काठमाडौँ — शुक्रबार राति ९ बजेतिरको कुरा हो । कपन आकाशेधारास्थित एकतले टिनको टहराभित्र आगो दन्कियो । नजिकै बस्ने प्रहरी सहायक निरीक्षक संयोग राई दर्गुर्दै टहरामा पुगे । ढोका फोरेर भित्र पस्दा त्यहाँ डेरा गरी बस्ने ३० वर्षीया अस्मिता चौधरी आगोको लप्कामा जलिरहेकी थिइन् ।
आगो लगाएर श्रीमतीलाई जलाएका र जलाउने प्रयास गरिएका घटना नेपाली महिलाका निम्ति नयाँ होइनन् । कैयन् महिलालाई श्रीमान् वा परिवारकै सदस्यले आगो लगाएर सिध्याउन खोजेको देखिन्छ भने निरन्तरको घरेलु हिंसाबाट छुटकारा पाउन भन्दै महिलाले आफैंलाई आगो लगाएका घटना पनि छन् । २०७७ जेठयताका १९ महिनामा मट्टीतेल, डिजेल, पेट्रोल वा अत्यन्त प्रज्वलनशील पदार्थ छर्केर जलाउन खोजिएका ३६ घटना प्रहरीमा पुगेको छ, जसमा २५ महिला र १२ पुरुष पीडित देखिन्छन् । आफैंलाई आगो लगाएका वा परिवारका सदस्यले आगो लगाइदिएका ३६ घटनामा ४ महिलाको मृत्यु र ४ गम्भीर घाइते भए भने अन्यलाई सामान्य क्षति पुगेको छ ।
आफैंलाई आगो लगाउने अवस्थामा महिला पुग्नुमा घरेलु हिंसा मुख्य कारण देखिन्छ । जस्तो कि कुल घटनामध्ये महिलाले आफैंलाई आगो लगाएका १० घटनाको प्रत्यक्ष साइनो घरायसी विवाद र त्यसभित्र विद्यमान घरेलु हिंसासँग देखिन्छ । एकाध घटना मानसिक असन्तुलन र मादक पदार्थ सेवनजस्ता घटनाका कारण भए पनि अधिकांशमा घरेलु हिंसा जड देखिन्छ ।
शुक्रबारको घटनालाई नै हेर्दा पनि दोस्रो बिहे गरेका प्रवीण र अस्मिता सँगै बसेर मदिरा पिउँथे । शुक्रबार मदिराको सुरमा घर फर्केपछि उनले फेरि मदिरा खान खोजे । सोही विषयमा झगडा भयो । प्रवीणका निम्ति सधैं मदिरा पिएर आउने र श्रीमतीलाई कुटपिट गर्ने नियमितताजस्तै थियो । प्रहरीसँगको बयानमा भने उनले श्रीमतीलाई तर्साउन आगो लगाइदिएको बताएका छन् । रङ लगाउने काम गर्ने भएकाले उनको डेरामा प्रज्ज्वलनशील मानिने तारपिन तेल छँदै थियो । उनले त्यही तेल श्रीमतीमाथि खन्याइदिए र लाइटर बालिदिए । महानगरीय प्रहरी वृत्तका एक प्रहरीले आरोपित प्रवीणले बयानमा भनेको कुराको सार खिचेझैं गरी भने, ‘उसले ज्यानै जाने गरी आगो लगाएको घटनालाई पनि सामान्य ख्यालठट्टामा गरिने गल्ती जसरी बताइरहेको देखिन्छ ।’
आर्थिक वर्ष २०७४/७५ देखि २०७६/७७ सम्मको तीन वर्षमा ३८ हजार ७ सय ३७ वटा घरेलु हिंसाका घटना भएको प्रहरीको रेकर्ड छ । सबैभन्दा धेरै घटना प्रदेश २ मा भएको देखिन्छ भने सबैभन्दा कम सुदूरपश्चिम प्रदेशमा । प्रहरीका अनुसार घरेलु हिंसाको बढी सिकार तिनै महिला भएका छन्, जसको शैक्षिक योग्यता कमजोर छ ।
प्रहरीको तथ्यांकले देखाउँछ– घरेलु हिंसा भोग्न बाध्यमध्ये साधारण लेखपढ मात्रै गर्न सक्ने महिलाको हिस्सा ७४ प्रतिशत र अनपढको हिस्सा ८ प्रतिशत छ । स्नातक वा सोभन्दा माथि पढाइ भएका जम्मा १ प्रतिशत छन् । चालु आर्थिक वर्ष २०७८/७९ को माघसम्म मात्रै महिला तथा बालबालिकाविरुद्ध भएका ९ हजार ६ सय ६१ घरेलु हिंसाका घटना प्रहरीमा दर्ता भएको देखिन्छ । जसमा सबैभन्दा धेरै अर्थात् २ हजार २ सय ८२ प्रदेश २ का छन् ।
महिला अधिकारको पक्षमा वकालत गर्दै आएकी अभियन्ता रीता शाहको बुझाइमा अन्य भूभागको तुलनामा मधेसमा हिंसा उच्च रहनुमा महिलालाई इज्जतसँग जोडेर हेर्ने सामाजिक परिपाटी जिम्मेवार रहेको ठान्छिन् । कतिपय महिला निरन्तरको घरेलु हिंसामा पर्ने र दुःख बेसाउने ठाउँसम्म नभएपछि आफूले आफैंलाई आगो लगाएर जलाउनेसम्मका घटना भएको उनले बताइन् । उनले भनिन्, ‘महिलालाई घर, परिवार, समाज र जातीय समूहको इज्जतसँग जोडेर हेर्ने परिपाटी छ । स्वतन्त्र नभएकै कारण महिला दमनमा त परेका छन् तर उनीहरू न्याय माग्न वा दुःख बिसाउन जाने ठाउँ छैन ।’ उनको बुझाइमा महिलाको आर्थिक सशक्तीकरण नभएसम्म यस्ता घटनाले निरन्तरता पाइराख्छ ।
प्रहरी प्रवक्ता विष्णुकुमार केसीले आफैंलाई वा परिवारका सदस्यले महिलालाई आगो लगाउने घटना सबैभन्दा दुःखलाग्दो भएको बताए । उनले मधेसमा यस्ता घटना बढी हुनुका पछाडि उत्पीडनमा परेका महिला, तिनीहरूमाथिको निरन्तर दमन र त्यसलाई सघाउने सांस्कृतिक व्यवहारहरू कारक रहेको बताए । उनले भने, ‘दाइजो प्रथा, कथित बोक्सी प्रथाजस्ता घटना र दुःख भएपछि कसैलाई भन्नुहुन्न भनेर दबाएर राख्ने प्रवृत्तिले महिला आफैंलाई सिध्याउने बिन्दुमा पुग्छन् ।’कान्तिपुरबाट