Home समाचार जेन जी आन्दोलनबारे माओवादी केन्द्र अध्यक्ष ‘प्रचण्ड’को वक्तव्य

जेन जी आन्दोलनबारे माओवादी केन्द्र अध्यक्ष ‘प्रचण्ड’को वक्तव्य

0

काठमाडौं, २६ भदौ २०८२ :-  नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले हालै देशभरि भड्किएको जेन–जी पुस्ताको आन्दोलन र त्यसक्रममा भएका घटनाबारे औपचारिक वक्तव्य जारी गरेका छन्।

वक्तव्यमा प्रचण्डले आन्दोलनका क्रममा सहादत प्राप्त गरेका युवाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना र घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्। उनले भ्रष्टाचारविरुद्ध, सुशासन र सामाजिक न्यायका पक्षमा जेन–जी पुस्ताले थालेको आन्दोलनलाई उचित ठहर गर्दै सरकारको ‘नरसंहारपूर्ण दमन’प्रति घोर आपत्ति जनाएका छन्।

तर, आन्दोलनकै क्रममा सार्वजनिक संरचना, सिंहदरबार, सर्वोच्च अदालतदेखि निजी आवास, होटल, बैंक र राजनीतिक दलका कार्यालयमा भएको आगजनी र तोडफोडलाई भने प्रचण्डले “जेन–जी पुस्ताको चरित्रसँग मेल नखाने र अकल्पनीय” भन्दै अस्वीकार गरेका छन्। उनका अनुसार, “त्यस्ता घटनामा अवाञ्छित तत्वहरूको घुसपैठ छ, जसको उच्चस्तरीय न्यायिक छानबिन हुनैपर्छ।”

प्रचण्डले स्मरण गराए अनुसार, एमाले–कांग्रेस गठबन्धन बनेको दिनदेखि नै उनले संसद् र सार्वजनिक कार्यक्रममार्फत सरकारलाई गलत बाटोमा नहिँड्न सचेत गराउँदै आएका थिए। तर, दुई तिहाईको अहंकारले सरकार संवेदनहीन बनेको, सामाजिक सञ्जाल प्रतिबन्ध र दमनकारी नीतिहरूले नै आन्दोलनको स्वरूप विस्फोटक भएको उनको भनाइ छ।

वक्तव्यमा उनले २०६२/६३ को जनआन्दोलन, जनयुद्ध र विभिन्न समुदायको बलिदानबाट प्राप्त लोकतान्त्रिक गणतन्त्रलाई उल्ट्याउने षड्यन्त्रप्रति चेतावनी दिँदै भनेका छन् :
“गणतन्त्रको विकल्प अझ बलियो गणतन्त्र हो, लोकतन्त्रको विकल्प अझ उन्नत लोकतन्त्र हो। जेन–जी पुस्ताको माग संसद् र संविधानभित्रै पूरा गर्न सकिन्छ।”

उनले संविधानका केही कमजोरी स्वीकार्दै प्रत्यक्ष निर्वाचित कार्यकारी, सांसदहरू मन्त्री नबन्ने, सम्पत्ति छानबिन आयोग जस्ता मुद्दा माओवादीले पहिले पनि उठाएको स्मरण गराए। उनले भने : “आज ती माग जेन–जी पुस्ताले उठाउनु हाम्रो लागि गौरवको कुरा हो।”

प्रचण्डले आन्दोलनकारी र आमजनतालाई संयमता, संवाद र शान्तिपूर्ण समाधानतर्फ लाग्न आह्वान गर्दै सुरक्षा निकायलाई जनताको सुरक्षामा खटिन आग्रह गरेका छन्। साथै, “प्रतिकूल अवस्थामा पनि भविष्यप्रति आशावादी रहन, संविधानको रक्षा र लोकतन्त्रको पक्षमा दृढतापूर्वक उभिन” सबैलाई अपिल गरेका छन्।

NO COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Exit mobile version