एसियाली विकास बैंक (एडीबी) ले सन् २०२२ मा नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत रहने प्रक्षेपण सार्वजनिक गरेको छ । एसियन डेभलपमेन्ट आउटलुक २०२२ प्रतिवेदन सार्वजनिक गर्दै एडीबीले गत वर्षभन्दा यस वर्ष नेपालको आर्थिक वृद्धिदर ०.६ प्रतिशत बिन्दुले मात्रै बढ्ने प्रक्षेपण सार्वजनिक गरेको हो । सन् २०२१ मा नेपालको आर्थिक वृद्धिदर ३.२ प्रतिशत मात्रै रहेको एडीबीको भनाइ छ ।
एडीबीले सन् २०२१ मा नेपालको मूल्य वृद्धिदर ३.६ प्रतिशत रहेको जनाउँदै सन् २०२२ मा करिब दोब्बर अर्थात ६.५ प्रतिशत पुग्ने अनुमान गरेको छ । त्यस्तै नेपालको चालु खाता घाटा गतवर्षको भन्दा ९.७ प्रतिशत बढ्ने अनुमान गरिएको छ । यस वर्षको बाढीका कारण धानबालीको उत्पादनमा ९ प्रतिशतले कमी आएको पनि एडीबीले जनाएको छ । नेपालको आर्थिक वृद्धिदरमा धान उत्पादनको योगदान महत्वपूर्ण रहँदै आएको छ । त्यस्तै २०२२ मा औद्योगिक क्षेत्रको वृद्धिदर ४.१ प्रतिशत माथि रहने एडीबीको प्रक्षेपण छ । सन् २०२३ का लागि भने नेपालको आर्थिक वृद्धिदर ५ प्रतिशत अनुमान गरिएको छ । त्यस्तै २०२३ मा मूल्यवृद्धि घटेर ६.२ प्रतिशतमा रहने जनाइएको छ । एडीबीले एसियाको आर्थिक वृद्धिदर २०२२ मा ५.२ र २०२३ मा ५.३ प्रतिशत रहने प्रक्षेपण गरेको छ ।