Home समाचार मिथिला मध्यमा परिक्रमा आज जनकपुरधाममा

मिथिला मध्यमा परिक्रमा आज जनकपुरधाममा

0

जनकपुरधाम, चैत ३ गते ।

तराई मधेशको बैभन्दा ठूलो तथा लामो धार्मिक पदयात्रा १५ दिने मध्यमा मिथिला परिक्रमा आज (बिहीबार) जनकपुरधाम आइपुग्दै छ ।

बुधबार १४औँ विश्राम स्थल बिशौलमा रात्रि विश्रामपछि परिक्रमा यात्री आज बिहानैदेखि जनकपुरधाम आउन लागेका छन् ।परिक्रमा तीर्थ यात्री आज बिहानैदेखि जनकपुरधाम आउने क्रम जारी छ । आज साँझसम्म सबै परिक्रमा यात्री जनकपुरधाम आइ पुगेर बिश्राम गर्ने छन् ।
बिशौल तथा जनकपुरधामको दूरी सबैभन्दा लामो हुने भएकाले तीर्थयात्रीहरू बढी मात्रामा थकित हुने गरेका छन् ।

भोलि बिहानै अन्तरगृह अर्थात पञ्चकोशी परिक्रमा गरेपछि विधिवत समापन हुने छ ।
त्रेता युगमा मिथिलाका राजा जनककी पुत्री माता सीतासँग अयोध्याका राजा दशरथका ज्येष्ठ सुपुत्र मर्यादा पुरुषोत्तम भगवान् रामसँग शुभ विवाह भएपछि परिक्रमा मार्ग भएर भ्रमण गरेको स्मरणमा मध्यमा मिथिला परिक्रमा लाखौँ तीर्थयात्रीहरू सहभागी भएर खाली खुट्टा श्रद्धासहित भ्रमण गर्ने गर्दछन् ।

नेपाल तथा भारतको साझा सांस्कृतिक महत्त्वको मध्यमा मिथिला परिक्रमा दुवै देशका १५ पडाव स्थलमा विश्राम गर्दै १५ दिन लगाएर नेपाल भारतको १ सय ३३ किलोमिटरको दूरी भजन कीर्तनसहित तय गर्ने गरेका छन् ।

परिवारजनको शान्ति, समृद्धि, सुख, ऐश्वर्य प्राप्तिसहित अन्त्यमा मोक्ष प्राप्ति हुने जनविश्वासका साथ कतिपयले पटक पटक तथा केहीले एक पटक भए पनि मध्यमा मिथिला परिक्रममा सहभागी हुनुपर्ने धार्मिक मान्यताका साथ सहभागी हुने गरेका छन् ।

परिक्रममा सहभागीहरूलाई परिक्रमा मार्ग तथा हरेक पडाव स्थलमा धार्मिक मेला, कथा प्रवचनका साथै भक्तजनहरूले निस्वार्थ रुपमा विभिन्न प्रकारका सेवा तथा सुविधाहरू तीर्थयात्रीहरूलाई प्रदान गर्ने गरेका छन् ।

फागुन शुक्ल पक्ष प्रतिपदाबाट सुरु भएको मध्यमा मिथिला परिक्रमा पूर्णिमाका दिन अन्तर गृह परिक्रमा सकेपछि सम्पन्न हुन्छ । अन्तिम दिन जनकपुरधामको पञ्चकोशी अन्तगृह परिक्रमा नगरेको खण्डमा १५ दिनको परिक्रमाको फल प्राप्त नहुने जनविश्वासका साथ अनिवार्य रुपमा तीर्थ यात्रीहरू सहभागी हुने गरेका छन् ।

NO COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Exit mobile version