२०८२ बैशाख ८ काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले नेपाल सरकारलाई शैक्षिक प्रक्रिया प्रभावित नहुन र विद्यार्थीहरूको शिक्षा अधिकारमा अवरोध उत्पन्न नहुन अनुरोध गरेको छ।
आयोगले २०८२ वैशाख ११ गते देखि कक्षा १२ को परीक्षा कार्यक्रम प्रकाशित भईसकेको र एसईई परीक्षाका उत्तरपुस्तिका परीक्षण र विद्यालय भर्ना कार्यक्रम शुरू नहुनु, साथै शिक्षक महासङ्घको मागको समाधान नहुँदा सामुदायिक विद्यालयका करिब ५५ लाख विद्यार्थीहरूको शिक्षा प्राप्त गर्ने अधिकार हनन् भएको जनाएका छन्।
यसै सन्दर्भमा, आयोगले नेपाल सरकारलाई वैशाख ७ गते पत्राचार गर्दै नेपालको संविधानको धारा ३१ र ३९ अन्तर्गत बालबालिकाको मौलिक हकको संरक्षण गर्दै आन्दोलनरत शिक्षक महासङ्घसँग विगतमा भएका सम्झौताहरू कार्यान्वयन गर्न र कक्षा १२ को परीक्षा शान्तिपूर्वक सञ्चालन हुने वातावरण मिलाउन अनुरोध गरेको छ।
आयोगले भनेको छ कि यदि समयमै समस्याको समाधान नभएमा लाखौं विद्यार्थीहरूको मानसिक स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने, शिक्षाको अधिकारमा अवरोध हुनसक्ने र समग्र शैक्षिक क्यालेण्डर प्रभावित हुनसक्ने जोखिम रहेको छ। यसैले आयोगले नेपाल शिक्षक महासङ्घ र नेपाल सरकारसँग पुनः अनुरोध गर्दछ कि वार्ताको माध्यमबाट समस्याको समाधान गरि शान्तिपूर्ण वातावरणमा परीक्षा सञ्चालनको सुनिश्चितता मिलाइ शिक्षाको अधिकार प्रचलनमा अवरोध हुन नदिन ध्यानाकर्षण गराएका छन् ।