काठमाडौँ — नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोगले सत्ता गठबन्धनसँग साँठगाँठमा काम गरिरहेको आरोप लगाएका छन् ।
पार्टीको आइतबार काठमाडौंमा बसेको स्थायी कमिटी बैठकमा ओलीले सत्ता पक्षीय दललाई फाइदा पुग्ने गरी आयोगले काम गरिरहेको बताएका हुन् ।
आयोगले दलहरुसँग परामर्श नगरी मतपत्रको रंग बदल्ने, मनोनयन दर्ताको समय दुई दिन दिनेजस्ता निर्णय गरेकोमा उनको आपत्ति थियो । ‘दलहरुसँग परामर्श नगरी रंग बदल्ने, एउटा दलविशेष वा सत्तारुढ दललाई फाइदा पुग्ने गरी मतपत्रको रंग परिवर्तन गर्नु बेठीक कुरा हो,’ उनले भने, ‘विगतमा पनि हामी निर्वाचन आयोगबाट पीडित छौं । आयोगबाट यस्ता क्रियाकलाप नहोस् । यस्ता कुरामा हामीले आयोगको विरोध गर्नुपर्छ । सत्तापक्षको फाइदाका लागि आयोग अनुचित कुरामा फाइदा लिएर काम गरिरहेको छ ।’
उनले हिजो विभिन्न साधनस्रोत नहुँदा उम्मेदवारी दर्ताका लागि १ दिनमात्रै समय दिने गरेको स्मरण गराउँदै अहिले सत्ता गठबन्धनको द्वन्द्व मिलाउन आयोगले सेटिङयुक्त काम गरिरहेको समेत आरोप लगाए । ‘मनोययन दर्ता गर्नका लागि दुई दिन दिने न पहिले प्रचलन थियो, कहिल्यै थिएन । पहिले साधन स्रोतहरु हवाइ यातायात, हेलिकप्टर, भाडाको यातायत गाडी सुविधा वा अन्य सुविधा धेरै कमजोर भएको अवस्थामा पनि मनोनयनका लागि एकैदिनको समय दिन्थ्यो,’ उनले भने, ‘यसपल्ट सत्ता गठबन्धनको द्वन्द्व मिलाउनका लागि । सत्ता गठबन्धनबीचको समझदारीमा दुई दिन मनोनयन दर्ताको समय दिइयो । यो बुझ्दैन प्रतिपक्षीले भन्ने ठानियो भने विनम्रता साथ हामीले निर्वाचन आयोगलाई भन्नुपर्छ यत्तिको चाहिँ बुझ्छौं । सत्ताको साँठगाँठले यस्तो भएको चाहिँ बुझ्छौं ।’
आफूहरु निष्पक्ष, तटस्थ र स्वतन्त्र आयोग देख्न चाहेको भन्दै ओलीले बेठीक काम गरेर अगाडि बढिरहनु खेदजनक रहेको बताए । ‘निष्पक्ष, तटस्थ र स्वतन्त्र आयोग देख्न चाहन्छौं । हरेक पार्टीले आयोगमाथि विश्वास गर्न सकुन् । तर सेटिङयुक्त काम गरिरहेको छ । आयोग बेठीक काम गरेर खुरुखुरु अगाडि बढिरहेको छ,’ उनले भने,’ निष्पक्ष निर्वाचन गर्नुपर्ने आयोग गलत तबरले हिँड्नु खेदजनक कुरा हो । यतातिर सजक हुनुपर्छ ।’
- Advertisement -
सरकारले आउँदो वैशाख ३० गतेका लागि स्थानीय तहको निर्वाचन मिति तय गरेको छ । त्यसका लागि दलहरु गाउँगाउँमा पसेका छन् भने आयोगले तयारी जारी राखेको छ । आयोगले मनोनयन दर्ताका लागि वैशाख ११ र १२ गतेको मिति तय गरेको छ ।