Home समाचार विद्युत् प्राधिकरणका पूर्वनिर्देशक यादवकाे तीनवटा घर, ८५ तोला सुन र ६०...

विद्युत् प्राधिकरणका पूर्वनिर्देशक यादवकाे तीनवटा घर, ८५ तोला सुन र ६० लाखको सेयर, सम्पत्तिको स्रोत नखुलेपछि मुद्दा दायर

0

 

८ असार , काठमाडौं । ०४८ मा नेपाल विद्युत् प्राधिकरणमा जागिर खाँदा कृष्णप्रसाद यादवको बारामा पुर्ख्यौली सम्पत्ति दुई बिघा जग्गा मात्र थियो । जागिर खाएपछि उनले काठमाडौंको कपनसहित पर्सा र बारामा गरेर तीनवटा घर बनाए । काठमाडौंको नयाँ नैकापका साथै बारा र पर्साका विभिन्न ठाउँमा जग्गा खरिद गरे । दर्जनौैँ कम्पनीमा करिब ६० लाख रुपैयाँबराबरको सेयर छ भने ८५ तोला सुन र चार केजी चाँदी छ । दुई छोरी र एक छोरालाई उनले अध्ययनका लागि विदेश पठाएका छन् ।

गत वर्ष ९ जेठमा अवकाश पाएका यादवले यो अवधिमा कमाएको भन्दा धेरै खर्च गरेको र सम्पत्ति जोडेको देखिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरेको थियो । जसमा एक करोड ४२ लाख ५२ हजार रुपैयाँ सम्पत्तिको स्रोत खुलाउन नसकेपछि आयोगले बिहीबार उनीविरुद्ध मुद्दा दायर गरेको छ । ०४८ मा मेकानिकल इन्जिनियरबाट सेवा प्रवेश गरेका उनी निर्देशक पदबाट अवकाश भएका थिए ।

३१ वर्षको जागिर अवधिमा उनको पारिश्रमिक बचत, प्रोत्साहन भत्ताबापतको रकम, विदेश भ्रमण भत्ता, कर्मचारी सञ्चय कोष तथा नागरिक लगानी कोष, विद्युत् प्राधिकरण, बैंक र सहकारीबाट लिएको कर्जा, सेयरबाट प्राप्त लाभांश, ब्याज आम्दानी, घरबहाल, बिमाबापतको रकम, सवारी बिक्रीको आम्दानी, सेयर बिक्री, मुआब्जा, कृषिलगायत आम्दानीबाट उनको कुल आम्दानी एक करोड ७१ लाख ४६ हजार रुपैयाँ देखिएको अभियोगपत्रमा उल्लेख छ ।

त्यही अवधिमा घर निर्माण, जग्गा खरिद र रजिस्ट्रेसन दस्तुर, अध्ययन तथा छोरीहरू विदेश पठाउँदाको खर्च, कर्जाको साँवा–ब्याज भुक्तानी, घरबहाल कर, बिमाको प्रिमियम भुक्तानी, सवारीसाधन खरिद, सेयर खरिद तथा लगानी र बैंक मौज्दातसमेत गरी उनको कुल खर्च तथा लगानी तीन करोड १३ लाख ९८ हजार पाँच सय ९४ रुपैयाँ पुगेको अख्तियारको हिसाब छ।

यादवले सेवा अवधिमा आयव्ययको विवरणअनुसार स्रोत खुल्न आएको वैध आयको अनुपातमा सिर्जना गरेको सम्पत्ति एवं खर्च तथा लगानी बढी देखिएको र त्यसको स्रोत पुष्टि गर्न नसकेको भन्दै आयोगले मुद्दा दायर गरेको हो । आम्दानीको तुलनामा एक करोड ४२ लाख ५२ हजार रुपैयाँबराबरको सम्पत्तिको स्रोत खुलाउन नसकेपछि यादवले उक्त सम्पत्ति गैरकानुनी रूपमा आर्जेको दाबीसहित त्यही रकमलाई बिगो कायम गरी अख्तियारले मुद्दा दायर गरेको छ ।

यादवले सार्वजनिक सेवामा रहेर पदको दुरुपयोग गरी भ्रष्टाचारजन्य कार्य गरी गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको दाबी अख्तियारको छ । उनीविरुद्ध बिगोबमोजिम जरिवाना, कैद र सम्पत्ति जफतको माग दाबी गरिएको छ । काठमाडौंको कपनसहित १० ठाउँमा रहेको उनको जग्गा जफतको माग गरिएको छ । यादवले भने बयानमा घरबहालबाट पनि आफूले आम्दानी गरेको, तर त्यसको घरबहाल कर भने नतिरेको दाबी गरेका छन् ।

गैरकानुनी रूपमा आर्जित सम्पत्ति यादवले पत्नी मञ्जुदेवी यादवसमेतका नाममा जग्गा खरिद, घर निर्माण, सेयर खरिदलगायतमा खर्चेको देखिएको छ । स्रोत नखुलेको सम्पत्तिबाट बढेबढाई हाल कायम रहेको सम्पत्तिमध्येबाट बिगो र जरिवाना जफतको प्रयोजनका लागि पत्नी मञ्जुलाई पनि अख्तियारले प्रतिवादी बनाएको छ । नयाँ पत्रिकाबाट

NO COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Exit mobile version