के तपाईंलाई थाहा छ ? तपाईंको दिमागभित्र गोप्य सुरुङहरू हुन्छन् । दिमागमा सुरुङ हुन्छन् भन्ने थाहा पाउँदा आत्तिनु पर्दैन । वास्तवमा दिमागमा सुरुङ हुने तथ्य वैज्ञानिकहरूले सन् २०१८ मै पत्ता लगाएका थिए । त्यो दिमागी सुरुङले के काम गर्दछ भन्ने कुराचाहिं हालै पत्ता लागेको छ ।
दिमागमा हुने गोप्य सुरुङले मस्तिष्कलाई खप्परसँग जोड्दछ । अर्थात् यसले खप्पर र मस्तिष्कबीच सञ्चार गर्ने र सन्देश आदानप्रदान गर्ने काम गर्दछ ।
खप्परभित्र रोग प्रतिरोधक कोशिकाहरू रगतको बहावसँगै आवतजावत गर्ने मान्यता पहिले थियो । मस्तिष्कमा चोट लाग्दा शरीरका अन्य भागबाट रगतको बहावसँगै रक्तनलीमार्फत् दिमागसम्म कोशिकाहरू पुग्ने अनुमान थियो । तर हाल आएर वैज्ञानिकहरूले आवश्यक रसायन तथा रोग प्रतिरोधक कोशिकाहरू यिनै सुरुङको शर्टकट मार्ग भएर मस्तिष्कमा पुग्ने तथ्य पत्ता लगाएका छन् ।
शरीरमा कुनै पनि भागमा जुनसुकै खालको पीडा हुँदा वा चोटपटक लाग्दा न्युट्रोफिल्स नै सबैभन्दा पहिले पुगेर सुन्निने, दुख्न तथा संक्रमणलाई रोकन प्रयास गर्दछ । वैज्ञानिकको समूहले यीमध्ये केही कोशिकालाई फ्लोरिसेन्ट रंगले रंग्याएर ती कोशिकाहरू गुप्त सुरुङ भएर आवतजावत गर्ने तथ्य पत्ता लगाए ।
एजेन्सी