८ असार , काठमाडौं । नेपाल इन्जिनियरिङ परिषद्ले असार ६, ७ र ८ गते सञ्चालन गरेको लाइसेन्सको परीक्षामा ६६ प्रतिशत विद्यार्थी अनुत्तीर्ण भएका छन् ।
दोस्रो पटक लिइएको लाइसेन्स परीक्षा दिएका २४ सय ७४ जनामध्ये ८ सय १ जना मात्रै पास भएको परिषद्का अध्यक्ष पदमबहादुर शाहीले जानकारी दिए । परीक्षा दिनका लागि भनेर २५ सय ६८ जनाले आवेदन दिएका थिए । तीमध्ये ९४ जना अनुपस्थित रहेको शाहीले बताए ।
यसअघि गत चैतमा लिइएको पहिलो लाइसेन्स परीक्षामा ७२ प्रतिशत फेल भएका थिए । त्यसबेला परीक्षा दिएका १९ सय ८१ जनामध्ये ५ सय ६५ जना उत्तीर्ण भएका थिए । सय पूर्णांकको २ घण्टे परीक्षामा न्यूनतम ५० अंक प्राप्त गर्ने परीक्षार्थी लाइसेन्स पाउन योग्य हुने व्यवस्था छ ।
परिषद्ले विभिन्न २३ वटा विषयगत विधामा इन्जिनियरिङ लाइसेन्सको परीक्षा सञ्चालन गरेको थियो । अध्यक्ष शाहीका अनुसार सबैभन्दा बढी सिभिल इन्जिनियरिङ विधाका विद्यार्थीहरू परीक्षामा सामेल थिए ।