काठमाडौँ —प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार परिवर्तन सामान्य घटना भएकाले देशको अवस्था परिवर्तन अहिलेको मुख्य प्राथमिकता भएको बताएका छन् ।
उनले मुलुकको विकास, सुशासन कायम गर्दै आमजनताको हित हुने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरे । यसअघि पनि आफू प्रधानमन्त्री हुँदा इमान्दारीका साथ काम गरेको उल्लेख गदै एमाले अध्यक्ष ओलीले यसपटक पनि जनतालाई केन्द्रमा राखेर काम गर्ने प्रतिबद्धता दोहोर्याए ।
प्रधानमन्त्री ओलीले मनसुनका कारण मुलुकका केही स्थानमा बाढीपहिरोबाट सडक, पुल भत्केका र जनधनको क्षति भएको वास्तविकता सुनाउँदै देशको भौगोलिक स्थितिले पनि यस्ता विपद्बाट जोगिन कठिनाइ भएको बताए । मन्त्रिपरिषद्को पहिलो बैठकले पनि दैवीविपत्ति जोखिम न्यूनीकरणलाई पहिलो प्राथमिकतामा राखेको बताए ।
प्रधानमन्त्री ओलीले बाढीपहिरोबाट प्रभावित क्षेत्रमा उद्धार, राहत र पुनःस्थापनाका सम्बन्धमा गृहमन्त्रीले पनि प्राथमिकतामा साथ काम गरिरहेको उल्लेख गरे । उनले जाजरकोट भूकम्पपीडितको आवास निर्माणका लागि किस्ता रकम उपलब्ध गराउन पनि सरकार सकारात्मक रहेको बताए ।
प्रधानमन्त्रीले कीर्तिपुरस्थित क्रिकेट रंगशालामा तीन सय दिनभित्र प्यारापिट र फ्लड लाइटको व्यवस्था गरिने बताए ।