२०८२ भदौ १० जनकपुरधाम : हिन्दू महिलाहरूको महान् पर्व हरितालिका तीज र मिथिला क्षेत्रमा विशेष महत्व पाउने चौठी चन्द्र चौरचन पर्व आज एकैदिन परेको छ। दुवै पर्वलाई श्रद्धा, भक्ति र उल्लासका साथ मनाइँदै गर्दा मठ–मन्दिर तथा घर–आँगनहरूमा चहलपहल बढेको छ।
नम : सिंह प्रसेनमवधी : हिंसोजाम्बवता हत :
सुकुमारक मारोदी तब व्येष स्यमंतक :
यही मन्त्रका साथ मङ्गलवार साँझ व्रतालुहरूले आ(आफ्ना घरको आँगन तथा कौसीबाट उदाउँदो चन्द्रमालाई अर्घ दिएर चौरचन पर्व मनाएका छन् । विशेष गरी तराईका जिल्लाहरूमा चौरचन पर्व हर्षोल्लासपूर्वक परिवारका साथ मनाइएको छ । भगवान् गणेशको श्रापबाट मुक्त हुन चन्द्रमाको पूजा गर्न थालिएको धार्मिक जनविश्वास रहिआएको छ ।
भाद्र शुक्ल चतुर्दशीको साँझ मनाइने यस पर्वमा गणेश पुजनोत्सवको आयोजना समेत गर्ने गरिन्छ । चन्द्रमामा कलङ्क लागेको धार्मिक मान्यताका साथ मिथिला क्षेत्रमा मिथिला नरेश ज्योतिष शास्त्रका ख्यातिप्राप्त ज्ञाता हेमाङ्गद ठाकुरद्वारा यस पर्वको सुरुवात गरिएको भनाइ छ । व्रतालुले दिनभर निराहार रही साँझमा नुहाई पिठोले बनाएको अपरिनमा वैदिक मन्त्रोच्चारणका बीच विभिन्न देवता–पितृको पूजा गरेर अन्तमा रोहिणीसहित चौठीचानलाई पुष्पाञ्जली दिएका छन् ।
त्यसपछि माटोको भाँडामा जमाएको दही र निक्कै सावधानीपूर्वक बनाइएको चामल र गहुँको पिठोका विभिन्न पकवानसहित खीर, मिठाई, फलफूल लगायतका नैवेद्यसहित साँझ चन्द्रमालाई अर्घ दिएर पूरा गरिएको छ । दिनभर उपवास बसेकाले साँझ अर्घ दिएपछि सम्पूर्ण परिवारजनले प्रसाद ग्रहण गर्दा कल्याण एवं धनधान्यको प्राप्ति हुने विश्वास रहेको छ ।
चन्द्रमाको पूजा गर्दा धनधान्यको प्राप्ति, पुत्र लाभ र प्रसन्नता मिल्ने गरेको चौठचन्द्रको कथामा उल्लेख छ । प्रसाद ग्रहणका लागि आफन्तजन, इष्टमित्र लगायतलाई पनि बोलाइने गरिएको हुँदा यस पर्वलाई सद्भावको प्रतीकको रूपमा पनि लिइन्छ ।
भगवान् कृष्णलाई द्वापर युगमा लोभमा पारेर साथीको हत्या गरेको भन्ने झुटो आरोप लाग्दा नारद ऋषिले कृष्णलाई भाद्र शुक्ल चतुर्दशीको व्रत बस्न सल्लाह दिएको र सो अनुसार व्रत बस्दा मिथ्या कलङ्कबाट मुक्ति प्राप्त गरेको चौठचन्द्रको कथामा उल्लेख रहेको पाइन्छ ।
देशभर आज हिन्दू नारीहरूले हरितालिका तीज पर्व श्रद्धा एवं भक्ति सहित मनाइरहेका छन्। महिलाहरूले निराहार व्रत बस्दै भगवान् शिव–पार्वतीको पूजा–आराधना गर्दै पतिको दीर्घायु, दाम्पत्य सुख र परिवारको समृद्धिको कामना गरिरहेका छन्।
पौराणिक विश्वासअनुसार देवी पार्वतीले भगवान् शिवलाई वर पाउन कठोर तपस्या गरेकी थिइन्। तपस्यापश्चात् शिवले पार्वतीलाई स्वीकार गरे र यही पुनर्मिलनको स्मृतिमा तीज पर्व मनाउने परम्परा रहेको धार्मिक अगुवाहरू बताउँछन्।

पहिलो दिन विभिन्न परिकार र मिठाइसँगै महिलाहरूले दार खाने परम्परा पुरा गर्छन्। दोस्रो दिन महिलाहरू निराहार रही शिव–पार्वतीको पूजा–आराधना गर्छन्। यस दिन गीत–नृत्य गरेर रमाइलो गर्ने चलन छ। तेस्रो दिन महिलाहरू स्नान, शुद्धिकरण गरी ७२ वटा वनस्पतिको स्पर्शसहित ऋषिहरूको पूजा गर्छन्।
तीजलाई महिलाहरूको भेटघाट र आत्मअभिव्यक्तिको पर्वका रूपमा पनि लिइन्छ। माइती फर्केका छोरी–चेलीले गीत–नृत्यमार्फत आफ्ना भावनाहरू पोख्ने परम्परा अझै जीवित छ।