पुस ८, जनकपुरधाम : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको तत्कालीन हँसपुर नगरपालिका वडा नम्बर १ का वडाध्यष कामेश्वर कापरसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
उनीहरूले पाँच लाख ५५ हजार रुपैयाँ भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले आइतबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।
अख्तियारले मुदा दायर गरेका अन्यमा हँसपुर नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत केशव कुमार अधिकारी, ठेकेदार मदन कुमार झा र नवीन कुमार चौधरी रहेका छन् ।
दायर गरिएको मुद्दामा उनीहरूसँग ५ लाख ५५ हजार रुपैयाँ बिगो दाबी गरिएको छ ।
हँसपुर नगरपालिका वडा नं. १ भगवानपट्टीमा रहेको कित्ता नम्बर ३३० को सार्वजनिक पोखरीलाई वडा नं. १ का वडा अध्यक्षले ठेक्का लगाउँदा भ्रष्टाचार गरेको भन्ने उजुरी परेपछि अख्तियारले अनुसन्धान अघि बढाएको थियो ।
अनुसन्धान हुँदा सार्वजनिक पोखरी ठेक्काबापत दोस्रो वर्षको किस्ता ५ लाख ५५ हजार रुपैयाँ राजस्व रकम दाखिला गर्नुपर्नेमा सो नगरी हंसपुर नगरपालिकालाई हानिनोक्सानी गरेको पाइएको अख्तियारले जनाएको छ ।
यस्तो छ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको आरोप- पत्र
जिल्ला धनुषा, हँसपुर नगरपालिका वडा नं. १ भगवानपट्टीमा रहेको कि.नं. ३३० को सार्वजनिक पोखरीलाई वडा नं. १ का वडा अध्यक्षले ठेक्का लगाउँदा भ्रष्टाचार गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा तत्कालीन हँसपुर नगरपालिका वडा नं. १ का वडा अध्यक्ष कामेश्वर कापरले हँसपुर नगरपालिका वडा नं. १ स्थित कित्ता नं. ३३० को सार्वजनिक पोखरी ठेक्काबापत आफूले बुझी लिएको दोस्रो वर्षको किस्ता रु.५,५५,०००।–राजस्व रकम राजस्वमा दाखिला गर्नुपर्नेमा सो नगरी हंसपुर गाउँपालिकालाई हानिनोक्सानी/हिनामिना गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम कसुर गरेको पुष्टि भएको हुँदा निज कामेश्वर कापरलाई बिगो रु.५,५५,०००।–(पाँच लाख पचपन्न हजार रुपैयाँ) कायम गरी सोही ऐनको दफा १७ ले निर्देश गरेबमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) को देहाय (ङ) बमोजिम कैद सजाय गरी सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम बिगो अनुसार जरिवाना हुन र सोही ऐनको दफा १७ बमोजिम हानिनोक्सानी भएको बिगो निजबाट असुल उपर हुन एवं नियमित किस्ता हंसपुर नगरपालिकामा दाखिला नगरेको अवस्थामा समेत निरन्तर किस्ता दिएको भनी कामेश्वर कापरले हंसपुर गाँउपालिका वडा नं. १ को लेटर प्याडको दुरुपयोग गरी नियमित किस्ता दाखिला गरेको भन्नेसमेत व्यहोराको गलत व्यहोरा खुलाई गलत लिखत तयार गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ बमोजिमको कसुर गरेको पुष्टि भएको हुँदा निज कामेश्वर कापरलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ बमोजिमको कसुरमा सोही ऐनको दफा ९ बमोजिम सजाय हुनसमेत मागदाबी लिइएको छ।
ठेकेदार मदन कुमार झा र नवीन कुमार चौधरीले हँसपुर नगरपालिका वडा नं. १ स्थित कित्ता नं. ३३० को सार्वजनिक पोखरी ठेक्कावापत दोस्रो वर्षको किस्ता रु.५,५५,०००।- राजस्व रकम दाखिला गर्नुपर्नेमा सो नगरी हंसपुर नगरपालिकालाई हानिनोक्सानी गरी गराई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिम कसुर गरेको पुष्टि भएको हुँदा निजहरु मदन कुमार झा र नवीन कुमार चौधरीलाई बिगो रु.५,५५,०००।– (पाँच लाख पच्पन्न हजार रुपैयाँ) कायम गरी ऐ. ऐनको दफा ८ को उपदफा (४) बमोजिम सजाय गरी विगोसमेत जफत हुन मागदाबी लिइएको छ।
साथै, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत केशव कुमार अधिकारीले हँसपुर नगरपालिका नगरकार्यपालिकाको बैठकको निर्णयमा नभएको नगरेको कुरा देखाई सरकारी कागज सच्याउने कार्य गरी सोही सच्याइएको सरकारी कागजलाई सक्कल हो भनी प्रमाणित गरी गराई गलत लिखत तयार गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ र दफा ११ बमोजिमको कसुर गरेको पुष्टि भएको हुँदा निज केशव कुमार अधिकारीलाई सोही ऐनको दफा ९ र दफा ११ बमोजिम कैद र जरिवाना हुन मागदाबी लिई आज बिशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।