साउन २८, जनकपुरधाम । धनुषाको मिथिला बिहारी नगरपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ ।
नगरपालिका–९ अन्दुपट्टिका वडाध्यक्ष विन्देश्वर यादवले ज्येष्ठ नागरिक सम्मान कार्यक्रमका लागि छुट्टयाइएको ४ लाख रुपैयाँ वडा सचिब राजकुमार मण्डलको नाममा पेश्की भुक्तानी लिएको तर सम्मान नगरेको उजुरी परेपछि अख्तियारले छापा मारेको हो ।
त्यस्तै खानेपानीका लागी चापा कल (Hand Pipe) जडान तथा खरीदको लागी १० लाखको बजेटमा रु. ९ लाख ६६ हजार ७ सय ५१ रुपैया , बिधार्थीहरुमा सिकाई उपलब्धिको लागी श्री राम जानकी आ.बि. कटरैत तथा आ.बि. अन्दुपट्टि को लागी शैक्षिक सामग्री तथा पोशाकको लागी १० लाखको बजेटमा ९ लाख ९६ हजार ६ सय ६० रुपैया , वैदेशिक रोजगारबाट फर्केका युवाहरुको लागि सीपमुलक तालिमका लागि ४ लाखको बजेटमा ३ लाख ९८ हजार ३ सय २५ रुपैयाँ भुक्तानी लिएको, वडा नं. ९ अन्तर्गत सडक बत्ती जडानका लागि ८ लाखमा ७ लाख ९२ हजार ९ सय २१ रुपैयाँ भुक्तानी लिएको तर काम नगरेको भन्दै अख्तियारमा उजुरी परेको थियो ।
उजुरी परेका विषयमा अनुसन्धानका क्रममा नगरपालिकाको नगर कार्यपालिकाको कार्यालयबाट कागजातहरु नियन्त्रणमा लिई नगरपालिकाको वडा नं. ९ को कार्यालयमा अख्तियारको टोली पुग्दा कार्यालय बन्द रहेको थियो ।
वडा नम्बर ९ को बिधालय श्री राम जानकी आ.बि. कटरैत तथा आ.बि. अन्दुपट्टि र चापाकल बितरण भरपाईको आधारमा अख्तियारको टोलिले स्थलगत अनुगमन समेत गरेको छ ।