
मंसिर ४ गते , काठमाडौँ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा करिब ६१ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ । आइतबार सम्पन्न निर्वाचनमा आयोगले अपेक्षा गरेभन्दा केही कम मत खसेको हो । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपिलयाले पत्रकार सम्मेलन गर्दै भने, ‘यो मत हामीले अपेक्षा गरेभन्दा केही थोरै हो, केही सामान्य घटना बाहेक शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ ।’ २०७४ सालको प्रतिनिधिसभातर्फको ६७.६३ प्रतिशत मत खसेको थियो । छ महिनाअघि भएको स्थानीय तह निर्वाचनमा ६६.८६ प्रतिशत मतदाताले मतदान गरेका थिए । त्यसबेला देशभरबाट १ करोड १८ लाख ५६ हजार मत खसेको थियो । स्थानीय तह निर्वाचनमा प्रदेश १ मा ६५.३५ प्रतिशत, मधेसमा ६७.६९ प्रतिशत, बाग्मतीमा ६४.१६ प्रतिशत, गण्डकीबाट ६८.२८ प्रतिशत, लुम्बिनीमा ६६.७९ प्रतिशत, कर्णालीमा ७० प्रतिशत र सुदूरपश्चिममा ६५.८० प्रतिशत मतदान भएको थियो ।