Home समाचार ताजा समाचार नक्कली पीसीआर रिपोर्ट बनाइदिने गिरोह पक्राउ

नक्कली पीसीआर रिपोर्ट बनाइदिने गिरोह पक्राउ

0

काठमाडौं । नक्कली पीसीआर रिपोर्ट बनाएको आरोपमा भक्तपुरको नागरिक कम्युनिटी टिचिङ हस्पिटल र तीनकुनेको कान्तिपुर अस्पतालका कर्मचारी र बिचौलिया पक्राउ परेका छन् ।

महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले मंगलबार छापा मारेर चार जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा धनुषाको विदेह नगरपालिका–४ घर भई ललितपुर ग्वार्को बस्ने २५ वर्षीय रोशनकुमार छिट्टान, धनुषाकै छिरेश्वर नगरपालिका–१ घर भई गौशाला बस्ने २५ वर्षीय नागेन्द्र यादव, काभ्रेको तेमाल गाउँपालिका–५ घर भई सूर्यविनायक बस्ने २१ वर्षीय माधव मैनाली र सर्लाहीको बलरा नगरपालिका–७ घर भई कौशलटार बस्ने २४ वर्षीय नागरिक अस्पतालका ल्याब प्रबन्धक प्रशन्नकुमार झा छन् ।

छिट्टानबाहेक अरु अस्पतालकै कर्मचारी रहेको प्रहरीले जनाएको छ । उनीहरुले वैदेशिक रोजगारीमा जाने व्यक्तिहरुलाई नक्कली पीसीआर रिपोर्ट बनाइदिने गरेको एसपी कृष्ण कोइरालाले बताए । त्यस्तै परीक्षण नै नगरी पीसीआर रिपोर्ट नेगेटिभ भनी उल्लेख गरिएका ४ थान पीसीआर रिपोर्टसहित ल्याबका कर्मचारी मैनालीलाई पक्राउ गरिएको हो ।

पक्राउ गरिएकाहरुबाट पीसीआर रिपोर्ट जेनेरेटर गर्न प्रयोग भएको कम्युटर मोनिटर १ थान, ल्यापटक १ थान, सीपीयू ३ थान, पीसीआर दर्ता रजिष्टरहरु, पीसीआर रिपोर्टहरु, रसिद र मोबाइल ५ थान बरामद भएको छ ।

त्यस्तै कान्तिपुर अस्पतालको कर्मचारी नागेन्द्र कुमार यादवलाई पनि १७ थान नक्कली पीसीआर रिपोर्टसहित अस्पताल अगाडिबाट पक्राउ गरिएको हो । नक्कली पीसीआर रिपोर्ट बनाउने कार्यमा संलग्न दुई जना फरार रहेको महाशाखाका एसपी कृष्ण कोइरालाले जानकारी दिए ।

फरार हुनेमा रौतहटको राजदेवी नगरपालिका–४ घर भई भक्तपुर दुवाकोट बस्ने नागरिक अस्पतालकै पीसीआर ल्याब सञ्चालक ४० वर्षीय भावेश मिश्र र कान्तिपुर अस्पतालका पीसीआर ल्याब सञ्चालक ४० वर्षीय निर्मल गिरी छन् ।

NO COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Exit mobile version