spot_img
शुक्रबार, अशोज ४, २०८१
शुक्रबार, अशोज ४, २०८१
- Advertisement -spot_imgspot_img
समाचारफेसबुक आईडी ह्याक हुन नदिन नेपाल प्रहरीले सुझाएका १५...

फेसबुक आईडी ह्याक हुन नदिन नेपाल प्रहरीले सुझाएका १५ टिप्स

माघ १४,काठमाडौं : पछिल्लो समय फेसबुक अकाउन्ट ह्याक हुने घटना बढ्दै गएको परिप्रेक्ष्यमा नेपाल प्रहरीले उक्त समस्याबाट जोगिन विभिन्न सुझाव दिएको छ । बुधवार एक भिडिओ सार्वजनिक गर्दै प्रहरीले सर्वसाधारणलाई अकाउन्ट ह्याक हुनबाट बच्ने तरिका सुझाएको हाे ।

नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोको तथ्याङ्क अनुसार अघिल्लो आर्थिक वर्ष (२०७९/८०) मा परेका ९०१३ उजुरीमध्ये ६७८२ ओटा उजुरी फेसबुकबाट भएको साइबर अपराधसँग सम्बन्धित थिए । त्यस्तै मार्केटप्लेसबाट १४०, गिफ्ट ठगीमा २२०, ह्याक एन्ड फ्रडमा १२३०, र बेनिफिसियरीमा २७ ओटा उजुरी परेका थिए ।

- Advertisement -

यस आर्थिक वर्ष (२०८०/८१) को यो अवधिसम्म साइबर ब्यूरोमा ८६२८ ओटा उजुरी परेका छन्, जसमा ६९१५ फेसबुकबाट भएको साइबर अपराधसँग सम्बन्धित छन् । त्यस्तै मार्केट प्लेसमेन्टबाट ३४०, गिफ्ट ठगीमा २२५, ह्याक एन्ड फ्रडमा ३७८ र बेनिफिसियरीमा आठ ओटा उजुरी परेका छन् ।

पछिल्लो समय समाजका प्रतिष्ठित व्यक्ति, महिला तथा बालबालिकाको फेसबुक अकाउन्ट ह्याक गरी उनीहरूको स्टोरी तथा पोस्टमा अश्लील जस्तो देखिने भिडिओ तथा फोटो राख्ने घटना बढ्दो छन् । त्यसैलाई मध्यनजर राख्दै प्रहरीले सचेतनामूलक भिडिओ ल्याएको हो ।

- Advertisement -

उक्त भिडिओमा साइबर ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक पशुपतिकुमार रायले एक घटना स्मरण गर्दै भनेका छन्, “एक जना महिलाको नागरिकता कसैले फेला पारेर अनलाइनमा राखिदियो । त्यो अनलाइनमा भएको नागरिकताबाट अरू कसैले सिम निकाल्यो । त्यो सिमको दुरुपयोग ड्रग केसमा भयो ।” हाम्रा सामान्य कमजोरीले पनि इन्टरनेटमा राखेको सामग्रीले ठूलो कानूनी झमेला निम्त्याउन सक्ने रायको भनाइ छ ।

फोनबाट कहिल्यै पनि कुनै सेवाप्रदायक वा बैंकले ग्राहकको युजरनेम, पासवर्ड र ओटीपी नमाग्ने भन्दै प्रवक्ता रायले त्यस्ता जानकारी मागेका अस्वीकार गर्न सुझाव दिएका छन् ।

फेसबुक अकाउन्ट ह्याक हुनबाट जोगिन प्रहरीले दिएका टिप्सहरूः
– छुट्टाछुट्टै सामाजिक सञ्जाल (जस्तै; फेसबुक, एक्स) को अकाउन्टका लागि छुट्टाछुट्टै तथा बलियो पासवर्ड राख्नुहोस् ।
– सामाजिक सञ्जाल अकाउन्टलाई सुरक्षित राख्न मल्टिफ्याक्टर अथेन्टिकेसन (Two Factor Authentication, Mobile Number, OТР, Fingerprint इत्यादि) प्रयोग गर्नुहोस् ।
-सामाजिक सञ्जालको आफ्नो खाता ‘रिकभरी’का लागि रिकभरी ईमेल तथा मोबाइल नम्बर प्रयोग गर्नुहोस् ।
-सकेसम्म सामाजिक सञ्जालको प्रयोग गर्दा आफ्नो निजी उपकरण (मोबाइल, ल्यापटप, कम्प्युटर, ट्याब्लेट) को मात्र प्रयोग गर्नुहोस् ।
-आफ्ना व्यक्तिगत डिभाइसहरू (ल्यापटप, मोबाइल आदि) लाई पिन, पासवर्ड, प्याटर्न वा बायोमेट्रिकबाट लक गर्नुहोस् ।
-मोबाइल, ट्याब्लेट हराउँदा सामाजिक सञ्जाल अकाउन्टको पासवर्ड तुरुन्तै परिवर्तन गर्नुहोस् ।
– सकेसम्म आफ्नो व्यक्तिगत विवरण (जस्तै; होम एड्रेस, फोन नम्बर, व्यक्तिगत कागजात, संवेदनशील सूचना इत्यादि) सामाजिक सञ्जालमा नराख्नुहोस् ।
– सामाजिक सञ्जालमा आफ्ना व्यक्तिगत संवेदनशील फोटो, युजरनेम, पासवर्ड, बैंकको क्रेडिट कार्ड नम्बर, पिन कोड, नागरिकता नम्बर लगायतका जानकारी शेयर नगर्नुहोस् ।
-कुनै पनि सन्देश, फोटो तथा आफू कहाँ जाँदैछु, के गर्दैछु, कोसँग छु जस्ता विवरणको पोस्ट गर्दा सचेत रहनुहोस् ।
– फोटो पोस्ट गर्न कसैले दबाब दिन्छ भने अस्वीकार गर्नुहोस् ।
– आवश्यक परेको खण्डमा सामाजिक सञ्जालमा असहज क्रियाकलाप देखाउने नराम्रा साथीहरूलाई ब्लक वा अनफ्रेन्ड गर्नुहोस् ।
– सकेसम्म अपरिचित व्यक्तिको फ्रेन्ड रिक्वेस्ट एक्सेप्ट नगर्नुहोस् ।
– सामाजिक सञ्जालमा साथीले शेयर गरेको लिंक तथा अट्याचमेन्टलाई सही पहिचान गरेर मात्र क्लिक वा ओपन गर्नुहोस् । उक्त लिंक तथा अट्याचमेन्ट शंकास्पद लागेमा नखोल्नुहोस् ।
– सामाजिक सञ्जालमार्फत प्राप्त हुने पुरस्कार उपहार चिठ्ठा लगायत विभिन्न प्रलोभन देखाएर पठाइएको वा डर धम्की दिइ पठाइएको सन्देश, फोन कल लगायतलाई रिप्लाई र रेस्पोन्स नगर्नुहोस् ।
– सामाजिक सञ्जाल प्रयोग गर्दा यौन दुर्व्यवहारसँग सम्बन्धित वा केही असहज गतिविधिको महसुस तथा घटना भएमा प्रमाण सङ्कलन गरी नजिकको प्रहरी कार्यालय वा साइबर ब्यूरोमा उजुरी दर्ता गराउनुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर

spot_img
spot_img

ताजा समाचार