चैत ३० , काठमाडौं ।
पेट्रोलियम पदार्थको खपत २० प्रतिशतसम्म घटाउने योजनासहितको प्रस्ताव मन्त्रिपरिषदमा पुगेको छ । अर्थ मन्त्रालयले हाल खपत भइरहेको पेट्रोलियम पदार्थको खपत २० प्रतिशतसम्म घटाउने लक्ष्यका साथ प्रस्ताव मन्त्रिपरिषद्मा पठाएको हो ।
अर्थमन्त्री जनार्दन शर्माले सातामा दुई दिन सार्वजनिक बिदा दिनेगरी पेट्रोलियम पदार्थको खपत घटाउने प्रस्ताव मन्त्रिपरिषद्मा पेस भइसकेको जानकारी दिए । उनले सोमबार मन्त्रालयमा आयोजित कार्यक्रममा बोल्दै भने, ‘पेट्रोलियम पदार्थको खपत घटाउन सातामा दुई दिन सार्वजनिक बिदा दिने प्रस्ताव मन्त्रिपरिषद्मा गरिएको छ ।’
अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य अनियन्त्रित गतिमा बढ्दा नेपालको भुक्तानी सन्तुलन नै समस्यामा परेको छ । बढेको मूल्यमा तेल किनेर घाटामै तेल बेच्दै आएको नेपाल आयल निगमसँग यतिबेला तेल किन्ने रकम समेत छैन । पछिल्लो समय निगमलाई तेल किन्न सरकारले रकम दिँदै आएको छ ।