Home समाचार ‘मेरो भ्रमण सम्बन्ध मजबुत पार्न र आर्थिक सम्झौतामा केन्द्रित छ’-प्रधानमन्त्री देउवा

‘मेरो भ्रमण सम्बन्ध मजबुत पार्न र आर्थिक सम्झौतामा केन्द्रित छ’-प्रधानमन्त्री देउवा

0

तीन दिने भारत भ्रमणका क्रममा शुक्रबार दिल्ली उत्रेका प्रधानमन्त्री शेरबहादुर देउवाले दुई मुलुकबीचको सम्बन्ध मजबुत र द्विपक्षीय आर्थिक सहयोगका विषयमा हुने सम्झौतामा भ्रमण केन्द्रित रहेको बताएका छन् ।

दिल्ली उत्रेलगत्तै भारतीय जनता पार्टीको मुख्यालय गएका प्रधानमन्त्री देउवा भारतीय विदेश मन्त्री एस जयशंकरसँगको भेटपछि साँझ नेपाली राजदूतावासले आयोजना गरेको स्वागत कार्यक्रममा सरिक भएका थिए । दूतावासको कार्यक्रममा सम्बोधन गर्दै देउवाले भने ,’यो भ्रमणको मुख्य उद्देश्य नेपाल र भारतबीचको पारस्परिक ऐतिहासिक सम्बन्धलाई मजबुत बनाउनु र द्विपक्षीय आर्थिक सहयोगका विषयहरुमा छलफल गर्नु रहेको छ । यो भ्रमणले नेपाल र भारतबीचको सम्बन्धमा थप उचाई हासिल गर्ने विश्वास लिएको छु ।’

प्रधानमन्त्रीको रुपमा पाँचौं पटक भारत भ्रमणमा पुगेका देउवाले शनिबार राजघाटको भ्रमण पश्चात् भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय भेटवार्ता गर्नेछन् । त्यसक्रममा ऊर्जा, कृषि, स्वास्थ्य तथा यातायातका क्षेत्रमा महत्वपूर्ण घोषणाहरु हुनेछन् । ‘साथै, केही नयाँ सम्झौतापत्रहरु को पनि आदान-प्रदान हुनेछ’ प्रधानमन्त्री देउवाले भने,’नेपाल र भारतबीच सदियौं पुरानो मित्रवत् एवम् घनिष्ट सम्बन्ध रहिआएको छ । दुई देशबीचको साँस्कृतिक तथा भौगोलिक सामिप्यताले गर्दा हाम्रो सम्बन्ध जनस्तरमा समेत अत्यन्त प्रगाढ रहँदैआएको छ । समय समयमा आदान-प्रदान हुने उच्चस्तरीय भ्रमणको माध्यमबाट यो सम्बन्धलाई अझ मजबुत एवं फलदायी बनाउन सकिने कुरामा म विश्वस्त छु ।’

प्रधानमन्त्री देउवाले नेपाल र भारतबीच प्राचीनकाल देखि रहिआएको सम्बन्धलाई अझ बढी मजबुत र फराकिलो बनाउने कार्यमा यहाँ रहेका नेपालीको सामूिहक योगदान रहेको भन्दै प्रसंशा गरे । ‘तपाईंहरुले कर्तव्य पालनाको सिलसिलामा सम्पादन गर्ने कार्यको गुणस्तर, प्रदर्शन गर्ने व्यवहार र प्रयोग गर्ने बोलिचालीको भाषाले यहाँहरुको आफ्नो परिचय मात्र दिदैन, सँगै मुलुकको परिचय पनि दिईरहेको हुन्छ । यहाँहरुले भारतमा रहेर गरेका राम्रा कार्यहरुले नेपाल र नेपालीको राम्रो छवि बनाउन मद्दत पुयाउँछ भन्नेमा तपाईंहरु जानकार नै हुनुहुन्छ’ दूतावासको सम्बोधनमा देउवाले भने ।

उनले विदेशमा रहँदा/बस्दा आर्जन गरेको ज्ञान, सीप, पूँजी र प्रविधिलाई स्वदेशको आर्थिक-सामाजिक उन्नयनको क्षेत्रमा लगानी गरी राष्ट्र निर्माणको कार्यमा योगदान गर्न पनि आग्रह गरे ।

उनले कोभिड-१९ महामारीको कारणबाट अप्ठ्यारोमा परेका प्रवासी नेपालीहरुलाई सहयोग पुयाउने सन्दर्भमा नेपाली राजदूतावाससँग हातेमालो गरेको भन्दै नेपाली समुदायको प्रस‌ंशा गरे ।

प्रधानमन्त्री देउवाले आसान्न चुनावकोबारेमा पनि चर्चा गरे । ‘प्रजातन्त्र, मानव अधिकारको संरक्षण र सुशासन कायम गरी संघीय शासन व्यवस्थाको सुदृढीकरण गर्ने अर्को महत्वपूर्ण अभिभारा पनि वर्तमान सरकारका सामु रहेको छ । संविधान जारी भएपश्चात् भएको तिनै तहको निर्वाचन मेरो नेतृत्वको सरकारले सफलतापूर्वक सम्पन्न गरेको थियो । अब फेरी एक वर्षभन्दा कम समयमा स्थानीय, प्रदेश र संघीय संसदको निर्वाचन सम्पन्न गराउने जिम्मेवारी पनि यही सरकार सामु आएको छ’ उनले भने । प्रधानमन्त्री देउवाले आगामी वैशाख ३० गते देशभरका स्थानीय तहको निर्वाचन एकै चरणमा सम्पन्न गर्ने गरी निर्वाचन आयोगले तयारी गरिरहेको र संघीय संसदको निर्वाचन पनि समयभित्रै सम्पन्न गरिने जानकारी गराए ।

देउवाले शुक्रबार भाजपाका अध्यक्ष जेपी नड्डासँग भाजपा मुख्यालयमा भेट गरेका थिए । त्यसपछि भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेट गरे । उक्त भेटमा छिमेकीसँगको सम्बन्धमा उपलब्धीमुलक भएको भन्दै भारतीय विदेशमन्त्री जयशंकरले ट्विट गरेका छन् ।

प्रधानमन्त्री देउवाले शनिबार भारतका प्रमुख उद्योगी, व्यवसायी एवं व्यापारिसँग पनि पनि अन्तरक्रिया गर्न कार्यक्रम छ । आइतबार वाराणसीमा काशी विश्वनाथ, ललिताघाट तथा साम्राज्यश्वरी पशुपतिनाथको दर्शन गरेर उनी स्वदेश फर्कने छन् ।कान्तिपुरबाट

NO COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Exit mobile version