अस्ट्रेलिया सरकारले नेपाललाई यो वर्ष ३ करोड ११ लाख अस्ट्रेलियन डलर अर्थात करिब २ अर्ब ८० करोड रुपैयाँ सहयोग गर्ने भएको छ । अस्ट्रेलियाले दिने यो सहयोग गत वर्षको तुलनामा १५ लाख डलर बढी हो ।केही दिनअघि अस्ट्रेलियाका ट्रेजरर जोस फ्रयाडनबर्गद्वारा प्रस्तुत बजेटमा उक्त कुरा सार्वजनिक गरिएको छ ।
अस्ट्रेलियाले हरेक वर्ष बजेटमार्फत विकासोन्मुख राष्ट्रहरूलाई सहयोग दिँदै आएको छ । यस वर्ष सार्वजनिक गरिएको बजेट अनुसार नेपालले द्धिपक्षीय बिनियोजन अन्तर्गत ९.१ मिलियन डलर पाउनेछ भने प्रत्यक्ष सहायता कार्यक्रम (ओडीए) अन्तर्गत २२ मिलियन डलर पाउनेछ । अस्ट्रेलियाद्वारा दिने भनिएको द्धिपक्षीय बिनियोजन सहयोग गत वर्षको तुलनामा बढाइएको छैन तर सहायता कार्यक्रम अन्तर्गत दिने सहयोग भने बढाइएको छ । गत वर्ष जम्मा २० दशमलव ५ मिलियन डलर यस शिर्षकमा सहयोग प्रदान गरिएको थियो ।
सरकारको वैदेशिक मामिला तथा ब्यापार विभागले सार्वजनिक गरेको रिपोर्ट अनुसार सहयोग मुख्य गरेर तीन प्राथमिकताका क्षेत्र स्वास्थ्य सुरक्षा, स्थिरता र आर्थिक सुधारमा केन्द्रित हुने छ । अस्ट्रेलियाले नेपालसँग ६० वर्षभन्दा लामो द्धिदेशीय सम्बन्ध रहेको जनाउँदै नेपालको स्वास्थ्य सुरक्षा, स्थिरता, आर्थिक सुधार लगायत क्षेत्रमा मिलेर काम गर्ने समेत उल्लेख गरेको छ । अस्ट्रेलियाले आफ्नो बजेटमा यस पटक १ अर्ब १५ करोड डलर दक्षिणपुर्वी एसियामा सहयोग दिने घोषणा गरेको छ । यस क्षेत्रमा रहेका देशहरुमध्ये भुटान र माल्दिभ्सलाई गत वर्षभन्दा दिइने सहयोग रकम आंशिक रुपमा कम गरिएको भएपनि अन्य प्राय देशको सहयोग रकम बढाइएको छ । अस्ट्रेलियाले सबैभन्दा बढी बंगलादेशलाई करिब १५ करोड डलर सहयोग दिने जनाएको छ भने सबैभन्दा कम माल्दिभ्सलाई २० लाख डलर दिने उल्लेख गरेको छ ।