साउन १७, धनुषा : जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले धनुषालाई सुक्खा क्षेत्र घोषण गर्ने निर्णय गरेको छ । कल, इनार सुकेर पिउने पानीको अभाव र सिँचाइ नहुँदा धान रोपाइँ हुन नसकेको ठहर गर्दै धनुषालाई सुक्खा क्षेत्र घोषणा गर्न गृह मन्त्रालयलाई सिफारिस गर्ने निर्णय समितिले गरेको हो ।
बुधबार जिल्ला प्रशासन कार्यालयमा विपद् व्यवस्थापन समितिको बैठकले वर्षा नहुँदा धनुषामा करिब ३३ प्रतिशतमात्र धान रोपाइँ भएको र केही स्थानीय तहमा सिँचाइको व्यवस्था भए पनि कमला नदीको बहाव न्यून हुँदा नहरमा पानी सञ्चालन हुन नसकेकाले धान रोपाइँ प्रभावित भएकाले धनुषालाई सुक्खा क्षेत्र घोषण गर्न गृह मन्त्रालयलाई सिफारिस गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले बताए ।
पर्याप्त वर्षा नहुँदा इनार, चापाकल, डिप बोरिङ सुक्दा खानेपानीको समेत हाहाकार भएको दाहालले बताए । जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले सुख्खा क्षेत्रहरूमा विज्ञको टोली खटाएर स्थलगत अनुगमन गरी प्रभावित घरधुरीलाई राहतका लागि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई अनुरोध गर्ने, कृषि विद्युत् प्रसारण लाइनको व्यवस्था गर्न अनुरोध गर्ने निर्णय गरेको छ ।
बैठकले स्थानीय तहहरूले धान रोपाइँको अवस्था, सुक्खा क्षेत्रको विवरण तथा खानेपानीको अभाव भएका क्षेत्रहरूको पहिचान गरी ३ दिनभित्र जिल्ला विपद् व्यवस्थापन समितिमा पेस गर्ने र किसान तथा सर्वसाधारणले पाउने राहतका लागि संघीय खानेपानी मन्त्रालय, कृषि‚ भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, गृह तथा सञ्चार तथा कानुन मन्त्रालयलाई अनुरोध गर्ने निर्णय गरेको छ ।
बैठकले रोपाइँ भएको क्षेत्रमा उपलब्ध प्रविधिमार्फत सिँचाइ गर्नुपर्ने अवस्थामा खासगरी विद्युत् महसुलमा विशेष छुट उपलब्ध गराउन अनुरोध गर्ने निर्णय गरेको छ ।
जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले लम्पी स्किन संक्रमित पशुलाई खोप लगाउन स्थानीय तहले पशु अस्पतालसँग समन्वय गरी खोप खरिद गर्ने, डेंगी नियन्त्रणका लागि जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने, आँखा पाक्ने रोगको उपचार गर्ने व्यवस्थाका लागि स्वास्थ्य कार्यालयसँग समन्वय गर्ने निर्णय गरेको छ ।