वैशाख ७ , काठमाडौं ।
मंगलबार बसेको सत्तारुढ गठबन्धनको बैठकले ६ महानगरपालिकाको नेतृत्वमा भागबण्डा मिलाएको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाबीच ६ महानगरपालिकाको नेतृत्व भागवण्डा भएको छ ।
यो सहमति बनेसँगै चुनावी प्रतिस्पर्धा थप रोचक बन्ने भएको छ ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले कमल थापा नेतृत्वको राप्रपा नेपाल र परिवार दलसँग स्थानीय तहमा तालमेल गर्ने निर्णय गरेको छ । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)सँग पनि केही स्थानीय तहसँग एमालेको तालमेल हुने सम्भावना छ भने लोकतान्त्रिक समाजवादी पार्टीसँग पनि चुनावी तालमेलको उत्तिकै सम्भावना छ ।यो अवस्थामा कांग्रेस नेतृत्वको सत्तारुढ गठबन्धन र नेकपा एमाले नेतृत्वको प्रतिपक्षी गठबन्धनबीच महानगरहरूमा रोचक र चर्को प्रतिस्पर्धा हुने भएको हो ।
०७४ मा सम्पन्न स्थानीय तहको मत परिणामले पनि दुई गठबन्धनले यसवर्ष प्राप्त गर्ने सम्भावित मतको केही आकलन गर्न सकिन्छ । नयाँ मतदाताको निर्णय, उम्मेदवारको छनोट र स्थानीयस्तरमा उनीहरुको लोकप्रियता, यसअघि विजयी उम्मेदवार र पार्टीको कार्यकुशलता र गठबन्धनप्रति दलहरुको इमान्दारिताले यस पटकको मतपरिणामलाई प्रभावित पार्नेछ ।
नेकपा एमालेबाट विभाजित नेकपा एकीकृत समाजवादीले एमालेको कति हिस्सा प्रभावित पार्छ भन्ने अहिले खुलेको छैन । एकीकृत समाजवादीले एमालेमा पारेको क्षति स्थानीय तह अनुसार फरक हुन सक्छ । त्यस्तै राप्रपाबाट अलग भएर नयाँ पार्टी बनाएका कमल थापाले राप्रपाको कति हिस्सा प्रभावित गर्छन् भन्ने पनि अनुमान गर्न नसकिने छ । यसले पनि गठबन्धनका उम्मेदवारको जित हारलाई प्रभावित पार्नेछ ।
२०७४ सालको मत परिणाम हेर्दा कांग्रेस नेतृत्वको गठबन्धन र एमाले नेतृत्वको गठबन्धनको अवस्था कस्तो छ त ?
काठमाडौं महानगरपालिका
२०७४ को चुनावमा काठमाडौं महानगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवार विद्यासुन्दर शाक्य नेपाली कांग्रेसका उम्मेदवार राजुराज जोशीलाई १९ हजार बढी मतान्तरले पराजित गर्दै निर्वाचित भएका थिए । एमालेले तत्कालिन राप्रपा नेपालसँग तालमेल गरेको थियो ।
शाक्यले ६४ हजार ९१३ र जोशीले ४५ हजार २६९ मत पाएका थिए ।
माओवादी केन्द्रका उम्मेदवारले ७ हजार ९०६, नयाँ शक्ति पार्टीका उम्मेदवारले ६ हजार ५० र राष्ट्रिय जनमोर्चाका उम्मेदवारले १३१ र फोरम लोकतान्त्रिककका उम्मेदवारले ११८ मत पाएका थिए । अहिले सत्ता गठबन्धनमा रहेका यी सबै दलको मत जोड्दा ५९ हजार ४७४ मात्रै हुन्छ ।सत्ता गठबन्धनका दलले पाएको मत भन्दा एमाले उम्मेदवार शाक्यले पाएको मत पाँच हजार ४३९ ले बढी छ ।
यद्यपि ०७४ सालको चुनावमा वैकल्पिक राजनीतिक शक्तिका रुपमा विवेकशील साझा पार्टीका उम्मेदवार रञ्जु दर्शनाले २३ हजार ४३९ र साझा पार्टीका उम्मेदवार किशोर थापाले १८ हजार ४९६ मत ल्याएका थिए ।
यो पटक विवेकशील साझाले समीक्षा बास्कोटालाई मेयरको उम्मेदवार बनाएको छ भने ¥यापर इन्जिनियर बालेन शाह, मिस नेवाः भइसकेकी सुनीता डंगोलले स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन् । तर उनीहरूले दर्शना र थापाले जसरी मत नकाट्नेमा एमाले र कांग्रेसका नेताहरू ढुक्क देखिन्छन् ।
२०७४ को चुनावमा एमालेसँग सहकार्य गरेको राप्रपा विभाजित छ । कमल थापाले बनाएको राप्रपा नेपालसँग तालमेलको सहमति गरे पनि एमालेले २०७४ कै अनुपातमा मत पाउने अवस्था देखिन्न । काठमाडौं महानगरमा २० हजार ९३३ नयाँ मतदाता थपिएर कुल मतदाता संख्या तीन लाख २४२ पुगेको छ ।
ललितपुर महानगरपालिका
गत निर्वाचनमा ललितपुर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार चिरिबाबु महर्जन विजयी भएका थिए । २०७४ को चुनावमा दलहरूले ल्याएको मतपरिणामलाई अहिले बनेको गठबन्धन अनुसार हिसाब गर्दा गठबन्धनको समर्थन पाउने उम्मेदवारलाई सहज हुने देखिन्छ ।
नेकपा एमालेका मेयरका उम्मेदवारले २४ हजार ३१६ मत प्राप्त गरेका थिए ।
०७४ सालमा नेपाली कांग्रेस, माओवादी केन्द्र, तत्कालिन संघीय सजवादी फोरम र नयाँ शक्ति पार्टी –हालको जनता समाजवादी पार्टी) ले पाएको सबै मत जोड्दा ३६ हजार ८२ मत हुन्छ । यस हिसाबमा एमाले नेतृत्वको गठबन्धन ११ हजार ७६६ मतले पछाडि रहेको देखिन्छ ।
ललितपुरमा वडा अध्यक्ष पदमा प्राप्त मत हिसाब गर्दा एमालेको २७ हजार ६७२ मत र सत्तारुढ गठबन्धनको ४० हजार १७८ मत हुन्छ । यसरी हेर्दा एमाले सत्तारूढ गठबन्धनभन्दा वडाहरूमा १२ हजार ५०६ मतले पछाडि देखिन्छ । ललितपुरमा नौ हजार ९६८ मतदाता थपिएका छन् ।
विराटनगर महानगरपालिका
गत स्थानीय तह निर्वाचनमा विराटनगरमा नेपाली कांग्रेसका भीम पराजुली निर्वाचित भएका थिए । विराटनगरमा एमाले नेतृत्वको गठबन्धनले १७ हजार ३२१ मत पाएको थियो ।
सत्तारुढ गठबन्धनमा रहेका दलहरुले पाएको मत जोड्दा ३७ हजार ९८९ पुग्छ । यसरी त्यहाँ कुल ६१ हजार २७० मत सदर भएकोमा एमाले गठबन्धन कांग्रेस नेतृत्वको गठबन्धनभन्दा २० हजार ६८६ मतले पछाडि देखिन्छ ।
त्यस्तै, विराटनगर महानगरका १९ वडामा एमाले नेतृत्वको गठबन्धनका उम्मेदवारले कुल १६ हजार १२८ मत प्राप्त गर्दा सत्तारुढ गठबन्धनका दलहरुले पाएका मत जोड्दा ३४ हजार ७५४ मत प्राप्त गरेको देखिन्छ ।
यस हिसाबले वडाको मतमा एमाले नेतृत्वको गठबन्धन १८ हजार ६२६ मतले पछाडि देखिन्छ । विराटनगरमा १९ हजार ३८१ नयाँ मतदाता थपिएका छन् ।
वीरगञ्ज महानगरपालिका
वीरगञ्जमा गत स्थानीय तह निर्वाचनमा तत्कालिन संघीय समाजवादी फोरम (हालको जनता समाजवादी पार्टी) का विजयकुमार सराबगी निर्वाचित भएका थिए ।
मेयरमा सत्तारुढ गठबन्धनमा रहेका दलले पाएको मत जोड्दा ४४ हजार ९६० मत पुग्छ भने एमाले नेतृत्वको गठबन्धनले पाएको मत ८ हजार ६८८ देखिन्छ । यस हिसाबले सत्तारुढ गठबन्धन ३६ हजार २७२ मतले पछाडि देखिन्छ ।
वीरगञ्जको ३२ वडाहरूमा एमालेका उम्मेदवारले ११ हजार २७० मत प्राप्त गर्दा सत्तारुढ गठबन्धनमा सहभागी दलले पाएको मत ४३ हजार १६० देखिन्छ । वडामा पनि कांग्रेस नेतृत्वको गठबन्धन एमाले नेतृत्वको गठबन्धन भन्दा ३१ हजार ८९० मतले पछाडि देखिन्छ । वीरगञ्जमा १६ हजार १४६ मतदाता थपिएका छन् ।
जसपाबाट मेयरमा निर्वाचित विजय सरावगी अहिले एमाले प्रवेश गरिसकेका छन् । तत्कालिन राजपा (हाल लोकतान्त्रिक समाजवादी पार्टी) का उम्मेदवार राजेशमान सिंह भने जसपा प्रवेश गरेका छन् ।
भरतपुर महानगरपालिका
भरतपुर महानगरपालिकामा ०७४ को स्थानीय तह निर्वाचनमा नेकपा माओवादी केन्द्रकी रेनु दाहाल निर्वाचित भएकी थिइन् । त्यतिबेला भरतपुरमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच तालमेल भएको थियो ।
हालको एमाले नेतृत्वको गठबन्धनले ०७४ सालमा भरतपुरमा ल्याएको मत ४२ हजार ९२४ मत थियो भने कांग्रेस नेतृत्वको गठबन्धनले ४३ हजार ४८३ मत ल्याएको थियो । यहाँ एमाले नेतृत्वको गठबन्धन केवल ५५९ मतले मात्रै पछाडि देखिन्छ । यसरी हेर्दा भरतपुर महानगरमा यसपटक पनि निकै चर्को प्रतिस्पर्धा हुने देखिन्छ ।
भरतपुरका सबै वडामा उम्मेदवारी दिएका एमालेका उम्मेदवारहरूले पाएको कुल मत ३६ हजार १२७ रहेको छ । गठबन्धनमा रहेका दलहरुका वडाध्यक्षको उम्मेदवारले ५९ हजार ५७६ मत पाएका छन् । यसरी वडाध्यक्षहरूले प्राप्त गरेको कुल मतमा भने एमाले भन्दा कांग्रेस गठबन्धनले २३ हजार ४४९ मतले अग्रता लिएको देखिन्छ ।
यसले भरतपुरमा मेयर पदमा तीव्र प्रतिस्पर्धा हुने देखिए पनि वडाध्यक्षहरूमा पनि कांग्रेस नेतृत्वको गठबन्धनबाट उम्मेदवार हुनेलाई सहज देखिएको छ । भरतपुरमा ३५ हजार ४७८ मतदाता थपिएका छन् ।
पोखरा महानगरपालिका
पोखरा महानगरपालिकामा ०७४ सालमा नेकपा एमालेका उम्मेदवार मानबहादुर जिसी निर्वाचित भएका थिए । उनले ६० हजार ३७६ मत पाउँदा नेपाली कांग्रेसका उम्मेदवार रामजी कुँवर १३ हजार मतले पछाडि दिए ।
सत्ता गठबन्धनमा रहेका सबै दलका मेयरको उम्मेदवारले पाएको मत जोड्दा पनि ४९ हजार ५८६ मत पुग्छ । जुन एमाले उम्मेदवारले पाएको मत भन्दा १० हजार ७९० मतले बढी हो ।
एमालेका वडाध्यक्षहरुले पाएको मत ५४ हजार १४० थियो भने सत्ता गठबन्धनमा रहेका दलका वडाध्यक्षका उम्मेदवारहरुले पाएको मत जोड्दा ५५ हजार ९९३ पुग्छ । यसमा भने सत्तारुढ गठबन्धन एक हजार ८५३ मतले अगाडि देखिन्छ । पोखरामा यसपटक ३९ हजार ६४३ जना नयाँ मतदाता थपिएका छन् ।