२०८२ साउन २० काठमाडौं : नेपाल सरकारले अनलाइन सञ्चारमाध्यम (अनलाइन पत्रिका) दर्ता तथा नवीकरणको प्रक्रिया हाललाई स्थगन गर्ने निर्णय गरेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गत सूचना तथा प्रसारण विभागले एक सूचना जारी गर्दै पुरानो प्रक्रिया रोकिएको जनाएको हो।
विभागका अनुसार हालसम्म अनलाइन सञ्चारमाध्यम दर्ता तथा नवीकरण अनलाइन सञ्चारमाध्यम सञ्चालन निर्देशिका, २०७३ अनुसार हुँदै आएको थियो। तर, अब उक्त निर्देशिकाको आधारमा हुने सम्पूर्ण प्रक्रिया तत्कालका लागि रोकिएको छ।
यस निर्णयसँगै, अनलाइन सञ्चारमाध्यमसम्बन्धी नयाँ कानुनी व्यवस्था कार्यान्वयनमा ल्याइएको छ। नेपाल राजपत्रको खण्ड ७५, अतिरिक्ताङ्ग २१, भाग २, मिति २०८२ साउन १४ मा प्रकाशित सूचना अनुसार छापाखाना तथा प्रकाशन सम्बन्धी ऐन, २०४८ मा नयाँ दफा ७ख. थप गरिएको छ।
नयाँ दफा अनुसार, अनलाइन सञ्चारमाध्यम सञ्चालन गर्न चाहने व्यक्तिले तोकिएको ढाँचामा दस्तुरसहित स्थानीय अधिकारी समक्ष निवेदन दिनुपर्नेछ। स्थानीय तहका अधिकारीले आवश्यक जाँचबुझ गरी उपयुक्त ठहरेमा मात्र दर्ता गर्ने सक्ने छन्।
विभागले भनेको छ अबदेखि अनलाइन सञ्चारमाध्यमको दर्ता, सञ्चालन, र नवीकरणसम्बन्धी सबै प्रक्रिया नयाँ मापदण्ड अनुसार अगाडि बढाइनेछ।