प्रधानमन्त्री शेरबहादुर देउवा तीनदिने भ्रमणका लागि भारतको राजधानी नयाँदिल्ली आइपुगेका छन् । प्रधानमन्त्री देउवा पत्नी आरजु देउवा, परराष्ट्रमन्त्री नारायण खड्का, स्वास्थ्यमन्त्री विरोध खतिवडा, ऊर्जामन्त्री पम्फा भुसाल र कृषिमन्त्री महेन्द्र राय यादवसहितको प्रतिनिधिमण्डलसहित नयाँदिल्ली ओर्लिएका हुन् । उनी नेपाल एयरलाइन्सको विमानमार्फत दिल्ली आएका हुन् ।
प्रधानमन्त्री देउवालाई भारतका रक्षा तथा पर्यटनराज्यमन्त्री अजय भट्टले इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए । देउवाको स्वागतमा भारतीय राजदूत विनयमोहन क्वात्रा र विदेश मन्त्रालयका नेपाल हेर्ने सहसचिव अनुराग श्रीवास्तव पनि विमानस्थल पुगेका थिए । साथै भारतका लागि भर्खरै नियुक्त भएका नेपालका राजदूत शंकर शर्मा पनि देउवाको स्वागतमा पुगेका थिए ।
त्यसपछि देउवा भाजपाको केन्द्रीय कार्यालय पुग्नेछन् । भाजपा कार्यालयको कार्यक्रम सकिएपछि देउवा दिल्लीस्थित नेपाली दूतावासले आयोजना गरेको रात्रिभोजमा सामेल हुनेछन् । दूतावासले दिल्लीमा रहेका नेपाली समुदायका प्रतिनिधिलाई पनि उक्त कार्यक्रममा बोलाएको छ ।
दोस्रो दिन शनिबार बिहान १०:४० मा देउवाले महात्मा गान्धीको समाधिस्थलमा फूलगुच्छा अर्पण गर्ने कार्यक्रम छ । त्यसपछि औपचारिक समारोह र कार्यक्रमका लागि प्रधानमन्त्री देउवा हैदरावाद हाउस पुग्नेछन् । त्यहाँ भारतीय समकक्षी नरेन्द्र मोदीसँगको छुट्टै भेटघाट र प्रतिनिधिमण्डलको दुईपक्षीय वार्ता हुनेछ । खानापछि संयुक्त वक्तव्य जारी गर्दै त्यहाँको कार्यक्रम सकिनेछ ।