चैत २४, जनकपुरधाम ।
मंगलबारदेखि शुरु भएको चैती छठ पर्वको तेश्रो अर्थात आज मुख्यदिन अस्ताउँदै गरेको सूर्यलाई अर्घ दिइएको छ ।
आस्था एवं निष्ठापूर्वक मनाइने छठको तेस्रो तथा मुख्य दिन बिहिवार छठ घाटमा ब्रतालुहरुले अस्ताउँदै गरेको सूर्यलाई अर्घ दिएका छन् ।
छठको मुख्यदिन भएकोले पोखरीहरुलाई सजाइएको थियो भने जनकपुरको गंगासागर ,अंर्गजा सागर, धनुष सागर सहितका विभिन्न जलासयहरुमा छठ पर्व गर्ने तथा हेर्ने दर्शनार्थीहरुको घुँइचो लागेका थिए ।
शुक्रबार उदाउँदै गरेको सूर्यलाई अर्घ दिएपछि चैती छठ सम्पन्न हुनेछ ।
कार्तिकमा मनाईने छठ पर्व जतिको संख्यमा श्रद्धालुभक्तजनहरु नभए पनि विस्तारै चैती छठ पर्व गर्नेहरुको संख्या बढ्दै गएको छ । चार दिनसम्म मनाईने यस पर्वको पहिलो दिन नुहाएर चोखो खाने चलन छ भने पञ्चमीका दिन खरना पर्व मनाईन्छ ।
खरनाको अवसरमा ब्रतालुहरुले निराहार उपवास बसि साँझपख खष्ठी देवीलाई प्रसाद चढाई खाने गर्दछन् । प्रसादमा खीर ,केरा, दुध एवम् विभिन्न प्रकारको फलफुल चढाईने गरिन्छ ।
पर्वको तेश्रो दिन अस्ताउदो सूर्यलाई अर्घ दिन ब्रतालुहरुले साँझ सूर्य अस्ताउने प्रतिक्षा गर्दछन् । त्यस क्रममा सूर्य अस्ताउनु एक घण्टा पूर्व देखिनै ब्रतालुहरु पोखरीमा प्रवेश गरि खष्ठीमाताको ध्यान गर्दै सूर्य देवलाई अर्घ दिने गर्दछन् ।
अर्घमा मुला, उँखु,भण्टा, ठकुवा, भुसवा ,केरा,नरिवल लागायतका सामग्रीहरु चढाउने गरिन्छ । सन्ध्या अर्घ पश्चात रात भरि ब्रतालुहरु जागरण बसि भोली पल्ट चैत्र सुक्ल सप्तमी तिथीका दिन उदाउदो सूर्यलाई अर्घ दिई पर्वको समापन गर्ने चलन छ ।
चैती छठ पर्व गर्नाले चिताएको मनोकामना पुरा हुने तथा चर्म रोग निको हुने र मानसिक प्रसन्नता प्राप्त हुने जन विश्वास रहि आएको छ ।