काठमाडौँ — कांग्रेस नेता रामचन्द्र पौडेलले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई बलियो बन्न दिन नहुने बताएका छन् । सोमबार केन्द्रीय कार्यसमितिको बैठकमा आफ्ना विचार राख्दै पौडेलले एमालेलाई साइजमा राख्नुपर्ने बताएका हुन् ।
अहिलेको लडाइँ एमालेविरुद्ध भएकाले पनि गठबन्धन जरुरी भएको पौडेलको भनाइ थियो । नेकपा एकीकृत समाजवादी र माओवादीलाई मत दिएर भए पनि एमालेलाई साइजमा राख्नुपर्ने उनको भनाइ छ । पौडेलले बैठकमा भने, ‘ओलीलाई बलियो बन्न दिनुहुन्न । बरु समाजवादी र माओवादीलाई मत दिएर एमाले साइजमा राख्नुपर्छ । लडाइँ एमालेविरुद्ध हो । गठबन्धन जरुरी छ ।’