तार, बढ्दो आयात तथा पर्यटनजन्य आम्दानीमा आएको कमीका कारण चालु खाता तथा शाेधानान्तर स्थिति चालु आर्थिक वर्षको सुरुवातदेखि नै निरन्तर रूपमा घाटामा गएको स्थिति छ । यस्तो अवस्थामा बाह्य क्षेत्र व्यवस्थापन हामी सबैका लागि चुनौतीपूर्ण बन्दै गएको छ ।’

त्यस्तै गभर्नर अधिकारीले नेपालमा बाह्य क्षेत्रको प्रवृत्ति केलाउँदा विगत साढे चार दशकदेखि नै बाह्य व्यापार घाटामा रहेको बताउनुभयो । उहाँले चालु आर्थिक वर्षको सुरुवातदेखि शाेधानान्तर स्थिति तथा चालु खाता घट्दै गएको र आठ महिनाको अवधिमा कुल वस्तुको निर्यात ८२ दशमलव ९ प्रतिशतले बढेर एक सय ४७ अर्ब ७५ करोड रुपैयाँ पुगेको जानकारी दिनुभयाे । उहाँले आयात प्रतिस्थापन गर्न नसकेको अवस्थामा आउँदा दिनमा समेत बाह्य क्षेत्र स्थायित्वको जोखिम कायमै रहने बताउनुभयो । बाह्य क्षेत्र व्यवस्थापन गर्न नसक्नुको अवस्था श्रीलङ्काको अवस्था हेरेर हामीले पाठ सिक्नुपर्ने गभर्नर अधिकारीले उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘नेपालमा बाह्य क्षेत्रको प्रवृत्ति केलाउँदा विगत साढे चार दशकदेखि नै बाह्य व्यापार घाटामा रहेको पाइन्छ । त्याे घाटा केही अपवाद वर्षबाहेक लगातार रूपमा बढे पनि समग्र बाह्य क्षेत्रको स्थिति धेरै जसो वर्ष बचतमा रहने गरेको छ । निर्यातको आधार साँघुरो भएका कारण निर्यातमा जम्मा ६७ अर्बले मात्रै वृद्धि भएकोमा आयात तीन सय ६५ अर्ब विस्तार भइ व्यापार घाटा झन्डै दुई सय ९८ अर्ब रुपैयाँले वृद्धि भएको अवस्था छ । चालु आर्थिक वर्षको सुरुवातदेखि घट्न थालेको रेमिट्यान्स माघसम्म पनि त्यस्तै रह्यो । पछिल्लो समय नेपालको बाह्य रोजगारीमा भएको उल्लेख्य वृद्धिले भने रेमिट्यान्समा सुधार भइ चालु खाता तथा शाेधानान्तर स्थिति सुधार हुने देखिन्छ । तथापि अन्तर्राष्ट्रिय क्षेत्रमा देखिएको रुस–युक्रेन युद्ध जस्ता गतिविधिमा सुधार आउन धेरै समय लागेमा मूल्यमा परेको दबाब केही थप समयसम्म जोखिममा नै रहने देखिन्छ । आयात प्रतिस्थापन गर्न नसकेको अवस्थामा आउँदा दिनमा समेत बाह्य क्षेत्र स्थायित्वको जोखिम कायमै रहने देखिन्छ । दीर्घकालीन रूपमा निर्यात क्षेत्र बढाउनुपर्ने देखिन्छ । बाह्य क्षेत्र व्यवस्थापन गर्न नसक्नुको अवस्था श्रीलङ्काको अवस्था हेरेर देख्न सक्छौँ ।’

गभर्नर अधिकारीले अत्यधिक आयातमुखी भइरहेको अर्थतन्त्रलाई उत्पादनमुखी बनाइ निर्यात प्रवर्द्धन र आयात प्रतिस्थापनकाे दिशामा देश नलैजाने हो भने कुनै पनि समय बाह्य स्थायित्वका जोखिम पर्न सक्ने चेतावनी दिनुभएको छ ।

NO COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Exit mobile version