चैत १०, जनकपुरधाम । नेकपा (माओवादी केन्द्र)का नेता उमेशकुमार यादवले जनमत पार्टीका अध्यक्ष सिके राउतले दिएको अभिव्यक्ति गैरराजनीतिक र खेदजनक रहेको बताएका छन् ।
पूर्व मन्त्री यादवले बिहीबार आफ्नो सामाजिक सञ्जाल facebook मार्फत यस्तो लेखेका हुन् ।
उनले लेखेका छन्, ‘हिजो माननीय श्री सिके राउतले जसपा अध्यक्ष श्री उपेन्द्र यादवलाई लक्षित गरेर बारामा व्यक्त गर्नुभएको टिप्पणी गैरराजनीतिक र खेदजनक छ। उहाँको दिशाविहीन र दरिद्र मानसिकताले संस्कारहीन राजनीतिलाई मलजल गर्ने र अफवाहपूर्ण प्रचार युद्धबाट जे पनि गर्न सकिन्छ भन्ने गलत मान्यता स्थापित गर्न खोज्दै छ। उहाँ मधेसमा देशभित्र र बाहिरका शक्तिको आडमा जुन जातीय हिंसा मच्चाउन खोज्दै हुनुहुन्छ, त्यसको फल ढिलोचाँडो उहाँले पनि चाख्नुपर्ने हुन्छ ।’