Home समाचार अन्तर्राष्ट्रिय युक्रेनी राष्ट्रपति र अमेरिकी राष्ट्रपति–उपराष्ट्रपतिबीच नोकझोक, विवादले खनिजसम्बन्धी सम्झौतामा हस्ताक्षर हुन सकेन

युक्रेनी राष्ट्रपति र अमेरिकी राष्ट्रपति–उपराष्ट्रपतिबीच नोकझोक, विवादले खनिजसम्बन्धी सम्झौतामा हस्ताक्षर हुन सकेन

0

 

१८ फाल्गुन , काठमाडौँ । खनिज सम्झौताका लागि अमेरिका पुगेका युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्की अमेरिकी राष्ट्रपति र उपराष्ट्रपतिसँगको असाधारण भनाभनपछि निराश भएर फर्केका छन् । अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइटहाउसस्थित ओभल अफिसमा डोनाल्ड ट्रम्प र उपराष्ट्रपति जेडी भेन्ससँग जेलेन्स्कीको चर्काचर्की भएको हो ।

शुक्रबार ह्वाइटहाउस छिरेका जेलेन्स्की खनिज सम्झौता गरेर बाहिरिने ठानिएको थियो । तर दुई देशका नेताबीच ओभल अफिसमा सञ्चारकर्मीसामु नोकझोकको स्थिति उत्पन्न भयो । अमेरिका र युक्रेनबीच खनिजसम्बन्धी सम्झौतामा हस्ताक्षर हुन सकेन । दुई राष्ट्रपतिको संयुक्त पत्रकार सम्मेलन पनि रद्द भयो ।

ओभल हाउसमा दुई पक्षबीच सुरुमा करिब आधा घण्टासम्म सुमधुर कुराकानी भएको थियो । तर जब उपराष्ट्रपति भेन्सले कूटनीतिक माध्यमबाट शान्ति सम्भव भएको र ट्रम्पले त्यही गरिरहेको बताए, तब तनाव सुरु भयो । भेन्सको भनाइप्रति असहमति जनाउँदै जेलेन्स्कीले रुसबाट करिब एक दशकअघिदेखि नै आक्रमण भइरहेको उल्लेख गरे र सन् २०१९ को असफल युद्धविरामबारे बताए ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई कसैले नरोकेको बताउँदै जेलेन्स्कीले भेन्सलाई ‘तपाईंले भन्न खोजेको कूटनीति कस्तो किसिमको हो ?’ भन्दै प्रश्न गरे । जवाफमा भेन्सले ‘तपाईंको देशमा भइरहेको विनाश अन्त्य गर्ने किसिमको’ भनेपछि दुई पक्षबीच चर्काचर्की सुरु भयो । त्यस क्रममा भेन्सले जेलेन्स्कीलाई ओभल अफिसमा आएर अमेरिकी मिडियासामु आरोप लगाउनु अपमानजनक भएको बताए । पुटिनसँग कुरा गरेर ट्रम्पले युद्ध अन्त्य गराउन पहल गरेको उल्लेख गर्दै भेन्सले युक्रेनलाई पनि तत्कालै युद्धविराम गर्न दबाब दिन खोजेका थिए ।

युक्रेनले समस्या झेलिरहेको र युद्ध लड्ने सैनिकको अभाव भएको विषय भेन्सले उठाएपछि जेलेन्स्कीले युद्धका समयमा सबैलाई समस्या हुने बताए । ‘तपाईंहरूसँग राम्रा समुद्र भएका कारण अहिले समस्या जस्तो लाग्दैन । तर भविष्यमा महसुस हुन्छ,’ उनले भनेका थिए । त्यसपछि केही आक्रोशित देखिएका ट्रम्पले अमेरिकालाई सिकाउनु नपर्ने बताए ।

कुराकानीकै क्रममा जेलेन्स्कीले युद्धको आरम्भदेखि नै युक्रेन एक्लो रहे पनि आभारी भएको बताएपछि ट्रम्पले ‘मूर्ख राष्ट्रपति (जो बाइडेन)’ मार्फत ३ खर्ब ५० अर्ब दिएको बताए । त्यसलगत्तै भेन्सले जेलेन्स्कीमाथि अमेरिकाले गरेको सहयोगका लागि धन्यवाद नदिएको र गत नोभेम्बरमा भएको अमेरिकी राष्ट्रपतीय निर्वाचनमा विपक्षी दल डेमोक्रेटलाई भोट मागेको आरोप लगाए ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग युद्धविरामका लागि सम्झौता गर्न दिएको सुझाव जेलेन्स्कीले अस्वीकार गर्नुलाई ओभल अफिसको अनादर गरेको भनी ट्रम्प र भेन्सले प्रतिक्रिया दिए । विवादपछि जेलेन्स्कीलाई अमेरिकी राष्ट्रपति कार्यालयबाट बाहिरिन भनिएको थियो । त्यसपछि अमेरिका छाडेका जेलेन्स्की बेलायत पुगेका छन् । बीबीसीका अनुसार त्यहाँ उनले युरोपेली देशका नेताहरूसँग भेटवार्ता गर्नेछन् ।

 

NO COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Exit mobile version