नोवेल मेडिकल कलेज विराटनगरले जिल्ला प्रशासन कार्यालयमा भएको सहमति विपरित पठनपाठन सञ्चालन गरेको आरोपमा विद्यार्थीहरूले पुस २५ गते कलेजमा तोडफोड गरेका छन् ।
मेडिकल कलेज अगाडि रिले अनसनमा बस्न गएका विद्यार्थीमाथि त्यहाँ कार्यरत सुरक्षागार्डले लाठी चार्ज गर्दा नेकपा एकीकृत समाजवादीनिकट विद्यार्थी सङ्गठन अनेरास्ववियूका केन्द्रीय सचिव २८ वर्षीय किसन भगत घाइते हुनु भएको छ । उहाँको टाउको चोट लागेको छ । घाइतेको उपचार गरिएको विद्यार्थी नेता तुलसी घिमिरेले बताउनु भएको छ ।
अतिरिक्त शुल्क नबुझाउने विद्यार्थीलाई प्रवेश नदिई अन्य विद्यार्थीलाई मात्रै राखेर कक्षा सुरु भएपछि पुस २५ गते नोवेल मेडिकल कलेज विराटनगरमा विद्यार्थीले तोडफोड गरेका हुन् । विवाद साम्य नहुञ्जेल कक्षा रोक्ने सहमति विपरित नोवेलले कक्षा सञ्चालन गरेपछि एमबीबीएस प्रथम वर्षका विद्यार्थी आन्दोलनमा उत्रिएका थिए ।
नोवेल मेडिकल कलेजले पुस २२ गते जिल्ला प्रशासनसँग कुनै पनि अतिरिक्त शुल्क नलिने, विवाद साम्य नभएसम्म कक्षा नचलाउने सहमति गरेको थियो । तर, पुस २५ गते थोरै विद्यार्थी समावेश गरेर कक्षा चलाएपछि तनाव उत्पन्न भएको विद्यार्थी नेता तुलसी घिमिरेले बताउनु भयो । मेडिकल कलेज अगाडि रिले अनसन बस्न गएका विद्यार्थीमाथि त्यहाँ कार्यरत सुरक्षागार्डहरूले लाठी चार्ज गरेको आरोप आन्दोलनमा सहभागी विद्यार्थीहरूले लगाएका छन् ।
नोवेल मेडिकल कलेजमा १ सय विद्यार्थीको कोटा छ । कलेजमा भर्ना भएका ९६ जना विद्यार्थीमध्ये २४ जनाले अतिरिक्त शुल्क बुझाएका छन् । उनीहरूको पठन–पाठन भइरहेको आन्दोलनरत विद्यार्थीहरुले बताएका छन् । विद्यार्थीका अनुसार नौ भारतीय, १० छात्रवृत्ति र पाँच जनाले अतिरिक्त बुझाएकालाई कलेजले माथिल्लो तलामा राखेर कक्षा सञ्चानल गरीरहेको छ ।
चिकित्सा शिक्षा आयोगले निर्धारण गरे विपरीत नोवेलले ४ लाख ८२ हजार रुपियाँ अतिरिक्त शुल्क बुझाउन दबाब दिएपछि विद्यार्थी आन्दोलनमा उत्रिएका हुन् । पुस १४ गते देखि विद्यार्थी नोवेल मेडिकल कलेजविरूद्धको आन्दोलनमा छन् ।
सरकारले तोके बमोजिमको शुल्क लिन नोवेल मेडिकल कलेजका प्रमुख रामहरि घिमिरेलाई ज्ञापनपत्र बुझाएको भएपनि कलेजले अटेरी गरेको विद्यार्थी नेता नविन पहाडीको भनाइ छ ।
१४ लाख ८५ हजार रुपियाँ बुझाएर एमबीबीएस प्रथम वर्षमा भर्ना भएका विद्यार्र्थीसँग नोवेलले विभिन्न शीर्षकमा ४ लाख रुपियाँ भन्दा बढी रकम असुल्न खोजेको आन्दोलनरत विद्यार्थीको भनाइ छ । नोवेल मेडिकल कलेजका जनसम्पर्क अधिकृत नारायण दहालले कलेज प्रशासनले विद्यार्थीहरूको माग सम्बोधनको वातावरण बनाउँदै गएको बताउनु भएको छ । Insec